भर्खरै :

सिद्धान्त र विचारको राजनीति नगर्दा कम प्रतिशत मतदान

सिद्धान्त र विचारको राजनीति नगर्दा कम प्रतिशत मतदान

निर्वाचन आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने अनुमान गरेको थियो । तर, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा देशभर करिब ६१ प्रतिशतमात्रै मत खस्यो । महत्वपूर्ण कुरा आयोगको अनुमान सही या गलतभन्दा पनि ६१ प्रतिशतमात्रै मत किन खस्यो ? ३९ प्रतिशत मत नखस्नुका कारण के के होला ? विचारविमर्श गर्नुपर्छ । यही विषयमा राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले अनेक विचार मन्थन गर्न थालेका छन् । शासक दलहरूले घोषणापत्रअनुसार काम नगरेको, सिद्धान्त र विचारको राजनीति नगरेको, देश र जनताको सेवाभन्दा व्यक्तिगत र दलगत राजनीति गरेको, राजनीति भागबन्डामा केन्द्रित भएकोले सबै शासकहरू उस्तै उस्तै हुन् भन्ने भावनाले गर्दा जनतामा निराशा छाएकोले मत कम खसेको एक थरीको आकलन छ ।
रोजगारीको सिलसिलामा युवाहरू विदेशमा पलायन हुनु र अध्ययनको क्रममा विदेश पसेकाले पनि मतदान कम भएको बताइएको छ । कति मतदाताहरू बिते, कति मतदाताहरू बसाइँ सरे त कति मतदाता बिहेसँगै अन्य क्षेत्रमा लागे । यसले पनि मत कम खसेको आकलन गरिएको हो । जनतामा राजनीतिक चेतनाको कमी भएकोले पनि कम मत खसेको अर्काे थरीको आकलन छ । महत्वपूर्ण कुरा शासक दलहरूको फोहरी राजनीति र जनतामा राजनीतिक चेतनाको कमीले गर्दा कम मत खसेको आकलनलाई होइन भन्न सकिँदैन । सबै राजनीतिक दलले जनतालाई राजनीतिक चेतना नदिई पैसा, धाकधम्की र लोभलालच देखाउने राजनीति गर्दा मत कम खस्नु स्वाभाविक हो । नेमकिपाले सिद्धान्त र विचारको राजनीति ग¥यो, जनतालाई सुसूचित पार्ने काम ग¥यो । तर, अरू दलहरूले त्यो भूमिका निर्वाह गरेनन् । सतही राजनीति गरेर मत हात पार्ने काम ती दलका नेता तथा कार्यकर्ताहरूले गरे ।
एकातिर मत प्रतिशत कम खस्यो भने अर्काेतिर बदर मत पनि बढ्ने आशङ्का गरिएको छ । सरकार या निर्वाचन आयोगले मतदाता शिक्षामा करोडौँ रकम खर्च गरे पनि जनताको घर आँगन पुगेर मतदाता शिक्षा दिन सकेन । मतदाता शिक्षा घर आँगनमा पु¥याउन नसकेको कारण बदर मत बढ्ने आशङ्का गरिएको हो । कति प्रतिनिधिसभा र प्रदेशसभामा थोरै मतले सभासद् सदस्यहरूको हारजित हुन्छ । त्यस्ता स्थानमा बदर मतले जित्ने व्यक्ति हार्ने र हार्ने व्यक्ति जित्ने सम्भावना हुन्छ । स्थानीय मतदाता सबैले मतदान नगर्दा पनि हारजितमा अदलबदल हुने सम्भावना हुन्छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दलले यसतर्फ विशेष ध्यान दिनुपर्छ । सम्बन्धित निकाय या सरोकारवाला निकाय किंकर्तव्यविमूढ भएमा यस्ता कमी कमजोरीहरू पछि पनि दोहोरिरहने छन् । यसकारण, सम्बन्धित सबै पक्षको यसमा ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *