भर्खरै :

फेरि पार्लान् जिलिङ मिलिङ ?

निर्वाचन त दैलोमै आइसक्यो । आउँदो मङ्सिर ४ गते मतदान हुँदै छ । एकथरीले अझ टुङ्गो गरिसकेका छैनन् आफ्नो सार्वभौम अमूल्य मत कुन पार्टीको उम्मेदवारलाई दिने ? नेपाललाई आत्मनिर्भर होइन परनिर्भर बनाउने भारतको खेलमा साथ दिँदै आएका कुनै पनि शासकलाई आफ्नो मत दिनु हुँदैन । यो दलको ३० वर्षको काम–कारबाहीको ठेली पल्टाउने हो भने यिनले गरेका नकामको लामो सूची फेला पर्छ । साधारण मान्छेलाई अकस्मात् रिङ्गटा लाग्छ, भाउन्न हुन्छ । यो ३० वर्षको अवधिमा सत्तामा गएका पार्टीहरूले ४४ अर्ब रूपियाँ पर्ने सरकारी उद्योग–कलकारखाना ३७ करोड रूपियाँसम्ममा विदेशीलाई बेचबिखन गरी देशलाई परनिर्भर गराएका छन् । निर्वाचन खर्च उठाउन नै शासक दलहरूले सरकारी उद्योगहरू बेची निजीकरण गरेका हुन् । भारतले नेपाललाई परनिर्भर बनाउने क्रममा यी शासक दलले के पो गरेनन् अलि गढेर हेरेमा सबै यथार्थ छर्लङ्गिन्छ । तसर्थ, जनताले कुनै हालतमा पनि शासक दलहरूलाई अर्को अमूल्य मत दिनुहुँदैन । नेपाल मजदुर किसान पार्टीले जनतालाई हित हुने काममात्र गर्दै आएकोले आजसम्म खास किसान मजदुरहरूले आफ्नो पार्टी भनी बचाइराखेका छन् । यो वस्तुतथ्य बुझेका छन् जनताले । तसर्थ, जनताको अपार माया, स्नेह र वात्सल्य पाएर नै दसै दिशाबाट आक्रमण हुँदा पनि पार्टी जितिरहेको छ ।
न्याइच्याईकी आमालाई फकाएका
भारतले हाम्रो देशलाई नितान्त परनिर्भर बनाउने काममा देशका शासक पार्टीहरूलाई उकास्ने हुँदा आउँदो निर्वाचनमा मत दिनु हुँदैन । नेपालका चुनावमा शासक दलहरूले पार्टीका कमी–कमजोरी पत्ता लगाई त्यही बिन्दुबाट प्रवेश गर्ने नीति अन्य शासकीय दलहरूको उहिलेदेखिको नीति हो । २०१५ सालको आम निर्वाचनमा नेमकिपाका नेता ज्ञानबहादुर न्याइच्याईकी आमाको मन सुटुक्क चोर्न आमालाई फकाएछन् । आमा त्यतिबेला कपडा ज्यालामा बुन्ने गर्दाे रहेछ । कपडा साहुमार्फत बढी ज्याला दिएर मत आफ्नो पक्षमा हाल्न लगाउने नीच काम लगाउन फकाइएछ । यो कुरा कसैलाई र छोरा ज्ञानबहादुरलाई पनि नभन्नु भनिएछ । आमा झन्डै फकिएर अर्कै पार्टीलाई मत दिएको रे । तर, छोरालाई नभन्नु भनेकोले छोरासँग सबै कुरा गर्नुभएछ । ज्ञानबहादुर न्याइच्याईले थाहा पाएपछि छोरोले भनेको चिह्नमा मत दिनुभएछ । पुँजीवादी पार्टीहरूले यस्ता बदमासी धेरै प्रयोग गर्छन् । यसर्थ, मतदान गोप्यमात्र होइन परम गोप्य राख्नुपरेको हो । शत्रु पक्षले किञ्चितमात्र छिद्र पाए पनि त्यसैबाट प्रवेश गरी आफ्नो हुँदो गर्छन् । यो र यस्ता धेरै कुराबाट जोगिनुपर्छ निर्वाचनको सन्दर्भमा । झन् बढी चतुर हुनुपर्छ । त्यो रणनीति पुँजीवादी दलहरू धेरै प्रयोग गर्छन् । यसबाट नेमकिपा जोगिनुपर्छ । हाम्रा मतदातालाई फकाउन सकिन्छ भन्ने छन् अरू पार्टी । तर, हामीले यस्ता कुरामा ध्यान दिनुपर्छ ।
हामी हामी नै हुनुपर्छ
नेमकिपाले जनतालाई हित हुने काम इमानदारीपूर्वक गर्दै आएकोले देशद्रोही पार्टीहरू मिली नेमकिपालाई हराउने दुष्प्रयास भइरहेको छ । तर, नेमकिपाले इमानदारीपूर्वक गरेका काम देशका कुना कन्दरामा प्रचारप्रसार भइरहेको छ । यो कुरा पनि हामीले बिर्सनुहुँदैन । नेमकिपाले कष्टसाथ बनाएको ख्वप कलेज आफूहरूले बनाएको भनी दिउँसै अँध्यारो पार्ने कामसम्म गर्ने पनि शर्म मान्दैनन् हाम्रा विरोधी छाउराछाउरीहरू । निर्वाचनमा करोड करोडमात्र हो र ¤ अरब रूपियाँसम्म खर्च गरेर सांसद हुने ठेकेदार सांसदहरू जसरी नि निर्वाचन जित्न भन्दै हिँडिरहेका छन् । देशका आर्थिक सङ्कट आउन आउन लागेकोमा ठूला दल मुक्त छैनन् । यसरी आफू सत्तामा गएका बेला उद्योग, कलकारखाना बेची कमाएकाहरू आज फेरि साखुल्ले पल्टेर जनताको सेवाको नाममा धनराशी कमाउने कलुषित मनसायले, कमाउने उद्देश्यले उठेकाहरूको धरौटीसमेत जफत हुनेगरी पराजित गराउनुपर्छ । एमसीसी र एसपीपीजस्ता सिस्नोको झालमा नेपाललाई पसाल्नेहरूलाई मत दिई बाउको बिहे देखाउने मौका यस्तै चुनाव हो । हमेसा यस्ता अवसर आउँदैन । यो कुरा कदापि बिर्सनु भएन । जनता अझ काम गरी खाने जनता नै नेमकिपाको सर्वश्व हो । नेमकिपा यसमा सधैँ हेक्का राख्छ । यही ठूलो अन्तर छ अरू पार्टी र हाम्रो पार्टीको लक्ष्मणरेखा । यो वास्तविकता हमेसा याद राख्नुप¥यो नत्र हामी र अरूमा के फरक छ र ?
टाठाबाठा फटाहोदेखि सावधान ?
निर्वाचन कुनै ख्याल ठट्टा होइन । सर्वसाधारण जनताले विसं १९८७ सालदेखि नै अनवरत तत्कालीन परिस्थितिको विश्लेषण गरी अनेक कठोर सङ्घर्ष गरेको परिणाम राणा शासन औपचारिकरूपमा उन्मूलन भयो । २००७ सालको आन्दोलनपश्चात् राणा शासन हट्यो । तर, राणा शासक हटेनन् । मोहनशमशेर राणा नै प्रधानमन्त्री भए । विश्वेश्वरप्रसाद कोइराला मोहनशमशरकै गृहमन्त्री भएर बसे । राजनीति सिद्धान्तमा बलियो देखिए पनि व्यवहारमा सधैँ बलियो देखिँदैन । त्यस्तै बेला कुबेलामा निर्वाचन हुन्छ जनतालाई बलियो बनाउन भनिन्छ र त्यस्ता निर्वाचनमा छद्मरूपमा हिजो प्रवेश गर्न खोज्छ र उज्यालो भोलि आउन नदिन अनेकाँै प्रपञ्च, परिपञ्च रचिन्छ । यो स्वभाव हो फटाहाहरूको । तसर्थ, आउँदो ४ मङ्सिरमा हुने निर्वाचनमा राणावादका अवशिष्ट बैगुनहरू सङ्गठित शक्तिको रूपमा स्थापित हुन आकाश–पाताल जोड्दै छन् । वास्तविक जनताको सरकार जनतामा शासन गर्ने होइन सेवा गर्ने पार्टी र उम्मेदवारहरूलाई छानौँ । यसमा अलिकति तल–माथि प¥यो भने शासक प्रत्यक्ष वा परोक्षरूपमा उनै फटाहाको कब्जामा पर्छ । जनताका दुश्मन थोरै टाठाबाठा छन् । सर्वसाधारण जनता छक्का–पञ्जा जान्दैनन् । यो मसिनो कुरा मसिनैसँग जान्नुपर्छ । फेरि पार्लान् जिलिङ मिलिङ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *