भर्खरै :

सुध्रिने एउटा अर्को मौका !

सुध्रिने एउटा अर्को मौका !

मङ्सिर ४ गते आइतबारको दिन देशभरका २२ हजार २ सय २६ मतदात केन्द्रका १० हजार ८ सय ९१ मतदानस्थलमार्फत १ करोड ७९ लाख ८८ हजार पाँच सय सत्तरी मतदाता जनप्रतिनिधि छान्नका लागि घोषित मतदान प्रक्रियामा सहभागी हुन योग्य थिए । तीमध्ये झन्डै ६२ प्रतिशत मतदाताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो हितमा काम गर्ने, आफ्नो हितमा ऐन, नियम बनाउन योग्य उम्मेदवार छान्ने दिनको रूपमा मतदाताहरूले त्यस दिनलाई ग्रहण गरे । सचेत मतदाताले सिद्धान्तनिष्ठ, कर्तव्यनिष्ठ र इमानदार जनताका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराए ।
हालै सम्पन्न निर्वाचनमा मूलतः दुईवटा गठबन्धनले जनताको मत जित्न अनेक प्रयत्नहरू गरे । यस बिचमा यिनीहरूले गर्न हुने काममात्र गरेनन् गर्न नहुने थुप्रै काम गरे । गर्न नहुने र सचेत जनताद्वारा निन्दित कतिपय काम गर्न पनि उनीहरूले कुनै कसर बाँकी राखेनन् । विगतमा गरेका र गर्न नहुने कामहरू गर्न न सत्तापक्षीय गठबन्धन हच्किए न त विपक्षी गठबन्धन नै पछाडि हटे । दुबै गठबन्धन अगाडि बढेर निर्वाचनलाई अस्वस्थ प्रतिस्पर्धामार्फत बढी मत बटुल्न कम्मर कसेर लागे ।
प्रजातन्त्रवादी होस् या गणतन्त्रवादी, आफूलाई जुनरूपमा जनतासमक्ष परिभाषित गर्न खोजे तापनि सत्तापक्षीय गठबन्धन र प्रतिपक्षीय गठबन्धन, देशमा दुईदलीय शासन व्यवस्थाको हिमायती भएर प्रस्तुत भएको छर्लङ्गै भयो । बहुदलीय व्यवस्थामा आ–आफ्ना छुट्टाछुट्टै विचार र सिद्धान्तको आधारमा निर्वाचन लड्नुपर्ने आम बुझाइ रहे तापनि पराजयको डरले ग्रसित दलहरूले बहुदलीय व्यवस्थाको मूल्य र मान्यताअनुरूप जनताको दबुलीमा आफूलाई उभ्याउन सकेनन्, परिणामले सफल भएको देखिए तापनि निष्ठायुक्त राजनीतिक सङ्घर्षमा पराजित भए ।
निर्वाचन जित्नकै लागि जस्तोसुकै हर्कत गर्ने दलहरू जितेर पनि हारे सरह हुने गर्दछन् । अर्थात्, तिनीहरूले जनमत आफ्नो पक्षमा भएको परिणामले देखाए पनि मानसिकरूपमा कमजोर नै हुने गर्दछन् । विगत लामो समयदेखि देश र जनताको अहितमा ऐन, कानुन बनाएर पनि थाकिनसकेका र अझ त्यस्तै प्रकारका जनविरोधी कानुन बनाउन हौसिनेहरूलाई यसपटकको निर्वाचनमा कसिङ्गरझैँ बढारिने सङ्केत पहिल्यै पाइसकेका थिए । यही डरले गठबन्धनहरूले चुनाव लडे र जनतालाई पुनः एकपटक ललाइफकाइ गरेरै पैसा बाँडेर, बुथ कब्जा गरेर भए पनि मत आफ्नो पक्षमा तान्न सफल भए । पुँजीवादी निर्वाचनमा हुने अनेक अनैतिक खेलहरू पुँजीवादी दलहरू मिलेर मञ्चन गरे ।
सत्ता र शक्तिको आडमा निर्वाचनको परिणाम आफ्नो पक्षमा पारेको भए तापनि अब सरकार गठनको लागि नयाँ समीकरणको आवश्यकता पर्ने देखिसकेको छ र यो समीकरण देश र जनताको हितमा नदेखिने झन्डै पक्कापक्की भइसकेको छ । दुई सय ७५ जनाको प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याउने दलले सरकारको नेतृत्व गर्ने संवैधानिक बन्दोबस्त छ । तर, परिणामले बहुमत कसैको पनि नपुग्ने भएबाट पुनः मिलिजुली सरकारको गठन हुने भइसकेको छ । त्यसको नेतृत्वका लागि दलका नेताहरूबिच संसदीय दलको नेता बन्न हानथाप सुरु भइसकेको छ । हालसम्मको निर्वाचन परिणामले नेपाली काङ्ग्रेसलाई ठूलो दलको हैसियत प्राप्त भए तापनि वर्तमान सत्ता गठबन्धनको बहुमत नपुग्ने भएकाले अब को–कोसँग मिलेर कस्तो सरकार बन्दै छ ? प्रतिक्षाको विषय छ । सासद किनबेचको त्यही पुरानो घृणित प्रवृत्ति पनि नदोहोरिएला भन्न सकिन्न ।
राजतन्त्रवादी छवि बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गणतन्त्रवादी दलहरूको समीकरण पनि अस्वाभाविक तरिकाले अगाडि बढ्ने सम्भावना बलियो देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समीकरणले सरकारको उद्देश्य निकै अस्पष्ट देखिने सम्भावनालाई नकार्न सकिने स्थिति पनि छैन । पत्रकारिताको बाटोबाट अगाडि आएको उक्त पार्टीका सभापतिको सिद्धान्त आजको दिनसम्म अन्योल रहनुले सिङ्गो राज्य व्यवस्था कुन बाटोमा अगाडि बढ्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ । यसका साथै नेपाली काङ्ग्रेस र नेकपा एमालेको सत्ता समीकरण भएको खण्डमा प्रजातन्त्रको मान्यताविपरीत मात्र हुने छैन उक्त गठबन्धन थप अराजक र निरङ्कुश हुने सम्भावना बढ्नेछ । यस हिसाबले अब बन्ने मन्त्रिमण्डल थप जटिल प्रकृतिको र अन्योलपूर्ण हुने प्रबल सम्भावना छ ।
सरकार र सत्ता प्राप्तिकै लागि गठबन्धन गरेरै भए पनि निर्वाचनमा जाने दलहरूलाई सम्पन्न निर्वाचनले गतिलो पाठ सिकाएको छ । ‘ठगहरूको गठबन्धन’ को समेत उपमा पाएको उक्त तालमेलयुक्त समीकरणका कारण हिजो बलियो देखिएको दल आज नराम्ररी पछारिन पुगेको छ भने जनताको निराशाको प्रतिबिम्बस्वरूप नयाँ दलहरूको समेत हाबी भएको छ । अबको सत्ता समीकरण फरक तरिकाले अगाडि बढ्नेछ भने फरक उद्देश्य बोकेका दलहरूको सत्ता समीकरणले देश अनिश्चिततातिर धकेलिएको छ । यो राम्रो सङ्केत होइन ।
पटक–पटक निर्वाचित तर कार्यक्षेत्रमा असफल सिद्ध भइसकेका दलका नेताहरूको पराजयको लागि यसपटक सामाजिक सञ्जालमा ‘नो नट एगेन’ को नारा उठेको छ । जनताको अमूल्य मतबाट विजयी उम्मेदवारहरूले जनताप्रतिको आफ्नो ‘धर्म’ निभाउन सकेका थिएनन् । जनताले सुम्पेको कर्तव्य पूरा गर्न सकेका थिएनन् । आफूले दिएका आश्वासनहरू पूरा गर्न सकेका थिएनन् । जनता र देशको हितमा काम गर्न तिनीहरू असफल र असक्षम सावित भइसकेका थिए । तिनीहरूको काम गर्ने शैलीले जनतामा निराशामात्र हात लागेको थियो । आज मतदाताहरूले बहालवाला मन्त्रीहरू र पूर्वमन्त्रीहरूलाई समेत पराजित गरेर आफ्नो ल्याकत देखाइदिए । कुनै कुनै ‘हेविवेटवाला’ भनिएका उम्मेदवारहरूले त जमानतसमेत जोगाउन नसकेका समाचारहरू सार्वजनिक भए ।
वास्तवमा गठबन्धनमा आबद्ध नेताहरूले राजनीतिलाई केवल सत्तामा पुग्ने माध्यम बनाए । सत्तामा पुगेर गर्न हुने पनि गरे गर्न नहुने पनि गरे । आफ्नो फाइदा वा हितका लागि उनीहरूले सबै प्रकारका क्रियाकलाप गरे । संविधान र कानुनले भनेका काममात्र गरेनन् बरु त्यसका प्रावधानहरूलाई समेत आफू अनुकूल व्याख्या गरेर राजनीतिमा गलत नजिर स्थापित गराइए । देशमा अन्योल सृजना गर्ने काम पनि शासक दलका नेताहरूले गरे । एउटा तथ्याङ्कअनुसार गएको ५ वर्षमा देशमा तीन जना प्रधानमन्त्री फेरे भने १ सय २२ जना मन्त्री बने । मन्त्री बन्नकै लागि राजनीतिमा होमिएका नेताहरूको आर्थिक हैसियत परिवर्तन भए तर जनताको जीवनस्तर दिनानुदिन ओरालो लागेको विषयमा कहिल्यै ध्यान दिन दिएनन् । आफ्ना लागि सम्पत्ति जोडे, आफ्नाका लागि कुम्ल्याए तथा विलासी जीवन बिताए । यसैको परिणाम हो नो नट एगेन । यसपटक मतदाताहरूले त्यसको अभ्यासको थालनी गरेको अनुभव गरिँदै छ ।
मतदाताहरूमा बढ्दै गएको सचेतताका कारण गठबन्धनले सोचेजस्तो परिणाम हासिल गर्न नसकेकोमा यतिखेर उनीहरूले आत्मसमीक्षा गर्दै छन् । अनेक प्रकारका लोभलालचमा फसाएर भए पनि, भोजभतेर गरेर र पैसा बाँडेर पनि निर्वाचनको परिणामबाट असन्तुष्ट दलहरूले जनतामा आएको चेतनास्तरको उचित मूल्याङ्कन गर्न फेरि पनि ढिलाइ गरेमा अर्को निर्वाचनमा ‘फलामको चिउरा’ साबित हुनेछ । जनताका समस्या समाधान गर्न लागिपर्ने र देश हितमा ऐन र कानुन बनाउने काममा अब विजयी प्रतिनिधिहरूले आफूलाई अग्रसर पार्नुपर्दछ । देशबाट मैले के प्राप्त गरेँभन्दा पनि देशलाई के दिएँ भन्ने कुरामा घोत्लिँदा बढी सान्दर्भिक हुने देखिन्छ । देशमा आयात बढ्दा उत्पन्न समस्यालाई आत्मसात गरेर उत्पादन बढाउने र आत्मनिर्भर बन्ने बाटोमा अग्रसर गरेमात्रै अब ठूला दलका ठूला नेताहरू जोगिनेवाला छन् । निर्वाचन जित्नुभन्दा पनि जनताको मन जित्ने प्रयास कैयौँ गुणा श्रेयस्कर छ । राज्यकोषको दुरूपयोग गर्ने र जनतालाई आश्वासनमात्रै दिने कैयौँ नेताहरूलाई यसपटकको निर्वाचनबाट फोहरझैँ फाले । आगामी दिनमा ‘ठूला’ दाबी गर्ने नेताहरूले पुनः त्यस्तो नियति भोग्न नपरून् । जनताले फेरि एकपटक सुध्रिने मौका दिएको छ, यसलाई खेँलाची नठानियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *