भर्खरै :

सङ्लो राजनीति नभएसम्म मुलुक समृद्ध नहुने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ढिलो चाँडो नतिजा आउँछ । दुर्गम स्थानबाट मतपेटिका ओसार्ने काम भइरहेको छ । स्थगित भएको मतदान केन्द्रमा कहिले मतदान सुरु गर्ने भन्नेबारे आयोगले तयारी गरिरहेको छ । मतदान सम्पन्न भएको ठाउँमा मतगणना सुरु भइसकेको छ । मतगणनाको परिणाम पनि सार्वजनिक भइरहेको छ । सबै मतदान केन्द्रको नतिजा आइसकेपछि नयाँ सरकार बन्ने छ । नयाँ बन्ने सरकार र सांसदहरूले आ–आफ्नो दलले जारी गरेको घोषणापत्र, अपिल या निर्वाचनमा व्यक्त प्रतिबद्धता लागु गर्नुपर्छ । जनताले विश्वास गरेर निर्वाचित गरेपछि प्रतिबद्धता लागु गर्नु हरेक दल र सांसदहरूको जिम्मेवारी हो, त्यो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ ।
दलको घोषणापत्र या प्रतिबद्धता ५ वर्षभित्र आफूले काम गर्ने वाचापत्र हो । त्यो वाचा पूरा गर्न दल अघि बढ्नुपर्छ । दलको घोषणापत्र लागु गर्न अब बन्ने सरकार अघि बढेन भने त्यो फेरि अर्काे धोका हुनेछ, विश्वासघात हुनेछ । अबको सरकार आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन । घोषणापत्रअनुसार काम नगर्ने, जिम्मेवारी पूरा नगर्ने दल र दलका सांसदहरूले अब जनतालाई विश्वासघात गर्नुहुँदैन । विश्वासघात गर्छन् भन्ने उनीहरू सजात्रगी हुनुपर्छ । निर्वाचित सांसदहरू असल, इमानदार, निःस्वार्थी र देश र जनताप्रति जिम्मेवार भएमा निश्चय नै घोषणापत्र व्यवहारमा लागु हुन्छ । अब तिनीहरू आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन । सरकार बनेपछि चल्ने प्रतिनिधिसभाको बैठक छोडेर कुनै पनि सांसद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाको बैठकमा सरिक हुने छैनन् र कुनै पनि सांसदले अब आ–आफ्नो पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने छैनन् भन्ने जनताको विश्वास हो । मन्त्री बन्नको निम्ति आ–आफ्नो दल त्यागेर अर्काे दलमा नलाग्ने जनताको विश्वास छ । गठबन्धन सरकारको नाउँमा आफ्नै दल र दलबिच मन्त्री भाग नमिलेर महिनौँसम्म सरकारलाई पूर्णता नदिई देशलाई अन्योल बनाइने छैन । मन्त्री बन्न अब तिनीहरू तँछाडमछाडको स्थितिमा पुग्ने छैनन् ।
निर्वाचित अन्य सांसदहरू नेमकिपाका सांसदहरूझैँ सिद्धान्त र विचारमा अडिग रहेर देश र जनताको हितमा इमानदारीपूर्वक काम गरिरहून् भन्ने जनताको इच्छा हो । उनीहरू देश र जनताको भलोमा निरन्तर लागिरहून् । देश विकास गर्न र बहुमत जनताको हित गर्न आवश्यक ऐन कानुन बनाउनेतर्फ सम्पूर्ण सांसदहरूको ध्यान पुगोस् । गएको ५ वर्षमा जनतामा छाएको निराशा अन्त्य गर्न अबका निर्वाचित सांसदहरूले काम गरेर देखाउनुपर्छ । तर, पुँजीवादी बन्दोबस्तका नेता, मन्त्री र सांसदहरूले इमानदारीपूर्वक देश र जनताको सेवा गर्लान् भन्नेमा जनता विश्वस्त छैनन् । स्थिरता र समृद्धिको नारा दिएर झन्डै दुईतिहाइ मत प्राप्त सरकार लामो समयसम्म टिक्न सकेन । सरकारमात्र असफल भएको होइन दल नै टुक्रियो । शक्तिशाली सरकारले पनि केही गर्न सकेन । सम्भवतः अहिले पनि गठबन्धनकै सरकार बन्ने छ । विगतका कमी कमजोरी औँल्याएर सङ्लो राजनीति नगरेसम्म मुलुक समृद्ध हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *