भर्खरै :

एङ्गेल्सको सङ्क्षिप्त जीवनी : एक चर्चा – ४

एङ्गेल्सको सङ्क्षिप्त जीवनी : एक चर्चा – ४

 

मित्रले मित्रलाई धन्यवाद
पुँजीका तिनै खण्डको पहिलो खेस्रा सन् १८६४ को अन्तसम्ममा पूरा भइसकेको थियो । तर, प्रथम खण्ड छाप्न प्रेसमा दिनुअघि माक्र्सले त्यसमा केही हेरफेर गर्नुभयो । अप्रिल १८६७ मा उहाँले पाण्डुलिपि प्रकाशककहाँ हैम्बर्गमा लिएर जानुभयो । ५ मई १८६७ मा उहाँले प्रुफ पाउनुभयो । त्यो दिन उहाँको ४९ वर्षको जन्म दिन थियो उहाँले प्रुफलाई संशोधन र हेरफेर गरी त्यसलाई एङ्गेल्सकहाँ पठाउनुहुन्थ्यो । माक्र्सले उहाँको सल्लाहअनुसार अरू पनि काँटछाँट गर्नुहुन्थ्यो । अन्तिममा उहाँले सही गरेर अगस्त १८६७ मा प्रेसलाई दिनुभयो । प्रथम खण्ड पूरा हुनासाथ माक्र्सले एङ्गेल्सलाई पत्र लेख्नुभयो ।
“यो खण्ड त पूरा भयो । यो सफलता तपाईँँले गरेर सम्भव भएको हो । तपाईँको आत्मत्याग नभएको भए तीन खण्डको लागि यत्तिको ठूलो काम हुनसक्ने थिएन । त्यसैले, प्रिय साथी, म तपाईँलाई हार्दिक मुरी मुरी धन्यवाद दिन चाहन्छु । अति प्रिय साथी– सलाम !”

माक्र्सलाई आर्थिक सहयोग
सन् १८६९ मा एङ्गेल्सले म्यान्चेस्टरमा आफ्नो कारखानाको जीवनबाट बिदा लिनुभयो । यसमा उहाँ ७००० (सात हजार) पाउन्ड पुँजी प्राप्त गर्न सफल हुनुभयो । अनि कारखानाको मालिक्याइँ छोडेकोमा आवश्यक क्षतिपूर्ति पनि प्राप्त गर्नुभयो । एङ्गेल्सको भित्री मनसाय माक्र्सलाई सक्दो मद्दत गर्न सकियोस् भन्ने थियो । अहिले ५,६ वर्षसम्म माक्र्सलाई वर्षमा ३५० पाउन्डको हिसाबले सहयोग गर्न पाउनुभएको थियो । त्योबाहेक डाक्टरको बिल र साना तिना ऋणहरू चुक्ता गरी दिनुहुन्थ्यो । वर्षमा ३५० पाउन्डले माक्र्सको काम नचलेमा वर्षमा कति पाउन्डको खाँचो पर्ने हो ? त्यो लेखी पठाउनका लागि एङ्गेल्सले माक्र्सलाई अनुरोध गर्नुभयो ।
माक्र्सलाई धेरै समयसम्म बचाउनु र आफूले सक्दो सहयोग गर्नु आफ्नो परम कर्तव्य सम्झनुहुन्थ्यो ।
अत्यन्त दुःखदायक घटना
१४ मार्च १८८३ मा समाजवादका जन्मदाता कार्ल माक्र्सको मृत्यु भयो । एङ्गेल्सको जीवनमा यो सबभन्दा बढी दुःखदायक घटना थियो । माक्र्सको मृत्युपछि एङ्गेल्स १२ वर्ष मात्र यो संसारमा रहनुभयो । माक्र्सको मृत्युले ‘पुँजी’ को प्रकाशन गर्ने काम रोकियो । दोस्रो र तेस्रो खण्ड तयार पार्ने काम एङ्गेल्सले जिम्मा लिनुभयो । निकै ठूलो परिश्रम गरेर दोस्रो खण्ड सन् १८८५ मा, तेस्रो खण्ड १८६४ मा प्रकाशित गर्नुभयो । पुँजीका दोस्रो र तेस्रो खण्डको बारेमा लेनिनले के भन्नुभएको छ भने, “यी दुवै खण्ड माक्र्स र एङ्गेल्स दुवै व्यक्तिका कृति हुन् ।”

अमूल्य दुई कृति र पत्नीको मृत्यु
एङ्गेल्सले लेख्न त धेरै कृतिहरू लेख्नुभएको छ, तर पनि दुईवटा महान् सैद्धान्तिक कृति नामी छन् ।
एउटा हो सन् १८८४ मा प्रकाशित ‘परिवार, निजी सम्पत्ति र राजसत्ताको उत्पत्ति’ र दोस्रो हो १८८६ मा प्रकाशित ‘लुडविङ्ग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त’ । लेनिनले एङ्गेल्सको उक्त ‘परिवार, निजी सम्पत्ति र राजसत्ताको उत्पत्ति’ लाई समाजवादका आधारभूत रचनाहरूमध्ये एउटा महान् रचनाको संज्ञा दिनुभएको छ । त्यस कृतिमा ऐतिहासिक भौतिकवादका धेरैजसो महत्वपूर्ण मान्यताहरूमाथि विचार गरिएको छ ।
एङ्गेल्सले आफ्नो दोस्रो पुस्तक ‘लुडविङ्ग फायरबाख र जर्मन दर्शनको अन्त’ मा इतिहासको भौतिकवादी ज्ञानलाई मुख्यरूपले व्यापकरूपमा व्याख्या गर्नुभएको छ ।
आफ्नो जीवनको अन्तिम घडीमा पनि एङ्गेल्स सङ्घर्षमा डटिरहनुभयो । मजदुरवर्गको निम्ति र समाजवादको निम्ति हुने कुनै पनि सङ्घर्षलाई उहाँ अति सम्मान गर्नुहुन्थ्यो । यसविना मानिसहरू बाँच्नु पनि व्यर्थ छ, उहाँ भन्ने गर्नुहुन्थ्यो आफ्नो सत्तरीऔँ जन्म दिवसको बेला आफ्ना साथीहरूको बधाईको जवाफमा उहाँले, “जब म सङ्घर्ष गर्नलायकको हुने छैन, तब म चाहन्छु, मेरो मरण होस्” भन्नुभएको थियो ।
एङ्गेल्सकहाँ कुनै मानिसहरू सल्लाह लिन र खाँचो परेमा आर्थिक मद्दत माग्न आएमा उहाँ सक्दो सहयोग र आडभरोसा दिएर पठाउनुहुन्थ्यो । पाल लाफार्मले “जहाँसम्म एङ्गेल्सको व्यक्तिगत आवश्यकताहरूको सवाल छ, उहाँ औधी मितव्ययी हुनुहुन्थ्यो र त्यतिमात्र खर्च गर्नुहुन्थ्यो जति आवश्यक छ । तर, पार्टी र पार्टी कार्यकर्ता साथीहरूप्रति उहाँ कति नहिच्किचाइकन साथ दिने गर्नुहुन्थ्यो,” भनी लेखेका थिए ।
साधारणतः एङ्गेल्स भलाद्मी र रसिलो स्वभावको हुनुहुन्थ्यो । अपरिचितको अगाडि उहाँ गम्भीर स्वभावको हुनुहुन्थ्यो । उहाँको पुरानो सहयोगी फ्रेडरिख लेस्नोले लेखेका छन्, “एङ्गेल्स कुनै मानिसलाई विश्वासपात्र तबमात्र बनाउनुहुन्थ्यो, जब उहाँले उसलाई व्यावहारिकरूपमा राम्ररी चिनिसक्नुहुन्थ्यो । “पार्टीविरोधी र शङ्कास्पद व्यक्तिले उहाँबाट कठोर जवाफ पाउँथ्यो अथवा विशेष कुरा नगरी ढोका बाहिर निकाली दिनुहुन्थ्यो । तर, उहाँको हृदयको ढोका समाजवादी पार्टीहरूका नेताहरूको लागि मात्र होइन, साधारण सदस्यहरूको निम्ति, अनि धेरै जसो प्रगतिशील विचार भएका विद्वान्हरू, वैज्ञानिकहरू, सांस्कृतिक व्यक्तिहरूको निम्ति पनि सधैँ खुला रहन्थ्यो ।
अक्टोबर १८८४ मा १२२ नं. रिजेन्ट पार्कको घर छोडेर एङ्गेल्स ४१ नं. घरमा सर्नुभयो । नौलो घरमा काम र आराम दुवैको निम्ति धेरै सुविधाजनक थियो । रिजेन्ट पार्क र प्रिमरोज पर्वतको छेउछाउमा उहाँ साँझपख घुम्न जानुहुन्थ्यो । कहिलेकाहीँ उहाँ हैम्पस्टेड हीथसम्म जानुहुन्थ्यो, जहाँ अघिअघि माक्र्ससित घुम्न जाने गर्नुहुन्थ्यो ।
एङ्गेल्सको जीवनमा माक्र्ससित एकपटकमात्र सम्बन्ध खराब भएको थियो । तर, त्यो केही समयको लागि मात्र । यसबाट के थाहा हुन्छ भने उहाँहरू दुइजनाको बिचमा कस्तो किसिमको गहिरो सम्बन्ध थियो ।
मेनचेस्टरमा छँदा एङ्गेल्सको मेरी चालेस नामक एउटी केटीसित प्रेम भयो र लोग्नेस्वास्नीको रूपमा धेरै वर्षसम्म जीवन बिताउनुभयो । हँसिलो मुख र थरीथरीका सद्गुणहरूले भरिपूर्ण ती केटीले एङ्गेल्सलाई अति नै माया गर्थिन् । ५ जनवरी १८६३ मा हृदय रोगले ग्रस्त भई अचानक उनको मृत्यु हुन गयो । प्रियतमाको मृत्युले एङ्गेल्सलाई ठूलो चोट पु¥यायो । दुःखको कुरा प्राणजस्तो प्यारो साथी माक्र्सलाई पत्र लेखी पठाउनुभयो । त्यसको जवाफमा माक्र्सले सिर्फ दुई लाइन लेखेर समवेदना पठाउनुभयो । लामो पत्रमा आफ्नो खराब स्थितिबारे मात्र बयान गर्नुभएछ । ६ दिनसम्म पत्रको जवाफ नदिई सातौँ दिनमा एङ्गेल्सले माक्र्सलाई धिक्कारेर के लेख्नुभयो भने, “तिमी एकजनामात्र छोडेर अरू सबै मित्रहरू, यहाँसम्म कि विरोधी मानिसहरूले पनि मलाई यति धेरै सहानुभूति देखाएका छन्, जुन मैले आसा गरेको थिइनँ ।” यो पत्र पाएपछि माक्र्सले आफ्नो भूल महशुश गरेर लेखी पठाउनुभयो, “चिठी जुन बेला हात परेको थियो । त्यसबेला घरपति र अरू साहुहरू ताकिता गर्न घरमा आइराखेका थिए । छोरी जेनी पनि बिरामी थिइन् ।” साँच्चिकै भन्ने हो भने माक्र्स त्यसबेला के गर्ने के नगर्ने भन्ने सङ्कटमा पर्नुभएको थियो । मित्रको यही स्थितिबाट प्रभावित भएर एङ्गेल्सले माक्र्सलाई क्षमा गर्नुको साथसाथै उहाँको विभिन्न सङ्कटहरू हटाउन सक्दो प्रयास गर्नुभयो ।
सन् १८६४ मा मेरी चाल्र्सकी ठूली दिदी लिजीसित बिहे गर्नुभयो । एङ्गेल्सले वैवाहिक जीवन सुखपूर्वक बिताउनुभएको थियो । बुद्धिमति लिजीले पनि पतिको आदर्शलाई ग्रहण गरेर एङ्गेल्सलाई यथेष्ट सहयोग गरेकी थिइन् । एङ्गेल्स दम्पत्तिको कुनै छोराछोरी थिएनन् । त्यसैले, उहाँहरूले मेरी एलेन ओर्फ पास्पस्लाई धर्म पुत्रीको रूपमा पालनपोषण गर्नुभएको थियो । सन् १८७८ मा एङ्गेल्सकी दोस्रो जहान लिजीको पनि मृत्यु भयो ।

एङ्गेल्सको मृत्यु
सन् १८९४ मा एङ्गेल्स बिरामी हुन थाल्नुभयो । उहाँको भोजन नलिमा क्यान्सर भएको थियो । तर, त्यस रोगको बारेमा उहाँलाई थाहा दिइएन ।
जून महिनामा उहाँ आफ्नो मन परेको ठाउँ इस्टबोर्नमा जानुभयो । त्यहाँ उहाँका धेरैजसो मित्रहरू भेट्न आउँथे । उहाँको गला सुन्निएको थियो र निकै दुःख्थ्यो । तैपनि, उहाँ हाँसी हाँसी रोगसित सङ्घर्ष गरिरहनुभएको थियो । बोल्न नसक्ने भएकोले स्लेटमा लेखेर कुराकानी गर्नुहुन्थ्यो ।
२३ जुलाइमा इस्टबोर्नबाट लोरा लाफार्मलाई एउटा चिठी लेख्नुभयो । यही चिठी एङ्गेल्सको हातले लेखेको अन्तिम चिठी थियो । भोलिपल्ट नै उहाँको अवस्था निकै खराब भयो र गम्भीर अवस्थामै उहाँलाई लण्डन लगियो । त्यहीँ ५ अगस्त १८६५ मा राति ठीक १० बजे एङ्गेल्सको मृत्यु भयो ।
फेडरिक एङ्गेल्सले आफ्नो अन्तिम समयमा सबै मित्रहरूसित के अनुरोध गर्नुभएको थियो भने, “उहाँको मृत शरीर जलाइकन भष्मचाहिँ समुद्रमा बगाइ दिनू ।” एङ्गेल्सका केही घनिष्ठ मित्रहरूले उहाँको अन्तिम इच्छा पूरा गरी दिनुभयो । उहाँहरूमध्ये इलियन माक्र्स (कार्ल माक्र्सकी छोरी) प्रमुख हुनुहुन्थ्यो । साथीहरू एङ्गेल्सको मनपरेको समुद्र तीरमा रहेको स्वास्थ्य निवास इष्टवोर्नमा भेला भएर त्यहाँ एउटा डुङ्गा भाडामा लिई एङ्गेल्सको शरीरको भष्म समुद्रमा बगाई दिनुभयो ।
मजदुरवर्गको मुक्तिको बाटो देखाइदिने एकजना गुरुका रूपमा संसारभरिका मजदुर वर्ग र श्रमिक जनताका मनमा एङ्गेल्स सधैँ बाँचिरहनुहुनेछ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *