नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
मङ्सिर ४ गते हुने निर्वाचन सिद्धान्त र विचारको लडाइँ हो । जनताले दलको सिद्धान्त र विचारको आधारमा मतदान गर्नुपर्ने हो । मतदान गर्नुअघि मतदाताले कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गरिरहेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । दलको सिद्धान्त र विचार थाहा नपाउँदा या नबुझ्दा शोषितपीडित जनतालाई शोषण गर्ने सामन्त, पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दलका उम्मेदवारलाई शोषितपीडित जनताले नै मतदान गरिरहेका छन् । सर्वसाधारण गरिब जनताले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम गरिरहेका छन् । नेकाले पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने स्पष्ट थाहा हुँदाहुँदै गरिब, उत्पीडित जनताले नेकालाई किन भोट दिने ? यही कारण नेमकिपाले हरेक निर्वाचनमा जनतालाई राजनीतिक सुझबुझ बनाउने काम गरिरहेको हो, सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याएर सुसूचित पारिरहेको हो ।
यो निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभाको मात्र होइन दलको निर्वाचन पनि हो । राजनीतिक दल कुनै न कुनै सिद्धान्त र विचारको आधारमा चल्छ । यसकारण, नेमकिपाले यो निर्वाचनलाई विचारको लडाइँ भनेको हो । सामन्त, पुँजीपति, जमिनदार, प्रतिक्रियावादी, जालीफटाहाहरूको प्रतिनिधित्व गर्ने दलका उम्मेदवारहरू पनि निर्वाचनमा उठेको हुँदा यो वर्गसङ्घर्षको लडाइँ पनि हो । यस निर्वाचनमा पार्टीको नाउँमा पनि मतदान गरिएको हुन्छ ।
पार्टीले पाएको मतको आधारमा समानुपातिक उम्मेदवारहरू निर्वाचित हुन्छन् । दलले पाएको मतको आधारमा समानुपातिक उम्मेदवारहरू निर्वाचित हुने हुँदा निर्वाचनमा एक्लाएक्लै लड्नुपर्ने हो । तर, यो निर्वाचनमा नेका र एमालेको नेतृत्वमा सिद्धान्त र विचार नमिलेका विभिन्न दलसँग गठबन्धन तथा तालमेल भएका छन् । गठबन्धन हुँदा कुनै दलको वास्तविक मत कति भन्ने थाहा हुँदैन । गठबन्धनको दलले पाउने मत आफ्नो दलको मात्र हुँदैन । गठबन्धनको कारण दलले अर्काे दलको चुनाव चिह्नमा मतदान गर्नुपर्ने हुन्छ । यसले आफ्नो दलको मतमा हेरफेर हुन्छ । एउटा दलले अर्काे दलको चुनाव चिह्नमा मत राखेपछि दलको समानुपातिक उम्मेदवारमा पनि हेरफेर हुन्छ । यसरी सत्तारुढ र ठूला दलहरूले राजनीतिको मूल मर्म र मोडलाई तोडमोड गरिरहेका छन् । राजनीतिक मूल्य र मान्यता उल्लङ्घन गर्नुको मूल ध्येय पदको बाँडफाँड हो, भागबन्डा हो । सिद्धान्त, विचार र निष्ठाको निम्ति गर्नुपर्ने राजनीतिलाई राजनीतिक दलले नै तोडमोड गर्नु या मूल मर्म बङ्ग्याउने काम पक्कै पनि सच्चा राजनीति होइन ।
Leave a Reply