भर्खरै :

अहिलेको आवश्यकता देश जोगाउने र देश बनाउने हो

मुलुक चुनावमय भइरहेको छ । हिमाल, पहाड र तराईका सहर बजार, गाउँ बस्ती, घर आँगन र चोक–चोकमा चुनावी सभा, छलफल, भेटघाट तथा घरदैलो कार्यक्रम भइरहेको छ । राजनीतिक दलका नेता, उम्मेदवारहरू जनताको घर आँगन पुगिरहेका छन्, आ–आफ्ना दलका उम्मदेवारलाई जिताउन आग्रह गरिरहेका छन् । यसरी देशैभरि चुनावमा गतिविधि भइरहेको कारण यो निर्वाचन राजनीति गर्ने खुला विश्वविद्यालय साबित भइरहेको छ । हरेक दलले राजनीतिक गतिविधि या प्रचार गर्ने भएकोले यसबेला लाखौँ–करोडौँ जनतालाई शिक्षित पार्न सक्छ । निर्वाचन जनतालाई सुसूचित पार्ने एक भरपर्दाे माध्यम हो ।
यो निर्वाचनमा देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने योग्य उम्मेदवार छानी छानी निर्वाचित गर्नुपर्ने विचार गाउँ, नगर, बजार, चोक, गल्ली आदि स्थानमा चर्चाको विषय बनिरहेको छ । हरेक राजनीतिक दल र दलबाट उम्मेदवार भएका प्रत्येक व्यक्तिको चिन्ता र चासो नेपाल र नेपालीको हितको निम्ति हुनुपर्छ । अहिले देशको आवश्यकता देश जोगाउने र देश बनाउने हो । देश र देशवासीलाई आफ्नो ठान्ने दल र नेता देशको लागि आवश्यक छ । जनविश्वास प्राप्त व्यक्ति आजको आवश्यकता हो । तर, ठूला र सत्तासीन दलका नेता र उम्मेदवारहरू निर्वाचन क्षेत्र केन्द्रित छन्, तिनीहरू विकासे नारा दिन्छन् । जन अपेक्षाको ख्याल नगर्ने दल र दलका नेताहरूले देश विकास हेर्दैनन् ।
देशको राजनीति स्वच्छ बनाउन देश र जनताप्रति जिम्मेवार उम्मेदवार निर्वाचित गर्नुपर्छ । देशभक्त, इमानदार, निःस्वार्थी, सिद्धान्तनिष्ठ उम्मेदवारलाई हामीले निर्वाचित गर्नुपर्छ । सत्तासीन र ठूला दलका नेता तथा उम्मेदवारहरूले इमानदार भएनन्, निःस्वार्थी भएनन्, सिद्धान्त र विचारको ख्याल गरेनन् । तिनीहरू जनअपेक्षाअनुसार काम गर्दैनन् । राज्यको स्रोत र साधनमाथि रजाइँ गर्छन् । गणतान्त्रिक यो देशमा स्वेच्छाचारी बढ्नु, भ्रष्टाचार र कमिसनको दलदलमा फस्नु, सत्तामा पुग्न र सत्तामा टिकिरहन विदेशी शक्ति केन्द्रहरूको मुख ताक्नु ठूला र सत्तासीन दल र दलका नेताहरूको कमजोरी हो । ती नेताहरू आफू बन्ने र बनाउनेतिर लागे, देश जोगाउने, बनाउने र जनताको जीवन सुनिश्चित बनाउनेतर्फ लागेनन् । यही देशको विडम्बना हो ।
सत्तासीन र ठूला दलका नेताहरूले धेरै पटक आश्वासन बाँडे, धेरै पटक धोका दिए । के फेरि ती नेताहरूबाट धोका खाने ? धोका खान ती नै नेता र उम्मेदवारहरूलाई मतदान गर्ने ? अब जनता सचेत हुनुपर्छ । विगतको कमी कमजोरी हटाउनुपर्छ । अब फेरि गल्ती गर्नुहुँदैन, गल्ती गरेर प्रायश्चित गर्नुहुँदैन । अतः देश र जनताको अवस्था बदल्न नेपाली समाजमा देखिएको राजनीतिक विकृति अन्त्य गर्न दूरदर्शी, देश र जनताप्रति समर्पित नेता तथा उम्मेदवारहरू छान्नुपर्छ । यो नै आजको आवश्यकता हो । आफ्नो मत बेठाउँमा या गलत ठाउँमा परेर पछि पछिसम्म पछुताउनुपर्ने काम कुनै पनि मतदाताले गर्न नगरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *