भर्खरै :

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष होस्

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष होस्

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा समानुपातिक उम्मेदवारहरूको निर्वाचनको लागि आवश्यक सामग्री तयारी गरिसकेको छ । निर्वाचनको लागि चाहिने मतपत्र, मतपेटिका, छाप, मतदान केन्द्र र मतदान शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मीको पनि व्यवस्था गरिसकेको छ । हरेकजस्तो मतदान केन्द्रमा खटेको टोलीले आ–आफ्नो जिम्मा पाएका मतदान केन्द्रहरूमा सरसफाइ गर्नेदेखि मतदानको बेला लाइन बस्नको आवश्यक सामग्रीहरू जुटाउन थालेको छ ।
निर्वाचनको दिन मतदाताहरू आ–आफ्नो मतदान केन्द्रमा निर्धारित समयभित्र मतदान केन्द्रमा पसेर आफूले रोजेको दल र दलका उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ । आफ्नो अमूल्य भोट सदुपयोग गर्नुपर्छ । आफूले राखेको मत कुनै पनि खेर नजाओस् । मतदान गर्ने मतपत्रमा आ–आफ्ना पार्टी र स्वतन्त्र उम्मेदवारका चिह्नहरू स्पष्ट हुनुपर्छ । मतपत्रमा निर्वाचन अधिकृतको सही हुनुपर्छ । मत खसाल्ने मतपेटिका अँध्यारो कोठामा छ भने बत्तीको व्यवस्था गर्नुपर्छ ।
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुनुपर्छ । यसका लागि राजनीतिक दल, निर्वाचन टोली, सुरक्षाकर्मी तथा स्थानीय जनताको सहयोग आवश्यक हुन्छ । निर्वाचन स्थलमा हो–हल्ला गरेर, हुलदङ्गा गरेर निर्वाचन बिथोल्ने काम कुनै पनि निर्वाचन केन्द्रमा नहोस् । देशभरिका मतदान केन्द्रमा हुने निर्वाचन मर्यादित ढङ्गले सम्पन्न गर्न र गराउन सरकारले विशेष ध्यान दिनुपर्छ । मतपत्रमा छाप हाल्दा हडबडाउनु हुँदैन । दलको चिह्नको कोठामा छाप परेन भने या एउटै मतपत्रमा एकभन्दा बढी छाप हालेमा सो मतपत्र बदर हुन्छ ।
मतपत्र बदर हुनु भनेको आफ्नो मत खेर जानु हो । मत खेर जानु भनेको आफ्नो अमूल्य मत बेठाउँमा पर्नु हो । यसले आफूले रोजेको दल र दलका उम्मेदवारहरूलाई मत पर्दैन । यसकारण, मत खेर नपठाउन हरेक मतदाताहरू सचेत हुनुपर्छ । अनि आफ्नो मताधिकार सदुपयोग भएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *