नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ५
- कार्तिक १६, २०८३
काठमाडौँ, ७ मङ्सिर । नेकाबाट मनाङ जिल्लाको प्रतिनिधिसभा सदस्यमा निर्वाचित टेकबहादुर गुरूङलाई यसअघि श्रम तथा रोजगार मन्त्री हुँदा भृकुटी मण्डपको ६० रोपनी जग्गा बहालमा अर्बौँ रूपियाँ भ्रष्टाचारको आरोप लगाइएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५सालमा गुरूङविरूद्ध ३१ करोड रूपियाँ बिगो भराउने गरी विशेष अदालतमा मुद्दा दायर गरेको अहिले विचाराधीन छ । भ्रष्टाचारको आरोप लागेका व्यक्ति निर्वाचित भए पनि मुद्दाको अन्तिम फैसला नभएसम्म निलम्बित हुन्छ । यसकारण, गुरूङ पनि निलम्बित नै हुनेछ ।
यसअघि सञ्जय यादव, महम्मड अफताव आलम, रेशम चौधरीलगायत विरूद्ध फौजदारी अभियोगमा अद्दालतमा मुद्दा विचाराधीन भएको हुँदा संसद् सदस्यबाट निलम्बनमा परेका थिए ।
निर्वाचनको दिन मङ्सिर ४ गते मतदान केन्द्रमा मेच–टेबुल बिहान भिजेको अवस्थामा थियो । कतिपय मतदान केन्द्रमा बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरू गर्न बिहान ५ बजेदेखि मुचुल्का बनाउन सजिलो थिएन । काठमाडौँ उपत्यकामै चिसोको कारण कतिपय मदान केन्द्रमा बिहान ७ बजे मतदान सुरू भएन । दोलखाको केही मतदान केन्द्रमा मतदाता नआएको निहुँ राखी साँझ ४ बजे नै मतपेटिका बन्द गरी सदरमुकाम पठाइएको थियो ।
मङ्सिर ६ गतेका अखबारहरूमा २०४८ देखि २०७४ को संसद्मा पार्टीहरूको उपस्थिति र सांसद सङ्ख्या उल्लेख थियो । तर, २०४८, २०५६, २०७०, २०७४ को विवरणमा संसद्मा प्रतिनिधित्व गरेको नेपाल मजदुर किसान पार्टीको नाम उल्लेख गरिएन । नेमकिपाले संसद्मा राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोण सार्वजनिक गर्दै प्रखर प्रतिपक्षको जिम्मेवारी निर्वाह गरेको सबैलाई अवगत भएको हो ।
उदयपुर २, काठमाडौँ १, काठमाडौँ ४, मनाङ, मुस्ताङ, ललितपुर २ लगायतको प्रतिनिधिसभा सदस्यको अन्तिम परिणाम प्रकाशित भयो । केही प्रदेशसभा संसद्को पनि मत परिणाम प्रकाशित भयो । तर, आम मतदाताहरू एउटा गुण्डाको ठाउँमा अर्को अपहरणकारी र एउटा जँड्याहाको ठाउँमा अर्को जँड्याहाको रूपमा निर्वाचितहरूको काम कारबाही हुने त होइन भनी चिन्ता देखिन्छ ।
सिन्धुपाल्चोकका ६० परिवार अर्थात् २ सय मतदाताले मङ्सिर ४ गतेको निर्वाचन बहिष्कार गरेको खबर छ । मतदान अधिकृतले बाजुराको बुढीनन्दा–५ को पुनः मतदान गर्ने निर्णय गरे पनि नेकाबाट ८ र एमालेबाट १६ मतदान केन्द्रको पुनः मतदानको माग गरिएको खबर छ ।
निर्वाचनको दिन बाजुरामा सञ्जीव ऐडीको प्रहरी गोलीबाट हत्या भएपछि आक्रोशित काङ्ग्रेसी समर्थकहरूले राति त्रिदेवी – ७ का एमाले समर्थित अनेरास्ववियुका चेतन ऐडीको हत्या गरेको खबर छ । अनेरास्ववियुले चेतनका हत्याराहरूमाथि कारबाही नभएसम्म आन्दोलन चालु राख्ने विज्ञप्ति जारी गरी बजार बन्द घोषणा गरेको छ ।
रूकुम पश्चिमका एमाले उम्मेदवारले सत्ता गठबन्धनलाई सात वटा मतदान केन्द्र कब्जा गरेको आरोप लगाई पत्रकार सम्मेलन गरे ।
कर्मचारीको गल्तीको कारण सुर्खेतको सिम्ता गापा ६ मा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको बाकसमा खसालिएपछि तीन वटा मतदान केन्द्रको मतदान रद्द गरिएको थियो ।
Leave a Reply