साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
काठमाडौँ, ७ मङ्सिर । ‘के संरा अमेरिका प्रजातान्त्रिक देश हो’ भन्नेबारे कलेज र विद्यालयका कक्षा कक्षामा होस् वा वादविवाद र स्वतन्त्र भाषणको कार्यक्रममा होस् नेपाली युवाहरूमा बरोबर छलफल हुने गरेको सुनिन्छ । त्यसको पक्षमा बोल्ने युवाहरू तलका बुँदाहरू अघि सार्छन्–
(क) संविधान र ऐनकानुनअनुसार राष्ट्रपति र प्रतिनिधिसभाको बरोबर निर्वाचन हुन्छ । त्यसै राज्यका प्रतिनिधि र गभर्नरहरूको पनि जनताले निर्वाचन गर्छन् ।
(ख) राष्ट्रपति वा अन्य निर्वाचित प्रतिनिधिहरूले ऐन, कानुन र संविधानको धाराहरूलाई तलमाथि गरेको खण्डमा तुरुन्तै सर्वोच्च अदालतले अर्थात् तिनीहरूको सङ्घीय अदालतले आफ्नो निर्णय दिन्छ । उदाहरणको निम्ति राष्ट्रपति निक्सन अरूको कार्यालयमा जासुसी गर्न दिएकोमा वाटर गेट काण्डकै कारण राजिनामा दिन बाध्य भए । त्यस्तै राष्ट्रपति क्लिन्टन एउटी महिला कर्मचारीसँगको काण्डमा राजिनामा दिन बाध्य भए ।
(ग) एक अश्वेत युवक जर्ज फ्लोयडको काण्डमा ज्यादती गर्ने प्रहरीहरूलाई अदालतमा उभ्याइयो ।
घ) बाइडेन र ट्रम्पको निर्वाचनमा धाँधली भयो भनी ट्रम्प पक्षले ह्वाइटहाउसमा उपद्रव गर्नेहरूलाई अदालतमा उभ्यायो ।
ङ) विदेशमा भएका अमेरिकी नागरिकहरूले पनि एक महिना अगाडिदेखि हुलाकबाट मतदान गर्ने बन्दोबस्त छ ।
संरा अमेरिकामा प्रजातन्त्र छैन भनी विपक्षमा बोल्ने युवाहरूको अभिमत यस्ता छन्–
(क) प्रजातन्त्रको कसी अध्यावधि निर्वाचन हुन्छ हुन्न वा निर्वाचनका उम्मेदवार हुन पाउने र नपाउने तथा मत दिन पाउँछ कि पाउदैन भन्ने विषयले सबै निर्णय गर्न सक्दैन । निर्वाचनमा उम्मेदवार बन्नको निम्ति लाखौँ डलर खर्च हुन्छ, जसलाई गरिब जनताले ठेग्न सक्दैनन ।
(ख) उम्मेदवारहरूले प्रचार गर्न यातायात खर्च, खाना र पत्रपत्रिकालाई विज्ञापन दिने लाखौँ करोडौँको खर्च गरिब जनताले गर्न असम्भव हुन्छ । यसकारण, गरिबहरू अमेरिकी माथिल्लो पदको निर्वाचनमा जित्ने सम्भावना एक प्रतिशत पनि हुने गर्दैन । (ग) उजुर गर्न र मुद्दा लड्न पनि वकिललाई ठूलो रकम चाहिन्छ, गरिब जनताले त्यस्तो खर्च जुटाउन असम्भव हुन्छ । यसकारण, त्यहाँ चुनाव लड्न पाइन्छ भनेको गरिबहरूले ‘पैसा भए मोजमज्जा गर्न र मिठो खान पाइन्छ भन्नेजस्तै हो ।
माथिका विषयबाहेक एक प्रजातान्त्रिक सरकारले तलका काम किन गर्छ र के त्यो प्रजातान्त्रिक क्रियाकलाप हो ?
१) संरा अमेरिकाले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूको आन्तरिक मामलामा हस्तक्षेप गर्नु के प्रजातन्त्रको चरित्र हो ?
२) अन्य देशहरू, झन्डै २ सय देश र क्षेत्रमा अमेरिकी सेना खटाउनु कुन प्रजातान्त्रिक नैतिकता हो ?
३) चीनको अभिन्न अङ्ग थाइवान, हङकङ, छिङच्याङ र तिब्बतबारे संरा अमेरिकाले प्रश्न उठाएर आफ्ना प्रतिनिधिसभाको सभामुखलाई गैरकानुनी ढङ्गमा प्रवेश गराउनु, सैन्य सहयोग गर्नु र लडाइँको निम्ति सैन्य अभ्यास गर्नु कुन प्रजातान्त्रिक अधिकार हो ?
४) त्यस्तै क्युवाको ग्वान्टानामो टापुमा अमेरिकी अमानवीय जेलखाना कायम गर्नु र ल्याटिन अमेरिकी देशहरूमाथि आर्थिक नाकाबन्दी गर्नु कुन मानवतावादी सिद्धान्त र प्रजातन्त्र हो ? के बलको राज्यलाई नै प्रजातन्त्र भनिन्छ ?
५) अन्य देशमा अमेरिकाले झमेला झिकेजस्तै नेपालका कुनै नागरिकले संरा अमेरिकामा अश्वेतहरूविरुद्ध ठूलो अन्याय भइरहेको छ भनी आरोप लगाएमा के अमेरिकी सरकारले यसलाई सकारात्मकरूपले हेर्ला ? अमेरिकी लाखौँ आदिवासी, दक्षिण अमेरिकी हिस्पेनियाली जनता, एसियाली र अन्य देश र महादेशका आप्रवासीहरूलाई भेदभाव गरेको दाबी गरेमा के अमेरिकी सरकारले त्यस्ता प्रवासीहरूलाई पुरस्कार दिनेछ ?
संरा अमेरिकामा आर्थिक समानता नभएको हुनाले अन्य प्रजातान्त्रिक अधिकारहरू देखाउने दाँत’ मात्र हुन् । उदाहरणको निम्ति नयाँ आप्रवासीहरूलाई ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त’ छैन । १ हजार डलर दिनुपर्ने व्यक्तिलाई मुश्किलले १००–२०० डलरमात्रै दिनु के शोषण भएन ? अमेरिकी प्रजातन्त्रको अर्थ करोडपति र अरबपतिले शोषण गर्ने अधिकार राख्छ र कमजोर जनताले शोषित हुने अधिकार पाउनु भनेजस्तो हो ? के यही हो संरा अमेरिकाको प्रजातन्त्र ? के श्वेत सर्वोच्चता नै अमेरिकी प्रजातन्त्र हो ?
Leave a Reply