भर्खरै :

शासक दलका घोषणापत्रमा वडाध्यक्षले उठाउने विषयमात्र

शासक दलका घोषणापत्रमा वडाध्यक्षले उठाउने विषयमात्र

ललितपुर, २८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा सोमबार खोकनामा चुनावी सभा भयो ।
सभामा सचिव सुवालले भन्नुभयो, “नेमकिपाले संसद्को निर्वाचन देशको नीति–कार्यक्रम, विधेयक, सन्धि–सम्झौताबारे छलफल हुने उल्लेख गरी घोषणापत्र तयार गरेको छ । तर, शासक दलहरूले वडाध्यक्षले उठाउनेजस्ता विषय उठाएको हुँदा अहिले सर्वत्र विरोध भइरहेको छ ।”
“नेमकिपाले घोषणापत्रमा सन् १९४७ को गोर्खा भर्तीले नेपाली युवालाई भाडाको सिपाही बनाउने र सन् १९५० को नेपाल–भारत सन्धि नेपाललाई भारतको सुरक्षा छातामा राख्ने हुँदा दुवै खारेज गर्नुपर्ने उल्लेख ग¥यो । तर, शासक दलहरूले यसबारे स्पष्ट अडान राख्न सकेनन्”, उहाँले भन्नुभयो ।
खाद्यान्न र ऊर्जामा आत्मनिर्भर बनाउने, स्वदेशमा रोजगारी र राष्ट्रिय पुँजीलाई प्रोत्साहित गर्ने तथा देशलाई उपनिवेश बनाउने र नेपाली उद्योगी–व्यवसायीलाई नाङले पसले बनाउने विदेशी पुँजी ल्याउने शासक दलहरूको नीतिको खण्डन नेमकिपाको घोषणापत्रमा उल्लेख भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठूलठूला भ्रष्टाचारी, चेलीबेटी बेचबिखन गर्ने, महिलालाई बलात्कारपछि हत्या गर्ने, मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूलाई संविधान संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गर्ने पनि नेमकिपाको घोषणापत्रमा उल्लेख छ ।”
देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयक समर्थन गर्ने र बहुमतबाट पारित गर्ने दलहरू प्रतिगामी र देशद्रोही हुने नेमकिपाको घोषणापत्रमा उल्लेख भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले देशको सिमाना सुरक्षा र देशको सार्वभौमिकता रक्षाको लागि सडक र संसदमा आवाज उठाउनेछ ।”
सभामा काठमाडौँ क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उम्मेदवार नीरज लवजू, अन्य उम्मेदवारहरू कवीन्द्र डंगोल, अशोक महर्जन, मनहीरा श्रेष्ठ र नरेश महर्जनलगायतले बोल्नुभएको थियो ।
त्यस्तै बुङमतीमा पनि चुनावी सभा भयो ।
उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, उम्मेदवारहरू नीरज लवजू, अशोक महर्जन, नरेश महर्जन र मनहीरा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
महेन्द्र ब्रह्माचार्यको सभापतित्वमा भएको सो सभामा भनपाका उपप्रमुख रजनी जोशी र ममिता श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *