नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
डा. विश्वबन्धुको ४० वर्षे उपचार अनुभव ः मनोचिकित्सकलाई पागलको डाक्टर भनेर गिज्याइन्थ्यो
मनोचिकित्सक डा. विश्वबन्धु शर्माले करिब ४० वर्ष मानसिक रोगीको औषधि, उपचार र परामर्शमा बिताएका छन् । उनले यो अवधिमा अस्पताल, क्लिनिक र स्वास्थ्य शिविरलगायतमा हजारौँ मानसिक समस्या भएका व्यक्तिको स्वास्थ्योपचार गरेका छन् ।
उनले उपचार गरेकामध्ये अधिकांश बिरामी ठिक भए भने कैयौँले आत्महत्या गरे । आफैँले उपचार गरेका बिरामीले आत्महत्या गरेका सुन्दा निकै ग्लानी हुने डा. विश्वबन्धु सुनाउँछन् । बिरामीले आत्महत्या गरेको सुन्दा उनलाई आफ्नै उपचारका त्रुटी भयो कि भन्ने लाग्छ ।
मानसिक रोगको समस्या भएका बिरामीको राम्रोसँग रोग निको पार्न नसकेको खण्डमा कैयौँ बिरामीको आत्महत्या या दुर्घटनामा परेर मृत्यु हुने गरेको उनले सुनाए । मानसिक समस्याका रोगीको मृत्युको प्रमुख कारण आत्महत्या भएको उनको अनुभव छ ।
आत्महत्या गरेपछि कतिपय बिरामीका आफन्त आएर दुःख पोख्ने गरेको उनले सुनाए । सही उपचार गरेको खण्डमा मानसिक समस्या ठिक हुने भएकाले उपचार गर्न उनको सल्लाह छ ।
जिम्मावालका छोरा पढाइमा उतारचढाव
२०१० मा स्याङ्जामा जन्मिएका हुन् डा. विश्वबन्धु शर्मा । त्यो बेला स्याङ्जालाई पश्चिम चार नम्बर स्याङ्जा, नुवाकोट भनिन्थ्यो रे । डा. विश्वबन्धुका बुबा जिम्मावाल मुखिया (जिमु) थिए । त्यसैले गाउँमा उनका बुबाको सान र मान कम थिएन । त्यो बेला उनका बुबालाई ‘जिमु’ नभन्ने र नलेख्ने हो भने बुबा रिसाउँथे रे ।
छोराले राम्रो पढ्न सके विद्वान् बन्छ, सामान्य लेखपढ गर्न सके मालपोत उठाउन र रसिद काट्न सक्छ अनि पढ्न नसके खेतीपाती गर्छ भन्ने विश्वबन्धुका बुबाको सोचाइ थियो । बुबाको त्यो सोचाइ उनको बाल मस्तिस्कले त्यो बेला नै बुझिसकेको थियो ।
बुबाले पाल्पा, पोखराजस्ता शहरमा लगेर पढाउन सक्ने हैसियत भए पनि आफ्नो प्रारम्भिक शिक्षाले खासै महत्व नपाएको डा. विश्वबन्धुले सुनाए । त्यसो त उनले प्रारम्भिक शिक्षा भने घरमा नै गरे । गाउँका केही गुरुसँग अनौपचारिक शिक्षा लिए ।
२०१५ सालको आम चुनावको समयमा उनी करिब ५ वर्षका भएका थिए । त्यो चुनावमा जुलुससँगै ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’ भन्ने जस्ता गीत गाउँदै रमाइलो गरेको विश्वबन्धुलाई सम्झना छ । जुन बेलासम्म उनको औपचारिक शिक्षा सुरू भएकै थिएन ।
२०१६ सालमा पर्वतमा फुपूकहाँ बसेर विश्वबन्धुले पढ्न थाले । त्यहाँ संस्कृतिका एक जना जयदेव गुरुकहाँ सुरूमा चार कक्षाको किताब लिएर पढ्न गएको उनलाई याद छ । त्यो बेला ती गुरुले धर्मशाला जस्तो पाटी र शिवालयमा पढाएको उनी सम्झन्छन् ।
ती नै जयदेव गुरुपछि संस्कृतिविद् सत्यमोहन जोशी र सरदार हंसमानसमेतका आध्यत्मिक गुरु बने । चार कक्षाको किताब पढेका विश्वबन्धुले त्यसपछि पोखरामा दुई कक्षामा भर्ना भएर पढ्न थाले । त्यो बिचको उनको अध्ययनका केही आरोह अवरोह छन् ।
त्यसपछि स्याङ्जाको सदरमुकाममा पाँच कक्षामा भर्ना भएर पढ्न थाले । त्यो बेला स्याङ्जाको सदरमुकामलाई नुवाकोट भनिन्थ्यो । त्यहाँ राम्रोसँग पढ्न नआएपछि विद्यालय नगई बाटैमा अलमलिन्थे उनी । विद्यालय नगई बाटोमा नै खुब खेलेर फर्किएको उनलाई सम्झना छ ।
त्यसपछि मामाघरमा अध्ययनको लागि एउटा संस्कृत पाठशालामा ६ कक्षामा के भर्ना मात्रै भएका थिए, बिफरका कारण डेढ वर्ष पढाइ नै रोकिएछ । डेढ वर्षपछि स्याङ्जाको चिलाउनेबासस्थित घरभन्दा अलि पर मावली गाउँकै जनप्रदीप हाइस्कुलमा सात कक्षामा भर्ना भएर अध्ययन गर्न थाले उनी ।
विश्वबन्धु भर्ना हुँदाको बेलासम्म त्यो विद्यालयको न भवन थियो न विद्यालयले सरकारबाट स्वीकृति नै पाइसकेको थियो । त्यतिबेला उनको उमेर ११ वर्ष मात्र थियो । त्यसपछि भने उनले निकै ध्यान दिएर पढ्न थाले । स्याङ्जाको त्यही जनप्रदिप हाइस्कुलबाट १५ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरे । उनी त्यो विद्यालयको दोस्रो ब्याचका एसएलसीका विद्यार्थी हुन् ।
नसोचेको डाक्टरी यात्रा
एसएलसीपछि विश्वबन्धु काठमाडौँ आए । उनी स्वयम्भूस्थित आनन्दकुटी साइन्स कलेजमा आइएस्सी भर्ना भए । पछि त्यो कलेज अमृत साइन्स कलेजमा गाभिएको उनले सुनाए ।
साइन्स पढेपछि डाक्टर नै बन्छु भन्ने त विश्वबन्धुको मनमा थिएन । तर, अरू केही नभए पनि आईएस्सी अध्ययनपछि शिक्षक त बन्न सकिन्छ भन्ने उनको सोच थियो । राम्रो नतिजा ल्याउने सुरमा उनले आईएस्सीको एक वर्ष परीक्षा नदिएर अर्को वर्ष मात्रै दिए ।
निकै मेहनतपछि विश्वबन्धुले आइएस्सी राम्रो अङ्कका साथ उत्तीर्ण गरे । तर, आईएस्सीको अध्ययन गर्नेक्रममा नै उनले डाक्टर पढ्ने सपना बुन्न थालिसकेका थिए । उनको मनमा डाक्टरी सोच आउन थालिसकेको थियो । त्यहीअनुसारले उनी मानसिक रूपमा तयारी हुँदै गए । विश्वबन्धुले सकेसम्म डाक्टर नै पढ्ने निर्णय लिए ।

आइएस्सीपछि विश्वबन्धु सरकारी छात्रवृत्ति कोटामा तत्कालीन सोभियत सङ्घको युक्रेनस्थित खार्कोभ स्टेट युनिभर्सिटीमा सन् १९७२ (२०२९) मा चिकित्साशास्त्र विषयको अध्ययनको लागि पुगे । त्यहाँ करिब एक वर्ष रसियन भाषा अध्ययन गरे । त्यसपछि ६ वर्ष उनले चिकित्साशास्त्र विषयको अध्ययन गरे ।
सन् १९७९ मा विश्वबन्धुले स्नातकोत्तर तहको जनरल मेडिसिन विषयको एमडी अध्ययन पूरा गरे । त्यो चिकित्साशास्त्र विषयको आधारभूत डिग्री भए पनि ६ वर्षको भएकाले त्यहाँ एमडी नै भनिन्थ्यो ।
‘इज्जत पाइन्नथ्यो, पागलको डाक्टर भनेर गिज्याइन्थ्यो’
त्यसो त डा. विश्वबन्धुलाई एमडी अध्ययन गर्दा नै मनोचिकित्सा विषय अध्ययन गर्ने रूचि बढिसकेको थियो । समग्र व्यक्ति र व्यक्तिको मन पढ्न पाइने विषय भएकाले यो विषयप्रति आफ्नो रूचि बढेको उनले सुनाए ।
डा. विश्वबन्धुलाई लाग्यो, ‘मनोचिकित्सा विषयको अध्ययन गर्दा व्यक्तिको शारीरिक तथा मानसिक अवस्था, मनोवैज्ञानिक तथा आध्यात्मिक पक्ष र सामाजिक भूमिकालगायत बहुआयामिक पक्षको अध्ययन गर्न पाइन्छ ।’
त्यसैले उनी मनोचिकित्सा विषय नै पढ्ने करिब निष्कर्षमा पुगे । तर, नेपालमा मनोचिकित्सा विषयको अध्ययन गरेर फर्र्कँदा कामै पाउन कठिन हुने लगायतका चिन्ताले उनका सिनियरहरूले यो विषय अध्ययन नगर्न सल्लाह दिएका थिए ।
त्यो बेला नेपालमा मनोचिकित्सा विषयको अध्ययन गरेर फर्कँदा इज्जत हैन, पागलको डाक्टर भनेर उल्टै गिज्याउनेजस्ता व्यवहारको सामना गर्नुपर्ने चुनौती उनीसामु थिए ।
त्यो बेला सरकारी जागिरका लागि दरबन्दी नभएको र क्लिनिक चलाएर काम गर्ने वातावरण पनि राम्रो थिएन । त्यो बेला वीर अस्पतालमा पाँच बेडको मनोचिकित्सा युनिट थियो । जहाँ मनोचिकित्सक डा. विष्णुप्रसाद (वीपी) शर्मा थिए ।
मनोचिकित्सा विषय पढेर नेपाल फर्र्कँदा अलपत्र पर्ने स्थिति भएकाले अन्य विषय अध्ययनको लागि धेरैले उनलाई सुझाव नदिएका हैनन् । तर, डा. विश्वबन्धुलाई नेपालमा मनोचिकित्सा विषयको भविष्य छ भन्ने मनमनै लागेको थियो । उनले नेपालमा यो विषय अध्ययन गरेका चिकित्सकको आवश्यकता पनि देखेका थिए ।
उनलाई यो विषयमा रस पनि पसिसकेको थियो । त्यसैले एमडी अध्ययनपछि डा. विश्वबन्धुले नेपाल नफर्की तत्कालीन सोभियत सङ्घमा नै मनोचिकित्सा विषयको अध्ययन गर्न थाले । उनले छात्रवृत्ति कोटामा नै मनोचिकित्सा विषयमा पोष्ट ग्राजुएशन अध्ययन गरे । त्यहाँ उनले मानसिक रोगसम्बन्धी गहिरो अध्ययन गर्ने मौका पाए ।
२०३८ मा डा. विश्वबन्धु युवा जोस र सेवाभावका साथ सोभियत सङ्घ पुगेको करिब दश वर्षमा मनोचिकित्सा विषयसम्मको अध्ययनपछि नेपाल फर्किए । उनी नेपाल फर्कँदा वीर अस्पतालमा डा. वीपी शर्मा र सैनिक अस्पतालमा डा. देशराज कुँवर गरी दुई जनामात्रै मनोचिकित्सक थिए । अर्का एकजना डा. धुर्वमान श्रेष्ठ उनीभन्दा केही महिनाअघि यो विषय पढेर फर्केका थिए । डा. विश्वबन्धुसहित नेपालमा चार जना मनोचिकित्सक भए ।
तर, साँच्चै नेपाल फर्किएपछि उनलाई काम पाउन निकै सकस भयो । कामै पाइएन । धेरैले क्लिनिक चलाउन सुझाव दिए । तर, क्लिनिक चलाएर बिरामीसँग पैसा लिन उनको मनले मान्दैनथ्यो । सरकारी जागिर नै पाए हुन्थ्यो भन्ने उनको मनमा थियो । जागिरका लागि निकै भौँतारिए । तर, पाएनन् । त्यसो त आफूले सहज रूपमा काम नपाएपछि छटपटी तथा तनाव हुन्थ्यो रे उनलाई । जुन डिप्रेशनको लक्षण भएको सम्झन्छन् उनी ।

पढेर फर्केको तीन महिनासम्म पनि जागिर नपाएपछि डा. विश्वबन्धुले पुतलीसडकमा डा. अवनीभूषण उपाध्यायको क्लिनिकमा खाली समयमा उनकै सल्लाहअनुसार बिरामी जाँच्न थाले । अध्ययनको क्रममा धेरै बिरामी जाँचेको भए पनि नेपालमा पहिलो पटक बिरामी जाँच्नुपूर्व निकै असहजता महसुस भएको उनले सुनाए । त्यसपछि विभिन्न क्लिनिकमा उनले काम गर्दै गए ।
त्यसो त उनको प्राथमिकतामा सरकारी जागिर नै थियो । एक दिन वीर अस्पतालमा डा. वीपी शर्माको सम्पर्कमा पुगे उनी । डा. वीपीले वीर अस्पतालमा डा. विश्वबन्धुलाई २०३९ मा दैनिक ज्यालादारीमा मनोचिकित्सकका रूपमा काममा लगाए ।
एक वर्षसम्म उनले ज्यालादारीमा नै काम गरे । त्यसपछि एक वर्ष अस्थायी जागिरेका रूपमा त्यहाँ काम गरे । त्यो बेला अस्थायी चिकित्सकले मासिक करिब साढे आठ सय तलब भत्तासहित पाइन्थ्यो रे । डा. विश्वबन्धुले डा. वीपीको निगरानीमा धेरै कुरा सिक्ने मौका पाए ।
त्यही बिचमा उनले २०४० तिर बागबजारमा आफैँले क्लिनिक सुरू गरे । अहिले पनि उनी त्यही क्लिनिकमा नै बिरामी हेर्छन् ।
भोजभतेरमा जाँदा समेत मान्छे तर्किन खोज्थे
त्यो बेला मनोचिकित्सकलाई क्लिनिकमा भेट्न पुग्ने व्यक्तिलाई समेत सकारात्मक रूपमा नहेरिने गरेको डा. विश्वबन्धुको अनुभव छ । भोजभतेरमा जाँदा परिचित व्यक्तिहरूसमेत अरूले के भन्लान् भन्ने सोचेर उनीसँग तर्किन खोज्थे रे ।
पढेलेखेकैले समेत पागलको डाक्टर भन्ने सोचले मनोचिकित्सकलाई फरक दृष्टिकोणले हेरिएको अनुभूति छ उनीसँग । त्यसैले अन्य चिकित्सकको तुलनामा मनोचिकित्सकलाई हेर्ने दृष्टिकोण नै त्यो बेला फरक भएको उनले भोगेका छन् ।
त्यति मात्रै कहाँ हो र ¤ कसैले देख्ला की भनेर मनोचिकित्सककहाँ बिरामी सुटुक्क आउने चलन थियो । त्यो चलन कम हुँदै गए पनि अझै हटिसकेको छैन ।
सरकारी जागिरबाट राजीनामा
२०४२ मा भने डा. विश्वबन्धु बल्ल लोकसेवा परीक्षामार्फत सरकारी स्थायी चिकित्सक भई मानसिक अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गर्न थाले ।
सरकारी पद मेडिकल अधिकृत भए पनि उनी मनोचिकित्सक भएकाले मनोचिकित्सककै रूपमा काम गर्थे । निकै भौँतारिएपछि दुःखले त्यो सरकारी जागिर खान पाउँदा उनी खुसी नहुने कुरै भएन । करिब चार वर्षपछि सहायक सचिवको दरबन्दीमा बढुवा भए उनी ।
सहायक सचिव भएको केही समयपछि उनी उप–सचिवमा बढुवा भए । उप–सचिवमा बढुवा भए पनि काठमाडौँमा उनको दरबन्दी खाली थिएन । त्यसैले उनी पोस्टिङ भएर काठमाडौँ बाहिर जानुपर्ने भयो । सरकारले खटाएको ठाउँमा जान पनि उनी तयार थिए ।
विराटनगर, पोखरा, जनकपुर, वीरगञ्ज, भरतपुर, बुटवल, नेपागञ्ज, धनगढीलगायतका ठाउँमा उप–सचिव तहका दरबन्दी खाली थिए । उप–सचिवमा बढुवा भएपछि डा. विश्वबन्धुलाई कहाँ जाने भनेर स्वास्थ्य मन्त्रालयले साधेको पनि थियो । उनले पोखरा वा भरतपुरमध्ये एक ठाउँमा पोस्टिङ मागे ।
मन्त्रालयमा भएको मौखिक सल्लाहअनुसार उनी भरतपुर पोष्टिङ भएर जाने निर्णय भयो । उनले भरतपुर जाने तयारी थाले । भरतपुरमा कसरी मानसिक रोगसम्बन्धी उपचारको व्यवस्था गर्ने भन्ने लगायतको योजनासमेत बनाइसकेका थिए उनले । तर, उनलाई धनगढी पोस्टिङको चिठ्ठी आयो ।
भन्ने बेलामा भरतपुरको चिठ्ठी तयार गरिदिन्छौँ भनेका थिए । उनले भने, “आउने बेलामा धनगढीको आयो ।”
हुन त काठमाडौँ उपत्यका बाहिर सबैतिर मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक थियो । तर, सबै ठाउँमा एकैपटक विस्तार गर्न न जनशक्ति थिए न पूर्वाधार नै । त्यसैले सुरूमा काठमाडौँ बाहिर पोखरा वा भरतपुरमा भए मानसिक स्वास्थ्यको सेवा सुरू गर्न सकिन्छ भनेर त्यहाँ जान चाहेका थिए डा. विश्वबन्धु ।
अन्य विकल्प हुँदा–हुँदै आफूलाई नै रोजाएपछि अकस्मात धनगढी पोस्टिङ गरेपछि उनलाई त्यहाँ जान मन लागेन । पूर्वसल्लाहविपरीत पोस्टिङ गरिएकाले धनगढी नजाने भन्दै अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा राजीनामा पत्र पठाए उनले ।
म जान्न भन्दिएँ। त्यसपछि कहीँ नगई अटेरी भएर बसेँ । उनले सुनाए, “कि त पहिल्यै धनगढी जाm भनेको भए म जान्थेँ होला ।”
त्यसपछि डा. विश्वबन्धुलाई सरकारी जागिर नै खान मन लागेन । मौखिकरूपमा समेत उनलाई धनगढी जान अनुरोध नगरिएको हैन । तर, उनी त्यहाँ नगई वास्तै नगरी बसे । उनले त्यो विषयलाई धेरै खोतलेनन् । न त त्यस विषयमा चासो नै लिए ।
२०५० मा सरकारी जागिर छाडेका उनले अहिलेसम्म पनि सरकारी जागिर खाएका छैनन् । जागिर छाडेको केही समयपछि तत्कालीन स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधर हुँदा सरकारी जागिरलाई निरन्तरता दिनका लागि उनलाई खबर आएको थियो । तर, डा. विश्वबन्धुले सरकारी जागिर खाने इच्छा नभएको भन्दै राजीनामा स्वीकृत गरिदिन अनुरोध गरे । जागिर छोडेको लामो समयपछि मात्रै आफ्नो राजीनामा स्वीकृत भएको उनले सुनाए ।
निकै दुःखले खाएको सरकारी जागिर छाड्नुपर्दा उनलाई असहजता त महसुस भयो नै । तर, पहिलो गाँसमै ढुङ्गा लागेपछि उनलाई फेरि कहिल्यै सरकारी जागिरप्रति मोह जागेन ।
मनोचिकित्सक डा. विश्वबन्धु निरन्तर मानसिक समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण, उपचारमा तथा मनोपरामर्शमा सक्रिय छन् । पेशागत तथा जीवनको भोगाइको अनुभवलाई समेटेर उनले ‘मान्छेको मन’ पुस्तकसमेत प्रकाशित गरेका छन् ।
मानसिक रोगको समस्यामा परेका व्यक्तिको उपचार गरी बचेको समयमा डा. विश्वबन्धु दर्शनशास्त्र, इतिहास, उर्दु विकास, मानवशास्त्र, समाजशास्त्र, भाषा विज्ञानजस्ता विषय अध्ययन गर्न रूचाउँछन् ।
स्रोत ः ओकेरा डट कम
Leave a Reply