भर्खरै :

गठबन्धन गरी निर्वाचन लड्नु दुईदलीय तानाशाहीको पूर्वाभ्यास

गठबन्धन गरी निर्वाचन लड्नु दुईदलीय तानाशाहीको पूर्वाभ्यास

दैलेख, २८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेका र एमालेले विभिन्न पार्टीहरूसित गठबन्धन गरी निर्वाचन लड्नु दुईदलीय तानाशाहीको पूर्वाभ्यास भएको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा चामुण्डा विन्द्रासैनीमा भएको निर्वाचन सभामा केन्द्रीय सदस्य प्रजापतिले आर्थिक उदारीकरणको पक्ष लिनेहरू कम्युनिस्ट हुननसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “विभिन्न देशहरूले नेपाल र नेपाली जनताको लागि सहयोगस्वरुप निर्माण गरिदिएका कल कारखानाहरू एक–एक गरी कौडीको मूल्यमा शासक दलहरू नेका, एमाले र माओवादीका सरकारहरूले निजीकरण गरेकै कारण देश झन्झन् गरिब भयो । रोजगारीको सिलसिलामा अहिले ७ं० लाखभन्दा बढी युवाहरू विदेशमा जान बाध्य भए ।”
उहाँले अगाडि भन्नुभयो, “सिहदरबार, प्रदेश र स्थानीय तहहरू ठेकेदारहरूको घेरामा छन् । देशको नीति निर्माण तहमा ठेकेदार, तस्कर, भ्रष्टाचारीहरू पुगेमा जनताले दुःख पाउनेछन् । देशभक्त इमानदार जितेमा देशको विकास हुनेछ र जनताले सुख पाउनेछन् । त्यसैले निर्वाचनमा जनता आफै सचेत हुनुपर्छ ।”
“राष्ट्रघाती सन्धि–सम्झौता गर्ने, एमसीसी र नागरिकता विधेयक पारित गर्ने दलहरूलाई निर्वाचनमा जनताले आफ्नो अमूल्य मतमार्फत दण्ड दिनुपर्छ । जनतालाई दिएको वचनअनुसार निरन्तर प्रखर प्रतिपक्षमा रहेर जनताको सेवा गर्दै आएको नेमकिपाका उम्मेदवारहरूलाई जिताउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विश्वकर्माले माओवादीले देउवाको पुच्छर समात्दै जनताविरुद्ध सिद्धान्तहीन गठबन्धन गर्दै नक्कली कम्युनिस्ट भएको कुरा बताउँदै चुनावमा नेपाली जनताले देशघाती चिन्न नसके जनता फेरि निराश हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले पाँच वर्षमा नौ जना स्वास्थ्य मन्त्री भएर पनि जनतालाई सेवा दिन नसकेको कुरा स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका तर्फबाट दैलेख जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार केसेन्द्र कार्की, कर्णाली प्रदेश दैलख जिल्ला प्रदेश सभा क्षेत्र नं २, ‘क’ का उम्मेदवार मदनकुमार भण्डारी, क्षेत्र नं २, ‘ख’ का उम्मेदवार जयबहादुर थापा, समानुपातिक उम्मेदवार कुमारी रुमा गुरुङ, धनकुमारी शाही, आयोजकका तर्पmबाट कृष्णप्रसाद जैसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *