भर्खरै :

प्रख्यात दूध पोखरी नबनेको कथा मतदातालाई याद होला नि !

प्रख्यात दूध पोखरी नबनेको कथा मतदातालाई याद होला नि !

राजाले दूध पोखरी बनाउने प्रचलित कथा धेरैलाई याद त होला नै । याद नहुनेहरूकोे निम्ति सङ्क्षेपमा फेरि दोहो¥याउँछु । एकादेशको राजाको ठूलो धोको थियो, दूधको पोखरी बनाउने । जसअनुसार पोखरी पनि बनियो । तर, दूध राख्न बाँकी नै थियो । राजाले सबै प्रजालाई भोलि उज्यालो हुनअघि झिसमिसेमै सबैले एक एक गिलास पोखरीमा दूध खन्याउने आदेश दियो । प्रजाको मनमा कुरा खेल्यो । मैले एक गिलास दूध नहाले त्यत्रो पोखरीमा के फरक पर्ला र ? यस्तै सोच सबैको मनमा आउँदा भोलि बिहान राजा पोखरीमा आउँदा एक थोपा दूध भेटिएन । यसरी राजाको दूध पोखरी बनाउने सपना तात्कालीन अवस्थामा सफल भएन । किन दूध पोखरी बनेन त ? सबैलाई थाहा भयो । हो, चुनावमा इमानदार पार्टीले हार्ने अनि भ्रष्टाचारी, फटाहा र लुटाहाहरूले चुनाव जित्ने वास्तविकता यसै कथासँग जोडेर हेर्न सकिन्छ । जनताको मनोविज्ञान के हुन्छ भने नेपाल मजदुर किसान पार्टीजस्तो सानो पार्टीलाई दिएको मेरो एउटा भोटले जित्ने पनि होइन, बेकारमा किन भोट खेर फाल्ने ? अघि दूध पोखरी बनाउँदा मेरो एक गिलास दूध नहुँदा के फरक पर्छ र भनेजस्तो मनोविज्ञानले काम गर्दा दूध पोखरी नबनेजस्तै सबै जनताको दिमागमा मेरो एक भोटले इमानदार भए पनि सानो पार्टी नेमकिपा जित्ने होइन भन्ने मनोभावले बेइमान भएर पनि ठूला पार्टी भनाउँदा भ्रष्ट पार्टीले जित्छ ।
सत्ता पक्ष गठबन्धन होस् या विपक्ष गठबन्धन होस् यिनीहरूबिच कुनै सैद्धान्तिक तालमेल भएर मिलेको पक्कै होइन । बरु आआफ्नो निहित स्वार्थ पूरा गर्न गठबन्धन गरेको भन्ने कुरा सबै जनतालाई थाहा छ । ‘माओवादीलाई एमाले पार्टीमा कमल थापाले स्वागत गरे’ जस्ता समाचारबाट प्रस्ट हुन्छ कि गठबन्धनको उद्देश्य के रहेछ भनेर । यो दुषित राजनैतिक माहोलबाट पर रहेर इमानदारीपूर्वक नितान्त देश र जनताको सेवालाई सर्वोपरि ठान्ने नेमकिपालाई भोट हाल्नु पर्दा त्यही गठबन्धनको विरोध गर्ने जनतालाई ‘सानो पार्टी मनोविज्ञान’ ले सङ्कोच बनाउने रहेछ । हामी जनतामा रहेको यस्तो विरोधाभाषी चरित्रलाई त्याग्नुपर्छ अनिमात्र दूध पोखरीरुपी इमानदार राजनीतिक संस्कार बन्ने छ ।
त्यसरी नै सबै नेपाली जनता एमसीसी सम्झौताविरोधी हुन् । यसको पुष्टि त एमसीसीले नेपालको विकासमा फड्को मार्छ भन्दै संसद्बाट पास गर्ने पार्टीहरूले आफ्नो घोषणापत्रमा यसबारे एक शब्द उल्लेख गर्न नसक्नुबाट पुष्टि हुँदैन र ? कथित विकासको संवाहक एमसीसी पास गरेको जस कुनै पार्टीले लिन नचाहनुको कारण जनतादेखि डराएर हो । हाम्रो देशको विकासमा कायापलट नै ल्याउने भनेर दाबी गर्दै पास गरेपछि एमसीसी हामीले पास गराएबापत हाम्रो पार्टीलाई भोट दिनु भनेर भन्नुपर्ने होइन ? जबकि हुँदै नभएको विकासको झूटो कुरा बारम्बार गरिरहन्छ । एमसीसी कति घातक रहेछ भन्ने कुरा यसबाट पुष्टि हुँदैन र ? हो, एमसीसी पास गरेर राष्ट्रलाई घात गर्नेमा नेमकिपाबाहेक नेपालका झन्डै सबै पार्टीको संलग्नता रहेको सत्य नेपाली जनताले नबुझेको होइन । अब भन्नुस् तपार्इँको भोट यस्ता राष्ट्रघाती पार्टीहरूलाई दिने कि नेमकिपालाई ? फेरि तपार्इँको मनमा कुरा खेल्छ होला नेमकिपा सानो पार्टी, मेरो एक भोटले जित्ने पनि होइन । हो, यही कारण हो दूध पोखरी नबन्ने ।
सबै पार्टीका नेताहरू भ्रष्ट दलाल ठेकेदारहरूसँग साठगाँठ गर्ने कुराबाट सबै जनता वाक्दिक्क भइसकेका छन् । यो सन्दर्भमा नेमकिपा निश्चल छ । नेमकिपाको जन्मजात विरोधीहरूले पनि आर्थिक अनुशासनमा इमानदार रहेको स्वीकारिसकेका छन् । नेमकिपाको नेतृत्वमा रहेको भक्तपुर नगरपालिकामा भ्रष्टाचार शुन्य छ । आसन निर्वाचनमा नेमकिपाका नेताहरू तपाईँसामु भन्दै छन्, हाम्रो पार्टीका उम्मेदवारलाई जिताउनु तपाईँहरूलाई यो सुनिश्चित गर्छौ “हामी हवाई गफ गर्दैनौँ बरु उपलब्ध भएको साधन स्रोतलाई एकसुको यताउता नगरी पूर्ण सदुपयोग गर्छौँ ।” पदमा नपुगेसम्मको वाचामात्र होइन पदमा पुगेर पनि आफ्नो कर्तव्य पूरा गरिरहेको अवस्थामा फेरि तपाईको मनमा उही सानो पार्टीको कुरा खेल्न थाल्छ भने दूध पोखरी नबन्नु त स्वाभाविक हुन्छ नै ।
यस्ता थुप्रै वास्तविकताबाट जानकार भएर पनि एकथरी जनता नेपालमा फटाहा हुनेमात्रै सफल हुने भए, अब विकल्प नै नभएपछि के गर्ने भनेर रोइलो पनि गर्ने गर्छन् तर आफ्नै अगाडि उभिएका इमानदार उम्मेदवारलाई साना पार्टी नेमकिपाको भनेर नदेख्याजस्तै गर्ने ! पटक पटक विफल भएका यी पार्टीहरूबाट राम्रो कामको आश गर्नु भनेको ऐंसेलुको बोटमा पीङ खेलेजस्तै हो । त्यो सम्भव नै छैन । यिनीहरूको घोषणापत्रमा कतिको जालझेल छ भन्ने कुरा गणतन्त्र पछिको ४ पटकको घोषणापत्रले पुष्टि गर्दैन र ?
यसै प्रसङ्गलाई जोडेर नेमकिपाका कार्यकर्ताले पनि गाँसेगुँसे एकैनासेको पारामा सबै मतदातालाई मुछेर जाँडरक्सी खाएर भोट हाल्छन् भनेर गुनासोमात्र गर्नु पनि ठीक होइन । यसलाई पुष्टि गर्न भक्तपुर निर्वाचन क्षेत्रलाई राम्रो उदाहरणको रुपमा लिन सकिन्छ । यस क्षेत्रका अधिकांश जनताले जाँडरक्सी खाएर भोट दिनु त परको कुरा उल्टो आफ्नो हैसियतअनुसार चन्दा दिएर अत्यधिक मतले आफ्नो मनपर्ने उम्मेदवारलाई जिताएको पटकपटकको उदाहरण छ । यो निश्चितरूपमा सही हो कि यस्ता घटना हातको औँलामा गन्न मिल्छ । नैतिकताको राजनीति गर्ने हो भने अझै जनता उल्टै पैसा दिएर भोकभोकै मतदान गर्न तयार छन् ।
यसरी मतदाताहरूबारे गुनासोमात्र गर्नुभन्दा व्यक्तिपिच्छे भेटघाट गर्न सक्ने हो भने नेपाल मजदुर किसान पार्टीजस्तो सानो पार्टीले धेरै मत आफूतिर तान्न सक्छन् । जित्न नै सक्छन्, त्यो सम्भावना छ । भ्याउनु नभ्याउनु त सम्बन्धित पक्षकै कुरा हो । घरमा हेर्दै नहेर्ने । सम्बन्धित ठाउँका वास्तविक मतदातासँग भोट नमागी बाहिरका, पसलमा आउने र हिँड्नेहरूलाई सम्झाउँदै गरेको देखिन्छ । यस्तो औपचारिकताले मात्र भोट कसरी आउँछ ? कति जनताले त उम्मेदवारको मुख पनि देखेका हुँदैनन् । “हाम्रो क्षेत्रका नेमकिपाका उम्मेदवारका कार्यकर्ताहरूले हिजो मेरै घर कम्पाउन्डमा कागजको चिर्कटो फाल्दै हिँडेका थिए । बाहिर निस्किँदामात्र थाहा भयो म कहाँ पनि चुनाव प्रचार गरेर गइसकेका रहेछन्” भनेर गुनासो गर्ने जनता पनि छन् ।
सचेत नागरिक बनौँ । जनताको परीक्षामा उत्तीर्ण भएको उम्मेदवारलाई जिताई सुसंस्कृत राजनीतिक चरित्र निर्माण गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *