भर्खरै :

एङ्गेल्स दार्शनिक र सर्वहारा वर्गका गुरु

जर्मनीको बर्मेन सहरमा जन्मेका फ्रेडरिक एङ्गेल्स एक कवि, सिपाही, व्यवसायी, अर्थशास्त्री, दार्शनिक र सर्वहारा वर्गका नेता र गुरु थिए । उनी क्रान्तिकारी सिद्धान्तलाई व्यवहारमा लागु गर्ने विद्वान र भाषाविद् पनि थिए । विभिन्न देश र जातिको भाषामा गहिरो अभिरुचि राख्ने उनी अर्थशास्त्र, दर्शन, समाजशास्त्र, इतिहास, साहित्य, भाषा, विज्ञानमा पनि विशेष दख्खल भएका व्यक्ति थिए । उनी जर्मनी, फ्रान्सेली, अङ्ग्रेजी, रुसी, फारसी, अरबी आदि भाषा जान्थे । सर्वहारा वर्गका महान् योद्धा र शिक्षक एङ्गेल्स हरेक मजदुर आन्दोलन र जीवनसँग परिचित व्यक्ति थिए ।
साहित्यप्रति रुचि भएका उनी लेखक पनि थिए । जर्मनीमा प्रकाशित ‘राइनिस जाइटुङ’ (राइन समाचार) मा उनी लेख छपाउँथे । फ्रेडरिक एङ्गेल्स बेलायतको मेनचेस्टर भने सहरको कारखानामा काम गर्दा उनी बेलायतको मजदुरहरूको जीवनलाई पनि गहिरिएर अध्ययन गरेका थिए । उनले मजदुरहरूको दुःख सुख बुझे । उनले ‘बेलायतमा मजदुर वर्गको अवस्था’ शीर्षक पुस्तक लेखे । त्यसबेला उनी समाजवादी विचारका भइसकेका थिए । बेलायतको उद्योगको स्थिति र इतिहासको अध्ययनले उनले पुँजीपति वर्गको उत्पति र विकासको सिद्धान्तलाई गहिरो अध्ययन गरेर बुझे ।
पछि एङ्गेल्स बेलायतबाट जर्मनी फर्के । त्यसबेला उनको सर्वहारा वर्गका गुरु माक्र्ससँग भेट भयो । माक्र्स र एङ्गेल्स मिलेर ‘आलोचनात्मक आलोचनाको आलोचना’ पुस्तक लेखे । माक्र्स र एङ्गेल्स मिलेर कम्युनिस्ट घोषणापत्र लेखन गरे । घोषणापत्र सन् १८४८ मा प्रकाशित भयो । घोषणापत्रमा लेखिएको थियो, “अहिलेसम्मको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो । मजदुर वर्गको हित छोडेर कम्युनिस्टको अर्काे कुनै पनि हित छैन । आफ्नो विचार र उद्देश्य लुकाउन कम्युनिस्टहरू मन पराउँदैनन् ।”
एङ्गेल्स माक्र्सका घनिष्ठ मित्र थिए । उनीहरूको सिद्धान्त र विचार मिलेको थियो । एङ्गेल्सकै साथ र सहयोगमा ‘पुँजी’ किताब प्रकाशन भएको थियो । एङ्गेल्स र माक्र्सले अवसरवादी फर्दिनाद लासालको विरोध गरेका थिए । एङ्गेल्स आफ्नो राजनीति र सैद्धान्तिक कार्य जारी राख्न मेनचेस्टर छोडेर लण्डन बसे । लण्डनमा रहेरै उनले माक्र्सको आर्थिक र दार्शनिक सिद्धान्तको आधारमा अनेक लेख लेखे । एङ्गेल्स रुसी क्रान्तिकारी गतिविधिको पनि जानकारी राख्थे । रुसी गतिविधिको जानकारी लिएर उनले रुसको सशक्त पार्टीमाथि विश्वास गरे र रुस क्रान्तिको दैलोमा पुगेको उल्लेख गरे । माक्र्स र एङ्गेल्स रुसमा जारको एकतन्त्री शासनको पनि विरोधी थिए ।
माक्र्सपछि एङ्गेल्स युरोपीय समाजवादीहरूको सल्लाहकार र नेता बने । उनले सशस्त्र सङ्घर्षलाई विश्वास गरे । उनीसँग जर्मन, स्पेन, रुमानिया, रुस आदि देशका समाजवादी नेताहरू आएर भेट्थे र सल्लाह लिन्थे । विभिन्न देशका समाजवादी नेताहरूसँग उनको भेटघाट बढ्दै गयो । उनले माक्र्सको ‘फ्रान्सको वर्गसङ्घर्ष’ भन्ने किताब लेखे । यो नै उनको अन्तिम पुस्तक थियो । अन्ततः जीवनभर नथाक्ने, त्यागी, सरल स्वभावका उनी सर्वहारा वर्गकै पक्षमा लागे र संसारलाई बाटो देखाएर १८८३ मा यस संसारबाट बिदा भए । संसारलाई बाटो देखाउने अग्रज नेता र योद्धाहरूको स्मरण गर्नु प्रत्येक कम्युनिस्टहरूको कर्तव्य हो । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । विश्वका शोषितपीडित जनताको पक्षमा जीवन त्याग्ने नेताहरूको स्मरण गरिरहेको हुन्छ, गरिरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *