भर्खरै :

नेमकिपा – देशको स्वाधीनता र सार्वभौमिकताको पक्षमा लड्ने पार्टी

नेमकिपा – देशको स्वाधीनता र सार्वभौमिकताको पक्षमा लड्ने पार्टी

मङ्सिर ४ गते देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्णरूपमा भयो । यो पालिको निर्वाचनमा जनसहभागिता ओरालो लागेको देखिएको छ । निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक नतिजाअनुसार यो निर्वाचनमा देशभरबाट ६१ प्रतिशत मतदाताले मतदान गरे । जुन २०७९ जेठ ३१ गते सम्पन्न स्थानीय निकायको निर्वाचनभन्दा १० प्रतिशतले घटी छ । त्यसबेला देशभरबाट मतदान गर्ने मतदाता ७१ प्रतिशत थियो । शासक दलहरूले एमसीसी र नागरिकता विधेयक पास गरेर देशघाती काम गरे । उनीहरूले देश र जनताको लागि केही काम गर्न नसक्नु यसको परिणाम हो । देशको राजधानी काठमाडौँमा या सचेत र बौद्धिक वर्गको बाहुल्यता भएको भनिएको ठाउँमा ५५ प्रतिशतमात्र मत खस्यो । तर, भक्तपुरमा ७२ प्रतिशत मत खस्यो ।
भनिन्छ, निर्वाचन प्रजातन्त्रको जग सौन्दर्य र जनभावना पनि हो । जहाँ जनतालाई मन परेको उम्मेदवार र दललाई विनारोकटोक, लोभ, दबाब मतदान गर्ने वातावरण हुन्छ । सबैले जनतामा गएर प्रचार र मतदान गर्ने हक हुन्छ । प्रजातन्त्रलाई विश्वास गर्ने सबै उम्मेदवार र दलले त्यसलाई सम्मान गर्नुपर्छ । तर, रोल्पा, डँडेल्धुरा, चितवनलगायतका केही जिल्लामा नेमकिपाका उम्मेदवारलगायतका अन्य उम्मेदवारहरूलाई ठूला शासक दल भनिएका दलका कार्यकर्ताले प्रचार गर्न, जनतामाझ जान अवरोध र अपहरण गर्ने धम्की दिए । भक्तपुरमा सबै दल र स्वतन्त्र उम्मेदवार सबैले सबै ठाउँमा, जनतामा गएर प्रचारप्रसार गरेका छन् । कहीँकतै रोकटोक र धम्की दिइएको छैन ।
प्रजातन्त्रको भावना र मर्म अनुकूलको निर्वाचन भक्तपुरमा विगतदेखि हुँदै आएको छ भन्दा फरक नपर्ला । यो जिल्ला देशको रक्षा, देशको स्वाधीनता र सार्वभौमिकताको पक्षमा लड्दै आएको जिल्ला हो । दललाई प्रतिबन्ध गरेको अवस्थामा पनि नेमकिपाले निर्वाचनलाई विभिन्न बैठक, सभामार्फत जनतालाई राजनीतिकरूपले विश्वविद्यालयको कक्षाजस्तो सचेत पार्ने काम गरेकोले २०३६ सालको जनमतसङ्ग्रहमा भक्तपुरमा ८० प्रतिशत जनताले बहुदलको पक्षमा मत दिए । नेमकिपाले भक्तपुरलगायत आफ्नो प्रभाव रहेका जिल्लाहरूमा पैसा बाँड्ने, सामान बाँड्ने, लोभ देखाउने, आश्वासन बाँड्ने, धम्की दिने काम कहिल्यै गरेका छैनन् । तर, यसले चुनावमा जनतालाई एउटा कुरा भन्ने पक्कै बाँडेको छ– त्यो हो विचार अनि देशभक्ति भावना ।
नेमकिपाले गाउँ सहरमा गएर सबै दल, जनतालाई आफ्नै खुट्टामा उभ, विदेशीको अगाडि नझुक भन्दै आएको छ । नेमकिपाले एमसीसी र एसपीपी विकासको नाउँमा देश सिध्याउन आएको कुरा जनतामाझ पु¥याउँदै छ । नागरिकता विधेयक पनि देशघाती हो । पुर्खादेखि बस्दै आएका आदिवासी तराईका नेपाली जनतालाई नागरिकता दिनैपर्छ । तर, विदेशीलाई दिनुहुँदैन । देशको स्वाधीनता र सार्वभौमिकतासँग जोडिएको नागरिकता कुनै पनि विदेशीलाई बसको टिकटजस्तो सजिलै दिनुहुँदैन । यस्तो देशघाती कामले नेपाल सिक्किम र फिजी हुने सम्भावना छ । नेपाललाई त्यस्तो हुनबाट बचाउन नेमकिपाले जनतालाई सचेत पार्दै आएको हो ।
प्रतिनिधिसभामा नेमकिपाका प्रेम सुवालले प्रखर प्रतिपक्षी भएर नेपाली माटोको रक्षा, देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन, देशको विकृति र विसङ्गतिको विरोधमा रोस्टममा गौरवका साथ उभेर वकालत गरेको सञ्चारमाध्यममा सबैले देखेकै हुन् । नेमकिपाले जस्तो अरू दल र जनप्रतिनिधिहरूले प्रतिनिधिसभा र प्रदेशसभामा भूमिका निभाएको भए देश आज यो हालतमा पुग्ने थिएन । देशमा विदेशीको हालीमुहाली चल्ने थिएन । देश विदेशीले चलाउने थिएन । देश परनिर्भर हुने थिएन । जनताले यतिको दुःख, पीडा भोग्नुपर्ने थिएनन् ।
निर्वाचनमा हरेक पटक ७०÷८० प्रतिशत भक्तपुरका जनताले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्दै आएका छन् । यहाँका सचेत मतदाताले नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजय गराउँदै आएका छन् । यहाँका जनताले नेमकिपाका उम्मेदवारहरूलाई त्यसै मत दिएर जिताएका होइनन् । नेमकिपाले माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ विचार बोकेको छ । यसले देशभरका जनतालाई वर्गीय चेतना दिँदै आएको छ । भ्रष्टाचार, शोषण, अन्याय, विदेशी थिचोमिचोको विरोधमा नेमकिपाले जनतालाई सचेत पार्दै आएको छ । नेमकिपा निर्वाचनबाट समाजवाद आउने कुरामा विश्वास गर्दैन । यसले देश र जनताको हितमा निर्वाचनलाई सधैँ उपयोग गर्दै आएको छ । यसले निर्वाचनलाई क्रान्तिकारी प्रयोग गर्दै आएको छ । यसले व्यक्तिगत र दलगत स्वार्थ हेर्दैन । यसले समाज, देश र जनताको स्वार्थ हेर्छ । यसले भक्तपुर र देशभरका जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा दिँदै आएको छ । देशभरका जनतालाई सस्तो, गुणस्तरीय, सहज, स्वास्थ्य सेवा ख्वप अस्पतालमार्फत प्रदान गरिरहेको छ । भक्तपुर नगरपालिकाको सामान्य अनुरोधमा रातारात अक्सिजन प्लान्ट स्थापना गर्न रातारात आर्थिक सहयोग गर्ने सहयोगी हातको जनताको गुणको बदलामा हालसम्म सबै पीडित जनतालाई अक्सिजन निःशुल्क वितरण गर्दै आएको छ । यसबाट धेरै जनताको ज्यान जोगियो । नगरपालिकाले घर–घरमा नर्सिङ सेवा दिने काम गर्दै आएको छ । विदेशीको सहयोगविना यहाँका सांस्कृतिक धरोहरहरू ठड्याउँदै छ । यसरी नेमकिपाका जनप्रतिनिधिहरूले आफ्नै खुट्टामा उभेर आफ्नै बलबुट्टाले जनताको सहयोगमा स्वाधीन भएर देश बनाउने प्रयत्न गर्दछ । यसका जनप्रतिनिधिहरूले घुस खाँदैनन् र भ्रष्टाचार गर्दैनन् । उनीहरूले घुस खाने, भ्रष्टाचार गर्नेहरूलाई उदाङ्ग्याउने काम सदन र सडकमा गर्दै आएको जनताले देखेका छन् ।
निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूले आफ्नो खर्च गर्दैनन् । उनीहरू सबै जनताबाट घरदैलो गरेर, घर घरमा, चोक चोकमा सभा बैठकहरू राख्छन् । जनतामाझ राजनीतिक कक्षाहरू सञ्चालन गरेर त्यही दस, बीस, सय आर्थिक सहयोग उठाएर खर्च गर्दै आएको जनताले हेर्दै छन् । यसका उम्मेदवारहरू देश, जनता र पार्टीप्रति उत्तरदायी छन् । यसपालिको निर्वाचनमा हिमाल, पहाड र तराईका सचेत जनताले चुनाव भनेको भक्तपुरको जस्तो हुनुपर्ने, उम्मेदवारहरू नेपाल मजदुर किसान पार्टीको जस्तो हुनुपर्ने, नेता भनेको नारायणमान बिजुक्छँे (रोहित) जस्तो र पार्टी भनेको नेपाल मजदुर किसान पार्टीजस्तो हुनुपर्ने विचार राखेका छन् । ढिलो चाँडो परिवर्तन आवश्यक छ । तर, समयलाई पर्खनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *