भर्खरै :

अब बन्ने गठबन्धनको सरकार झन् भद्रगोल हुने

अब बन्ने गठबन्धनको सरकार झन् भद्रगोल हुने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा दुई ठूला दलको नेतृत्वमा भएको गठबन्धनले अब बन्ने सरकारको नेतृत्व पनि गठबन्धनकै हुने प्रवल सम्भावना छ । अहिलेको राजनीतिक गठबन्धनले देशको राजनीतिक अवस्था हालको भन्दा फरक हुनेछैन । गठबन्धनको सरकारले देशमा दिशा निर्देश गर्न सक्दैन या निश्चित बाटो दिन सक्दैन । गठबन्धनमा सहभागी दलहरूको विचार समेट्दा सरकारले बनाउने नीति तथा कार्यक्रम र बजेट पनि न यता न उताको झैँ सिङ न पुच्छरको हुनेछ । देशको विकास क्रमशः हुनुपर्ने हो । तर, शासक दलका नेताहरूको आफूखुसी राजनीतिले गर्दा देशको अवस्था अझै नाजुक हुनेमा शङ्का छैन ।
मानौँ, नेकाको नेतृत्वमा बनेको गठबन्धनले सरकार बनायो भने शेरबहादुर देउवालाई प्रमको निरन्तरता दिने कि माओवादी केन्द्रका पुष्पकमल दाहाललाई प्रम बनाउने भन्ने सवालमा विवाद हुँदैन कसरी भन्ने ¤ निर्वाचनताका नै माओवादी अध्यक्ष दाहालले आफू प्रम बन्न चाहेको विचार व्यक्त गरेका थिए । एमालेको नेतृत्वमा रहेको तालमेलले निर्वाचनमा बहुमत पाए केपी ओली प्रम हुनेमा शङ्का छैन । तर, त्यो सरकारमा राजावादी राप्रपामा पनि सामेल हुनेछ । राजावादी राप्रपामा संलग्न भएको एमालेको नेतृत्वको सरकारले देश कसरी हाँक्ला ? कम्युनिस्ट पार्टी भन्ने एमालेले राजावादी दल बोकेर नेपालमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्छ ? कम्युनिस्टको सरकार कसरी बन्छ ? राजावादी दललाई बोकेर बनाइएको एमालेको नेतृत्वमा बनेको सरकार कसरी कम्युनिस्टहरूलाई पच्छ ? यसरी दुई ठूला दल नेका र एमालेले गठबन्धनको नेतृत्व गर्नुको अर्थ सरकारको नेतृत्व गर्न नै हो, सत्तामा भागबन्डा पाउन नै हो ।
नेकाभित्र शेरबहादुर देउवा प्रवृत्तिको विरोध गर्ने असन्तुष्ट नेता कार्यकर्ताको सङ्ख्या पनि कम छैन । नेकाका महामन्त्री गगन थापा सभापति देउवाविरूद्ध लागेका छन् । महामन्त्री थापा आफै प्रम बन्न लालायित भइरहेका छन् । तर, पनि नेकाभित्र देउवाकै दबदबा बढी छ । सभापति देउवाले त्यति सजिलै माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रम बनाउन मञ्जुर गर्दैनन् । सरकारको नेतृत्व नयाँ पुस्तालाई दिने सम्भावना पनि छैन । प्रम जुन दलको भए पनि विचार र सिद्धान्त नमिल्ने दलहरूको गठबन्धनको सरकार कसरी गतिलो हुन्छ ? त्यस्तो सरकारले न स्पष्ट विचार राख्न सक्छ न त स्पष्ट दृष्टिकोण नै अघि राख्न सक्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *