भर्खरै :

नेपालका इतिहासकारहरू–कोत पर्वहरू कहिल्यै नदोहोरियोस् भन्ने चाहन्छन्

नेपालका इतिहासकारहरू–कोत पर्वहरू कहिल्यै नदोहोरियोस् भन्ने चाहन्छन्

भक्तपुर, ७ मङ्सिर । शासक दलहरू हरेक निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्छन् । यही मङ्सिर ४ गतेको निर्वाचनमा पनि यिनीहरूले उम्मेदवारी दर्ता गर्ने दिन असोज २३ गते बाजागाजा बजाई २५ जनाभन्दा बढी सहभागी गराई आचारसंहिता उल्लङ्घन गरे । निर्वाचन प्रचारमा मतदातालाई भोज खुवाउने, खामभित्र पैसा राखेर बाँड्ने, मोटरसाइकलमा तेल भरिदिने र कतिपय शासक उम्मेदवारले मोटरसाइकल नै बाँड्ने काम गरे । प्रम शेरबहादुर देउवाले आफ्नो जिल्ला डडेलधुरामा प्रतिव्यक्ति ५ हजार रूपैयाँ बाँडेको ‘न्युज ट्वान्टी टु’ टेलिभिजनमा प्रसारित भयो । काठमाडौँ क्षेत्र नं. ५ मा एमालेका इश्वर पोखरेलले आफ्नो पार्टीका प्रदेशका उम्मेदवार र बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमार्फत पैसा बाँडेको सामाजिक सञ्जालमा फैलियो । निर्वाचनमा शासक दलहरूले सरकारी हेलिकप्टर र गाडी दुरूपयोग गरेको पनि समाचार प्रकाशित भयो । चितवनमा माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको मत छोरी गंगा दाहालले खसालेको र धादिङको बेनिघाट रोटाङमा एकै व्यक्तिले ३०—४० पटक मत खसालेको समाचार प्रकाशित भयो ।
निर्वाचनको दिन शासक दलका उम्मेदवारहरूले मतदात केन्द्र डुलेर मोबाइल साथमा लिएर तस्बिर खिचे भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरिएको मतपत्रसमेत बिहान १० बजेतिरै सामाजिक सञ्जालमा सार्वजनिक भयो । तर, भक्तपुरकै श्री पद्म मावि र मेधा माविमा प्रतिपक्षी पार्टीका उम्मेदवारहरूलाई मतदान केन्द्रको घेराभित्र पस्न नदिने, साथमा भएको मोबाइल बोक्न नदिने, उम्मेदवार र मतदातालाई जीउ खानतलासीको नाममा हुर्मत लिने काम गरियो ।
मतदानकै दिन सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरूलाई मतपत्र भएको बाकस बुझाउनुपर्नेमा दैलेख ठाटिकाँठका मतदान अधिकृत सुत्न गए र मतपत्रको बाकस प्रहरी चौकीमै रातभरि राखियो ।
मतपेटिका सम्बन्धित क्षेत्रमा पु¥याइएपछि भक्तपुर क्षेत्र नं. २ मा सोही राति नै मतगणना सुरु गरियो तर भक्तपुर क्षेत्र नं. १ मा मतपेटिका बुझिलिएका सम्बन्धित निर्वाचन अधिकृतले भोलिपल्ट बिहानमात्र मतगणना गर्ने निर्णय सुनाए । एउटै जिल्लामा दुई किसिमको निर्णय किन गरियो ? यसबारे शान्ति सुरक्षाको जिम्मा लिएका गृह मन्त्रालय, नेपाल प्रहरी, निर्वाचन आयोग कसैसँग जवाफ भएन ।
भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारको मतपत्रमात्र गणना गरियो भने समानुपातिक मतपत्रको गणना गरिएन । मङ्सिर ५ गते बिहान भक्तपुर क्षेत्र नं. १ को चाँगुनारायण नगरपालिकाको वडा नं. १ देखि प्रत्यक्ष र समानुपातिक चारओटै मतपत्र गणना गरियो । तर, क्षेत्र नं. २ मा नेका र एमालेको मत परिणाम निकट भएपछि मङ्सिर ६ गते सर्वदलीय बैठक बोलाई समानुपातिक मत पनि गणना गर्ने सहमति गरियो । यसरी निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र प्रहरीलाई शासक दलहरूले प्रभावमा पारेको पुष्टि हुन्छ ।
माथिका व्यहोरा पुँजीवादी शासन व्यवस्था र पुँजीवादी शासक दलहरूको निर्वाचन प्रपञ्च, निर्वाचन क्षेत्र मनपरी परिवर्तन, मतगणनामा शासक दलहरूले अन्य दलका जनताको विरोधमा गरिने मनोवैज्ञानिक युद्ध र शासक दलहरूको तानाशाहीको रूपमा बुझ्ने गर्दैनन् ।
हरेक व्यवस्था र व्यवहारको एउटा सीमा हुन्छ । त्यो सीमालाई भौतिक परिवर्तन र सुषुप्त , असन्तोष र अत्यन्त छुद्र जातजाति, भाषाभाषी र धर्मको तानाशाहीले सीमा नाघ्दै जाने गर्छ तब बेला बेलामा दुई वर्षअगाडि अमेरिकामा जर्ज फ्लोयडको घटनाजस्तै विस्फोट हुन्छ, त्यसलाई क्षणिक र स्वयंस्फूर्त भनी न्यायतर्फ जान खोजेन भने सन् १९०५ र १९१२ को क्रान्तिको असफल नाटक सुरू हुन्छ । सन् १९१७ को अक्टोबर क्रान्ति कहिले र कहाँबाट हुन्छ भन्ने थाहा हुन्न । तर, त्यसबेला मतपत्र च्यातेर खाएरै पचाउने, बत्ती निभाएर नक्कली मतपत्र पनि सद्दे बनाउने, ‘माथिल्लो आदेश’बाट परिणामको उल्टो परिणाम घोषणा गर्ने, मत गन्न ढीलो गरी शासक दलको मनपरीलाई बहादुर देखाउने आदिले हेला गरिएका जातजाति, भाषाभाषी र क्षेत्रको घाउमा साधारण मल्हमपट्टीले काम दिनेछैन ।
त्यस्तो बेला बेलायती पुँजीवादी क्रान्तिमा १० वर्षमा ११ प्रतिशत मानिस हताहत भएका थिए र अमेरिकी स्वतन्त्रता आन्दोलनमा बन्दुक बोक्ने युवाहरूकै कमी भएको थियो । फ्रान्सेली क्रान्तिमा जल्दाबल्दा नेताहरू सबै आपसमा काटाकाटमा मारिए । नेपालमा कथंकदाचित त्यसो भएमा कोत पर्वको दोस्रो संस्करणमा शासनमै जान तम्सेका सबै नेताहरू एकै रातमा आ–आफ्ना जिल्ला र भारतको सीमामा पुग्ने छैनन् । यसकारण, नेपाली इतिहासकारहरू मनमनै भन्ने गर्छन्, “नेपालमा अब कहिल्यै यस्ता घटनाहरू नदोहोरियून् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *