भर्खरै :

देशभक्त र साम्राज्यवादी पिछलग्गूहरूमा भेद गरौँ !

देशभक्त र साम्राज्यवादी पिछलग्गूहरूमा भेद गरौँ !

नेपालका केही दक्षिणपन्थी लेखकहरू एकातिर राजतन्त्रलाई देशभक्ति, राष्ट्रियता र सार्वभौमिकतालाई पर्यायको रूपमा लिन्छन् र अर्काेतिर विभिन्न महादेश र देशहरूको राजतन्त्र र स्वतन्त्र देशहरूलाई टोपे डुङ्गाको कूटनीतिबाट एक–एक गरेर उपनिवेश बनाउँदै गएका बेलायत र अमेरिकी साम्राज्यवादका खुँखार पात्रहरूलाई राम्रा प्रजातन्त्रवादीको रूपले पूजा गर्छन् । यस मामिलामा पुराना पञ्चायती लेखकहरू र प्रजातन्त्रवादी प्राध्यापकहरू पनि एकै ठाउँमा उभिन्छन् ।
हालै एक राष्ट्रवादी भनिने लेखकले ‘बेरुजु सपनाहरू’ शीर्षकमा अमेरिकी तेतिसौँ राष्ट्रपति ह्यारी टु«मेन र ३२ सौँ राष्ट्रपति फ्रान्कलिन डी. रुजबेल्टको सोभियत सङ्घलाई विघटन गर्ने सपना बोकेका ‘स्वप्नद्रष्टा’ भनी प्रशंसा गरेका छन् र अमेरिकी इतिहासमा सबभन्दा प्रतिगामी भनिएका अमेरिकी राष्ट्रपति जर्ज एच. डब्लु. बुशलाई पनि सोभियत सङ्घलाई १५ टुक्रामा विभाजित गर्दै पराजीत गर्न सकेकोमा सा¥है प्रशंसा गरेका छन् । (नागरिक– ९, मङ्सिर २०७९)
लेखक सोभियत सङ्घ विघटन गरेकोमा सा¥है खुसी भएका छन् र सोभियत सङ्घको विघटनले एसियालाई के के हानि नोक्सानी पुग्यो र अफ्रिका, ल्याटिन अमेरिका साथै युरोपकै निम्ति के क्षति भयो भन्नेबारे राम्रो ल्याकत नराखी खुसी मान्नु भनेको आफू पनि साम्राज्यवादीकै पक्षपाती हुनु हो । साम्राज्यवादको समर्थक कहिले पनि देशभक्त, राष्ट्रवादी र प्रगतिशील हुनसक्दैन । बरु पछिल्लो स्थितिमा सोभियत सङ्घ आफै सामाजिक साम्राज्यवादी भएकोमा विरोध गर्नु उपयुक्त छ ।
सोभियत सङ्घका खु्रश्चेभदेखि गोर्भाचोभसम्मका नेताहरू कम्युनिस्टको खोल ओढेका पुँजीवादी र अमेरिकी साम्राज्यवादको अगाडि आत्मसमर्पण गर्ने रुसी कामदार जनता र देशभक्तहरूका विश्वासघातीहरू थिए ।
सोभियत सङ्घको पछिल्लो नेतृत्व वर्ग संशोधनवादी (नाउँको कम्युनिस्ट सारमा पुँजीपति वर्गका हिमायती) र मुखले समाजवाद र कामले साम्राज्यवादी आचरण देखाएको हुँदा ‘सामाजिक–साम्राज्यवादी’ भएको हुँदा संसारले ठूलो क्षति भोग्न बाध्य भयो ।
पहिलो विश्वयुद्धपछि सोभियत सङ्घको उदयले संसारलाई के प्रभाव पा¥यो ?
एक, रुसमा समाजवादी व्यवस्थाको स्थापना भएपछि रुसी जारको पालामा आक्रमण र थिचोमिचो गरी सताइएका सबै छिमेकी देशहरूले मुक्ति पाए ।
दोस्रो, उपनिवेश बनाइएका एसिया र अफ्रिकी देशहरू भारत, चीन, इन्डोनेसियाजस्तै अन्य एसियाली र अफ्रिकी देशहरू एक–एक गरी युरोपेली र अमेरिकी उपनिवेशबाट मुक्त हुँदै गए । स्वतन्त्रता प्राप्त पूर्वउपनिवेश देशहरूले आ–आफ्नै ढङ्गको शासन व्यवस्था र अर्थतन्त्रको बाटोमा लागे ।
तेस्रो, दोस्रो विश्वयुद्धले इटालियाली, फासीवाद, जर्मनियाली नाजीवाद र पूर्वमा जापानी सैन्यवादी आक्रमणबाट सोभियत सङ्घको सहयोगको अन्य उपनिवेशहरू पनि स्वतन्त्र हुँदै गए र पूर्वी युरोपेली देशहरू, मङ्गोलिया, कोरिया, चीन, भियतनाम र क्युवाजस्ता देशहरू समाजवादी व्यवस्थामा परिणत भए ।
चौथो, पूर्वउपनिवेश देशहरू र भरखर स्वतन्त्र भएका देशहरूमा समाजवादी देशहरूको आर्थिक सहयोगले विभिन्न देशहरूका यातायात र उद्योगको विकासले स्वतन्त्र बजार र अर्थतन्त्रको विकास भयो ।
पाँचौँ, पूर्व उपनिवेशबाट मुक्त भएका देशहरूमा शिक्षा, स्वास्थ्य र सामाजिक जीवनमा ठूलो परिवर्तन भयो आदि ।

सोभियत सङ्घको पतनले संसारलाई परेको नकारात्मक असर निम्न छन्–
एक, संसार पहिलो विश्व (संरा अमेरिका र सोभियत सङ्घ) दोस्रो विश्व (युरोपेली देशहरू) र तेस्रो विश्व (चीन, भारत र अन्य विकासशील एसियाली– अफ्रिकी र ल्याटिन अमेरिकी देशहरू) मा विभाजित भएको थियो ।
दुई, सोभियत सङ्घको पतनले अमेरिकी साम्राज्यवाद एकमात्र विश्व शक्तिको रूपमा देखा प¥यो ।
तीन, एउटै विश्व शक्तिले डलरको मूल्य बढ्यो र अरब र अन्य देशहरूमाथि अमेरिकी आक्रमण र युद्ध बढ्दै गयो ।
चार, संरा अमेरिका हतियार र तेलको व्यापारमा एकहत्ति जमायो । यसरी संरा अमेरिका संसारको अर्थतन्त्रको हर्ताकर्ता बन्यो ।
पाँच, संरा अमेरिकाले नाटोको सहयोग पाएर कोरियाली प्रायःद्वीपमा दोस्रो विश्वयुद्धमा जसरी बम वर्षा ग¥यो त्यस्तै बम वर्षा र किटाणु युद्ध गरी लाखौँ कोरियाली जनताको हत्या ग¥यो । त्यसको लगत्तै हिन्द–चीन (भियतनाम, लावश र कम्बोडिया) मा १०–१५ वर्ष आक्रामक युद्ध चलायो । त्यसरी नै अफगानिस्तान, इराक, लिबिया र सिरियामा आक्रमण गरी लाखौँ जनता र धेरै धेरै धन–सम्पत्ति, अस्पताल, विश्वविद्यालय, पुस्तकालय, सङ्ग्रहालय ध्वंश र लुटपात गरियो । अहिले क्यारेवियाली र दक्षिण अमेरिकी देशहरूमा हस्तक्षेप र आर्थिक संहार गर्दै छ ।
रुसलाई जस्तै चीनलाई मात्रै होइन बेलायती साम्राज्यवादले भारतलाई पनि ब्रह्मपुत्रको पूर्व पश्चिम, गंगा, सिन्धु नदी, कृष्णा, काभेरी आदि नदीलाई सीमा बनाएर टुक्राटुक्रा पार्न खोज्दै थियो । सोभियत सङ्घको स्थापनाले साम्राज्यवादीहरूको ‘फुट गर र राज गर’ को सिद्धान्त असफल हुँदै गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *