भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
हाम्रो प्यारो मातृभूमि नेपालको सुन्दरता हेरेर कहिल्यै अघाइँदैन । यसको सम्पूर्ण बयान गर्न कविकल्पना पनि सक्षम होलाजस्तो लाग्दैन ।
हिमाल, पहाड, तराई, भित्री मधेस, खोँच, कछाड, बेंसी, उपत्यका, गल्छी, टार, भञ्ज्याङ ! असङ्ख्य वनजङ्गल, खोलानाला र झरनासहितको रमणीय संसार ! वर्षभरिमा छवटा ऋतुको आगमन ! केही किलोमिटरको फरकमा फरक फरक अनुभव गर्न सकिने मौसम ! मन्त्रमुग्ध पार्ने जमिनको यो बहुरूपी बनावट र वातावरण विश्व–प्रकृतिको अनुपम वरदान नै हो ।
अन्य देशको मरुभूमिमा कोही बटुवाले बाटो भुल्यो भने त्यहाँ ऊ भोकले भन्दा पनि पहिले प्यासले मर्छ होला । तर, हाम्रो देशको कुनै पनि अनकन्टार ठाउँमा कसैले बाटो बिरायो भने कैयौं दिनसम्म पनि ऊ भोकप्यासले मर्दैन । किनभनmे, त्यहाँ कतै न कतै पानी त हुन्छ नै । पानीका साथै त्यहाँ जुनसुकै मौसममा पनि कुनै न कुनै फलफुल पाकिरहेका हुन सक्छन् ।
यस्तो स्वर्गभूमिका बासिन्दा हौँ हामी !
प्राकृतिक हिसाबले नेपाल एउटा स्वर्गको बगैँचा हो । त्यस्तै जातीय, धार्मिक तथा सांस्कृतिक हिसाबले यसलाई “चार वर्ण छत्तीस जातको साझा फूलबारी हो” पनि भन्न सकिन्छ । हो, बगैँचा निश्चय नै राम्रो हुन्छ । त्यहाँ फुलेका फूलहरू धेरै राम्रा हुन्छन् । तर रोपिने विभिन्न जातका फूलका बोटहरू अलि मिहिनेतका साथ मिलाएर÷सजाएर रोपियो भने त्यो बगैँचा झनै राम्रो देखिन्छ ।
विश्वमा कतिपय मरुभूमीमय देशलाई पनि हराभरा बनाउने प्रयास गरिएको पाइन्छ । तर, हाम्रो देशचाहिँ प्राकृतिकरूपमै आफैँमा अनुपम सुन्दर भइकन पनि यसको सुन्दरता रक्षा गर्ने र यसलाई अझ सुन्दर बनाउने सम्बन्धमा अहिलेसम्म कुनै योजना नै बनाइएको छैन, अलिकति पनि मिहिनेत गरिएको छैन । जति जे भएको छ, आफैँ भएको छ । आफैँ हुनु अवश्य पनि राम्रो हो । तर, त्यसमा थोरै हामीले पनि मिहिनेत गर्ने हो भने सुनमा सुगन्ध हुन्छ भन्ने कुरा किन बिर्संदै छौँ ? यो हामी देशभक्त नेपालीका लागि निकै दुःखको कुरो हो ।
मान्छे सभ्य र विवेकी प्राणी भएको हुँदा, शृङ्गारप्रिय हुनु स्वाभाविकै हो । तर, यो अत्याधुनिक समयमा आइपुग्दा यसले खर्चिलो रूप लिएको छ । अस्थायीरूपमा मान्छे सिँगार्नकै लागि महँगो रकम खर्च गर्ने गरी जटिल रासायनिक तरिकासहितको ‘ब्युटी पार्लर’ खोलिएको पाइन्छ । यो अनिवार्यभन्दा पनि विलासी आवश्यकता र देखौवा जीवनशैलीका रूपमा लोकप्रिय भइआएको छ । अब यसलाई पनि सुन्दरताकी प्रतीक हाम्रा आर्यमाता, देवीजीहरूका लागि अनिवार्य नै मानौँ । तर, यसै सन्दर्भमा मातास्वरूप नेपाल आमालाई सिँगार्ने कुरामा किन कसैको पनि ध्यान जाँदैन ? हामी आम नेपालीको बानी नै गुणमा भन्दा रूपमा ध्यान दिनेखालको भएर नै होला, नेपाल आमालाई सुन्दर बनाउने नाममा जताततै कृत्रिम टावर ठड्याइँदै छ ! यो भनेको कमिसन पाउनका लागि, ‘बनाउने र बिगार्ने अनि फेरि बनाएको स्वाङ रच्ने’ खालको ‘विकासको नयाँ मोडल’ लाई निरन्तरता दिइएको हो भन्ने कुरा नबुझ्ने अब पनि कोही बाँकी होलान् र !
भनिन्छ, ईश्वरभन्दा पनि माथि देश हुन्छ । त्यसपछि मात्र मातापिता र गुरुको क्रम आउँछ । यस्तो सर्वाधिक महत्वको देश सिँगार्नका लागि सस्तो र सरल प्राकृतिक तरिकाको ‘मातृभूमि सजावट योजना’को सोच किन कसैको मनमा आउँदैन ? किन यससम्बन्धी योजना बनाएर कार्यान्वयन गरिँदैन ! जब कि यहाँ केन्द्रमा राष्ट्रिय योजना आयोग, प्रदेशैपिच्छे योजना आयोग र अधिकारसम्पन्न स्थानीय सरकारहरू पनि छन् । विकास र समृद्धिका ठूलाठूला गफ जहिल्यै छाँटिएका छन् । बेलाबखत कागजी योजना पनि बनाइएका छन् । तर, समग्र देशलाई सुन्दर बनाउनेसम्बन्धी योजना कहिल्यै र कतै पनि सुन्न पाइएको छैन । त्यसैले यो प्यारो देशको सुन्दरता संरक्षण गरेर र सह्मालेर यसलाई अझै सुन्दर बनाउने काम आजसम्म थालिएकै छैन भन्दा पनि हुन्छ । आज यसैबारेमा सामान्य चिन्तन गर्न मन लागेको छ ।
हाम्रो राष्ट्रिय फूल लालीगुराँस हो । यो पाइने हिमाली क्षेत्र र पहाडी क्षेत्रको माथिल्लो भाग पूर्वदेखि पश्चिमसम्म ठाउँठावैं यसको संरक्षण गरी कुशल बगैँचे लगाएर ‘लालीगुराँस क्षेत्र’का रूपमा सजाउने काम बाँकी नै छ ।
आँप, पीपल, वर, पाखर र डुम्री वा शमीलाई समष्टिमा ‘पञ्चपल्लव’ भनिन्छ । यिनको बहुगुणी विशेषता र विशेष महत्व, छुट्टै खोज र चर्चाको विषय हुनसक्छ । सडकको भूगोलअनुसार यी पाँचजातका रूखमध्ये आँप र पीपलको सङ्ख्या बढाएर प्रत्येक पाँचदश किलोमिटरमा लगातार पाँचपाँच वा दशदश बोटका दरले मिलाएर रोप्न सके कति राम्रो हुन्थ्यो होला ।
सजावटका लागि रोपिने अनेक जातका रुख, फलफुल र वनस्पतिमध्ये एउटा धुपी पनि हो । मसलाका रूपमा खाइने सिन्कौलेको बोट आकर्षक पनि हुन्छ । ठाउँको उपयुक्तता हेरेर यी दुवैलाई मिलाएर रोप्ने काम पनि बाँकी नै छ ।
चिउरीको फूल मौरीले अति मन पराउँछ । यसको बिरुवा रोपेर जङ्गलै चिउरीमय बनाइदिने हो भने मौरीपालनबाट फाइदा लिन सकिन्छ । मौरीले परागसेचनमा विशेष भूमिका निर्वाह गर्ने भएको हुँदा कृषिबाली उत्पादनमा पनि वृद्धि हुने भयो ।
बाँस एउटा बहुउपयोगी वनस्पति हो । यसका धेरै प्रजातिहरू हुन्छन् । अन्य देशमा यसबाट धेरै किसिमका सामान बनाएर निर्यात गरिन्छ । हामीकहाँ भने बाँसबाट निर्मित चपिङ बोर्ड र दाँत कोट्याउने सिन्कासमेत उल्लेख्यरूपमा आयात गरी प्रयोग गर्ने गरिएको छ । त्यसैले, बाँच्दामात्र होइन मर्दा पनि चाहिने बहुउपयोगी बाँसको जङ्गल बनाउन आवश्यक छ । यसलाई, सडकको दायाँबायाँ दुवैतिर टन्नै रोपेर सजाउन सके सडकलाई पहिरोबाट र सवारी साधनालई थप दुर्घटना हुनबाट जोगाउन सकिने थियो ।
सहरका सडकपेटी र सडकसँगै जोडिएका सानातिना टुक्रेजग्गामा कतैकतै दुबो रोप्ने त गरिएकै छ । तर, ती ठाउँमा सजावट र बार सँगसँगै काम गर्ने तथा छिट्टै बढ्ने, नासपाती र लप्सीका बिरुवा रोप्न सकिएको छैन । नेपालमा मात्र पाइने भनिएको लप्सीलाई पाँचछ फिटजति सुरिलो हुन दिएर त्यसभन्दा माथि पुगेपछि हाँगिलो हुन दिने हो भने फल खान पाइनुका अतिरिक्त त्यसबाट बार र सजावटका काम पनि हुने थियो ।
पदयात्राका हिसाबले सुन्दर र रमाइला मानिएका हिमाली प्रदेशका धेरै ठाउँहरू विकट छन् । ती ठाउँका ठाउँठाउँमा पदयात्री बास बस्न मिल्ने टहरासम्म बनाएर सजाइदिन सके पदयात्रीहरूले दुःख पाउँदथे । त्यसो भएमा उक्त ठाउँको पर्यटकीय महत्व नै अर्कै हुने थियो ।
हाम्रा थुप्रै सुख्खा पाखाहरूलाई पनि पानी कम चाहिने बेगमबेली फूल लगाएर आकर्षक बनाउन सकिन्छ । हात्तीबार रोपेर सजाउन सकिन्छ । कपास खेती गरेर फाइदा लिन सकिन्छ । उपायहरू कति छन् कति !
शमी झम्म परेर बढ्ने सदाबहार जातको रूख हो । हिन्दू संस्कार र संस्कृतिमा यसको विशेष महत्व छ । यही बुझेरै पनि होला, उपत्यकामा पनि धेरै ठाउँमा यसको रूख देख्न पाइन्छ । ओसिला खोंच तथा रमाइला बेंसीका बाटाहरूमा लहरै शमी रोपिदिने हो भने त्यसको शीतलमा बसेर बटुवाहरूले स्वर्गीय आनन्द लिन सक्छन् ।
बाटो खन्ने क्रममा धेरै ठाउँमा ठूलाठूला वरपीपलका रूख नष्ट पारिएका छन् । तर ती ठाउँमा फेरि वरपीपल लगाएर चौतारो बनाइदिने काम कसैले सम्झेकै छैन । वरपीपल रोप्ने कामलाई एउटा अभियानकै रूपमा देशव्यापी गर्नुपर्ने हो । आफैँ भएका ठाउँमा त संरक्षण गर्नु छँदै छ । नभएका पनि डाँडाडाँडामा सिमल रोप्नुपर्छ भन्ने ज्ञान कसैलाई पनि भएको देखिएन । भनिन्छ, सिमल जातको रूखवरिपरि पलाइआएको पानीको मूल सुक्दैन र नभएको ठाउँमा नयाँ मूल फुट्छ । फूल फुल्ने मौसममा त्यसमा फुल्ने राता रङका ठूलाठूला फूल र ती फक्रेपछि उड्ने कुहिरोसरिका सेता भुवाले त्यसवरपरको वातावरण धेरै रमाइलो बनाउँछ ।
सजाउनका लागि रूख हुने जातका विभिन्न फूलका बोटहरू पनि रोप्न सकिन्छ । पारिपट्टिको पाखामा आरुबखडा, पारिजात, पैयूँ यसरी मिलाएर रोप्ने जसमा एउटा जातको फूल फुल्दा ठूलो अक्षरमा त्यस क्षेत्रको नामै लेखियोस् । मौसमअनुसार अर्को जातको फुल्दा अर्कोले नाम लेखोस् । हावाजहाजबाट यात्रा गर्दा पनि, नचिनेको मान्छेले समेत आकाशमार्गबाटै त्यो ठाउँको नाउँ थाहा पाओस् । वारिपट्टिको पाखालाई पनि त्यसै गरी सजाउने । यसै गरी हाम्रा गाउँपालिका, प्रदेश र देशकै नाम फूल, वनस्पति र रूखबाट प्राकृतिकरूपमै लेखेर राख्न सके ‘प्राकृतिक सुन्दरतामा कहलिएको देश, नेपाल’ सार्थक हुने थियो ।
हाम्रा माटोको स्वरूप र बनोट फरकफरक छ । ठाउँअनुसार सप्रने अलगअलग जातका रूखहरू–ओखर, उत्तीस, चिलाउने, साल, साज, आँप, खयर, क्यामुनु, जामुनु–मिलाएर रोप्ने योजना किन नबनाउने ?
खासगरी रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक औषधिका रूपमा खाइने सिस्नो, सहरका ‘डिपार्टमेन्ट स्टोर’मा धुलोको रूपमा किन्नुपर्छ । महँगो मूल्यका किन्नुपर्ने तर गाउँघरमा झाडीका रूपमा जताततै पाइने सिस्नोलाई फाँडेर नष्ट गर्नुपरेको छ । त्यसलाई व्यवस्थितरूपमा खेती नै गरेर सजाउने कामको थालनी भएकै छैन । अल्लोजस्तो बहुउपयोगी वनस्पतिबाट फाइदा लिन सकिएकै छैन । सिस्नो र अल्लो दुवै वनस्पतिलाई ‘गुणकारी खाना र राम्रो नाना’का रूपमा सजाएर व्यावसायिक खेती गर्न कहिलेदेखि सुरु गरिएला ?
खासगरी हिमाली र पहाडी क्षेत्रमा पाइने अनेक थरीका मृतसञ्जीवनी जडीबुटीलाई संरक्षण गरेर खेतीको रूपमा सजाउने काम थालिएकै छैन । यसो नहुँदा कतिपय जडीबुटी लोप भइसकेका र कतिपय हुने अवस्थामा रहेका छन् ।
हाताहाती नगद पाउने हिसाबले मूल्याङ्कन गर्दा, पछिल्ला वर्षमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ निकै लोकप्रिय भएको थियो । तर, उक्त कार्यक्रमअन्तर्गत गल्लीका झार टिप्ने, चौरको वल्लो छेउमा रहेको माटो पल्लो छेउमा पु¥याउने र कान्लाका स्याउला उखेल्नेजस्ता काम गराइए । त्यसको साटो, थोरै भए पनि देशलाई सजाउने र दिगो विकासको काममा प्रयोग गर्न सकिएको भए साह्रै राम्रो हुने थियो ।
केही वर्षयता आएर हाम्रो देशका धेरै सामुदायिक जङ्गललाई अनावश्यक झारबुट्यानले ढाक्न थालेको छ । ठूलाठूला वनजङ्गलमात्र होइन, उपत्यकाका सानातिना खाली जग्गा पनि त्यस्ता मिचाहा प्रजातिका झार–वनस्पतिले ढाकिएर कुरूप हुन थालेका छन् । त्यस्ता झार–वनस्पतिमध्ये एउटा वनमारा पनि हो । यसलाई कतै लहरे वनमारा÷सेतो वनमारा पनि भन्छन् । वनमाराले आफ्नो नामैअनुृरूप वनलाई मार्दै लगेको छ । यसका विभिन्न प्रजाति जताततै फैलिएका कारण भुइँमा घाँस र बिरुवा उम्रन छाडेका छन् । जडीबुटीका बिरुवा उम्रिन र फस्टाउन नसकी मासिँदै गएका छन् । त्यसैले मिचाहा प्रजातिका झारको बढ्दो उपस्थिति र यसले सिर्जना गरेको नचाहिँदो कुरूपतालाई हटाएर अरू सुन्दर र उपयोगी वनस्पतिलाई सजाउने काम स्थानीय तहहरूले गर्न बाँकी नै छ ।
हाम्रा सहरबजारहरू पनि मानवनिर्मित सुन्दरताका प्रतीक हुनुपर्नेमा मानवसिर्जित कुरूपताका सूचक बन्दै छन् । फोहोर बिसर्जनमा देखिएको लापरबाहीले सुकिला मानिसका फोहोरी चेतना बताउँदै छन् । एक त अव्यवस्थित बसाइ, त्यसमा पनि धुवाँधुलो फ्याँक्ने खालका केही उद्योगधन्दा पनि सहरमै भएकोले तिनले मानव स्वास्थ्यमा नराम्रो असर पार्दै छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा निम्तिएको कुरूपता निकै भयावह देखिन्छ ।
‘माल पाएर के गर्नु चाल पाए पो ¤’ भन्ने उखान छ । हामीसँग संसारकै सुन्दर देश भएर पनि यहाँ प्रशस्त पर्यटक भित्र्याउन सकेका छैनौँ । उनीहरूमध्ये कतिपय किन हाम्रातिरका नदी, पहाड, जङ्गल, मन्दिरभन्दा भारततिरका मन पराउँछन् ? किनभने, हामीले हाम्रा चीजलाई थोरै सजाउने प्रयास गरेर मूल्यवान् बनाउन सकेकै छैनौँ । त्यसैले हाम्रो घर, गाउँ, सहर, सडक, बाटाहरू, पाटाहरू, बजार सजाउनु छ । जङ्गल, पहाड, खोला, नदी सजाउनु छ । यो विश्वकै सुन्दर देशलाई अझै सुन्दर बनाउन स्थानीय तहैपिच्छे ‘कन्ट्री ब्युटी पार्लर’को योजना बनाउनु छ । यहाँका युवाशक्ति विदेश सिँगार्दै छन् । तिनलाई यही देश सिँगार्नका लागि यहीँ टिकाउने काम गर्न बाँकी नै छ । दक्ष जनशक्तिलाई यहीँ बिकाउने योजना बनाउन बाँकी नै छ । यस विषयमा काम गर्न अब वनस्पतिविद्, भूगोलविद् र नेपालविद्हरू जुर्मुराउनुपर्छ । अन्य अनावश्यक मन्त्रालयलाई कटाएर र जनप्रतिनिधिको सङ्ख्या घटाएर भए पनि एउटा ‘मातृभूमि सजावट मन्त्रालय’ बनाउनुपर्छ ।
Leave a Reply