भर्खरै :

सुसंस्कृत समाज निर्माणको निम्ति राजनीति

पुँजीवादी व्यवस्थाको निर्वाचन प्रणाली धाँधलीरहित हुन्न भन्ने दृष्टान्त धादिङस्थित बेनिघाट रोराङ– ७ बुद्धि विकास प्राविको मतदान केन्द्रमा भएको चुनावले छर्लङ्ग पारेको छ । ०६४ सालमा भएको संविधान सभाको निर्वाचनदेखि नै यस क्षेत्रका सोझासीधा जनता मत हाल्न पाउने अधिकारबाट वञ्चित छन् । कम्युनिस्टको नाममा आएका व्यक्तिहरू नै यस्तो कुकार्यमा अग्रस्थानमा देखिन पुगे । मतदान केन्द्रमा पुगेर लस्करमा बस्ने, ल्याप्चे हान्ने र नङमा मसी लगाउने मात्र हो, भोट त अर्कैले हाल्दिहाल्छन् भन्नेजस्ता कुरा यहाँका जनतामा परेका छन् । निर्वाचन आयोगले भन्दै आएको गोप्य मतदान खुला मतदान बन्न पुगेको छ । जनता स्वयं मतदान गर्न सक्ने बनाउन, सिकाउन र उत्साहित गर्नुपर्दछ । मताधिकार प्रयोग गर्न पाउनु प्रत्येक उमेर पुगेका नागरिकको नैसर्गिक अधिकार हो । आफ्नो मत आफैले हाल्न नपाउने वातावरण बनाउनु कुत्सित मनसाय नै हो । यस क्षेत्रका माओवादीहरूले जनताको भोट लिन नीच कार्यहरू गर्दै आएका हुन् । गठबन्धन बनेर यो पटक थप आफ्नो व्यवहार तिनले देखाएको हो । मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा काङ्ग्रेस, एकीकृत समाजवादी पनि माओवादीसँगै मिलेर आफ्नो हर्कत देखाउन भ्याए ।
निर्वाचन आचारसंहितामा बुढाबुढी उमेर, शारीरिकरूपमा कठिनाइ भएको व्यक्तिले इच्छाएको एकाध परिवारको आफन्तले मात्र पटकपटक नदोहोरिने गरी भोट हालिदिन पाउने व्यवस्था रहेको छ । यस बुद्धि विकास प्रावि चरौँदी बजार मतदान केन्द्रमा इच्छाएको व्यक्तिको नाममा एकै जनाले दर्जनौँपटक बढी मत हालेको सबैले देखे र भोगे । आजभन्दा भोलिका नयाँ पुस्ताले तिनीहरूबाट यस्तै सिक्दै जाने हो भने यस वडामा निर्वाचनको कुनै अर्थ रहने छैन । १८ सय मतदाता रहेको यस केन्द्रमा ११ सय मत बटुल्नको निम्ति जे पनि गर्न पछि नपरेको देखियो ।
निर्वाचनको अघिल्लो दिन गाउँ–गाउँमा भोज, निर्वाचनको दिन घरघरमा मोटर गाडीको बन्दोबस्त, निर्वाचनमा जितेपछिको भोजभतेरले नै यस ठाउँका जनता दशकौँदेखि ठगिँदै आएको हो । जनतालाई विश्वास दिलाएर जनता स्वयं मत खसालेर उम्मेदवारलाई जिताएको खण्डमा मात्र विजेता गर्व र आनन्द हुनुपर्ने हो । तर, जनताको मत आफै खोसेर हाल्ने र बिजेता भन्दै फूलमाला अबिर घसेर हिँड्दैमा राम्रो मान्छे भइँदैन । राम्रो संस्कारको राजनीतिले मात्र समाजलाई निकास दिने हो । सुसस्ंकृत समाज निर्माणको निम्ति आजैबाट इमानदारीपूर्वक राजनीतिमा लाग्नु आवश्यक छ । समाज सेवाको निम्ति असभ्य व्यवहारहरू गरिरहनु आवश्यक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *