भर्खरै :

विपद्बाट बच्न सधँै तयार रहनुपर्ने : प्रमुख प्रजापति

विपद्बाट बच्न सधँै तयार रहनुपर्ने : प्रमुख प्रजापति

भक्तपुर, १४ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपाका जनप्रतिनिधि र कर्मचारीहरूको लागि दुईदिने विपद् व्यवस्थापनसम्बन्धी तालिम भक्तपुर नगरपालिकाको सभाहलमा बुधबार सुरु भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विपद् जोखिम अप्रत्यासितरूपमा आइपर्ने काबु बाहिरको परिस्थिति भएको हुँदा यसबाट जोगिनको लागि सदा तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथामको लागि गरेको व्यवस्थापन उत्कृष्ट भई बाग्मती प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट विपद्सेवी पदकबाट सम्मान गरिएको स्मरण गर्दै कोभिडकै समयमा जनताको सहयोगबाट अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएको तथा नगरवासीहरूले निःशुल्क अक्सिजन प्राप्त गरिरहेको जानकारी दिनुभयो ।
“विपद्बाट भाग्ने होइन यसबाट नयाँ कुरा सिक्नुपर्छ” भन्दै उहाँले विपद्सम्बन्धी पूर्वतयारी र विपद्बाट जोगिन बलियो संरचना निर्माण गर्नुपर्ने र नगरस्तरीय विपद् व्यवस्थापन समिति विपद्को समयमा सकृय हुन र विपद् रोकथाम गर्नको लागि तत्पर रहन विपद् व्यवस्थापन तालिम प्रदान गरी जनशक्ति तयार गरिरहेको जानकारी गराउनुभयो ।
उहाँले नगरपालिकाले भूकम्प प्रतिरोधी घरहरू निर्माण गर्न डकर्मी तालिम तथा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको पनि बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले विपद् कुनै पनि समय र कुनै पनि स्वरूपमा आउन सक्ने भएको हुँदा संरचना निर्माणमा भवन आचारसंहिता अनिवार्यरूपमा पालना गर्नुपर्ने बताउँदै बाढी, पहिरो, आगलागि, महामारीको रूपमा पैmलिने रोगहरूबाट हुने धनजनको क्षतिबाट बच्न नगरवासीहरूलाई सचेत र शिक्षित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गर्दै आएका कार्यहरूको सङ्क्षिप्त जानकारी दिँदै देशभरिमा शिशुस्याहारदेखि कलेजसम्म सञ्चालन गर्दै १०० शøयाको अस्पताल सञ्चालनलगायत नियमितरूपमा खोप, शिविरहरू, स्काउट तालिम र जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने विपद् जोखिम व्यवस्थापन तालिममा पहिलो दिनको प्राविधिक सेसन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत सन्तोषकुमार खत्रीले गर्नुभएको थियो भने डा. राजु थापा र अनिरुद्र नेपालले तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *