भर्खरै :

“शासक दलहरूसित देश समृद्ध पार्ने सोच छैन”

“शासक दलहरूसित देश समृद्ध पार्ने सोच छैन”

ललितपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा घरदैलोसहित चापागाउँमा चुनावी जनसभा भयो ।
सभामा केन्द्रीय सदस्य ज्याख्वले प्राकृतिक स्रोतको अध्ययन अनुसन्धानको माध्यमबाट विश्वमा कष्टकर जीवन बिताएको कतारले समृद्धि क्षेत्रमा फड्को मार्नुमा युवाहरूको योगदान रहेकोले नेपालमै आफ्नो श्रमशक्ति प्रयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले पटकपटक जितेका सत्तारुढ दलका नेताहरूमा नेपालको प्राकृतिक स्रोत साधनको प्रयोग गरेर देश समृद्ध गर्ने योजना नरहेको बताउँदै भारतलाई कर्णाली, कोसी र गण्डक नदी बेचेकोले देशको लागि आवश्यक खानेपानी र सिचाइमा नेपालको पानी प्रयोग गर्न नसकेको बताउनुभयो ।
शासकहरूको अकर्मण्यताको कारण बच्चा जन्मेपछि लगभग ७० हजारको ऋणको भारी बोकाएको बताउँदै उहाँले मल्लकालमै विविधताको एकतामा विकसित सांस्कृतिक सभ्यता माथि केन्द्रीकृत स्मार्ट सिटी, सडक विस्तार र पर्वहरूको तिथिमितिमा आक्रमण गरेर एकता भाँडेर रैथानेलाई विस्थापित गरेको भन्नुभयो ।
ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार नीरज लवजूले शासक दलले अहिलेको चुनाव फेरि जिते अमेरिका र चीनको सैनिक नीतिको शिकार हुने राष्ट्रघाती एमसीसीको कार्यान्वयनबाट देशले इराक अफगानिस्तान, प्यालेस्टाइनकै दशा भोग्नुपर्ने बताउँदै काम नलाग्ने वस्तुको भण्डारण भएझँै देशको लागि काम नै नलाग्ने पार्टीको भण्डारण गर्न अब नेमकिपाका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताउनुभयो ।
उहाँले एकै समय स्वतन्त्र भएको भारत र चीनको प्रगति नेपालले गर्न नसक्नुको खोजीनीति गर्नुपर्ने समय आएको बताउँदै देशलाई सिक्किम र फिजी बनाउन नागरिकता विधेयक पास गर्ने गठबन्धनको पार्टीलाई पञ्चायत र राजतन्त्रझैँ पाखा लगाउन आवश्यक छ भन्नुभयो ।
सभामा उहाँले कृषिप्रधान देशका किसानलाई सामान्य मलसमेत दिन नसक्ने असक्षम शासक दलले बच्चाबच्चीलाई झैँ मतदातालाई अनेकाँै मिठो आश्वासनले भ्रममा पारिरहेको बताउनुभयो ।
ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार कवीन्द्र डंगोलले शासक दल २०४६ देखि देशको हितविपरीत कार्यमा संलग्न भएको बताउँदै दुष्कर्मबाट बच्न अनेकाँै गठबन्धन र जनताको मतलाई बिथोल्न स्वतन्त्र उम्मेदवार खडा गरेको बताउनुभयो ।
ललितपुर क्षेत्र नं १ (क) प्रदेशसभाका उम्मेदवार बुद्ध लामाले देशघाती असमान सम्झौता खारेज गराउन र प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न एवं देश र जनताको भविष्य निर्धारण गर्न मादल चिह्नमा मतदान गर्न अपिल गर्नुभयो ।
ललितपुर क्षेत्र नं १ (ख) प्रदेशसभका उम्मेदवार मन्दिप महर्जनले देश र जनताको सेवा गर्ने उद्देश्यसहित युवा शक्तिलाई देशमै रोजगार सृजना गर्न सङ्घर्षरत पार्टीलाई मतदान गर्न आह्वान गर्नुभयो ।
प्रदेशसभाका उम्मेदवार सूर्यलक्ष्मी देसारको सभापतित्वमा सम्पन्न उक्त सभामा अशोक महर्जनले सम्पदा र संस्कृति संरक्षणसहित देश र जनताको लागि सङ्घर्षरत नेमकिपाका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै शासक दलले पञ्चायतकालमा विकास भएको उद्योग कलकारखाना नष्ट गरेर युवालाई विदेशमा पठाउने काम गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *