भर्खरै :

“गरिबहरूलाई रोजगारी र बस्ने बन्दोबस्त गर्नुपर्छ”

“गरिबहरूलाई रोजगारी र बस्ने बन्दोबस्त गर्नुपर्छ”

काठमाडौँ, १५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एमाले, नेका र एमाओवादी पार्टीले बाग्मती र मनोहरा नदी किनारमा सुकुमवासीहरूलाई बसालेका हुन्, तर त्यसबेलाका प्रधानमन्त्री वा सरकारहरूले वास्ता गरेनन् भन्नुभएको छ ।
मङ्सिर १४ गते भृकुटी टीभीका ज्योति किरण र मङ्सिर १५ गते एकता टीभीका सन्तोष निरौलाले अध्यक्ष बिजुक्छेँसँग काठमाडौँको सुकुमवासी समस्याबारे सोधेको जिज्ञासामा उहाँले भन्नुभयो, “गरिबहरूलाई रोजगारी र बस्ने बन्दोबस्त गर्नुपर्छ । धनी र करोडपतिहरू आफै सक्षम भएको हुँदा सरकारले थप काम गर्नुपर्दैन, बरु तिनीहरूले अन्य सुकुमवासीहरूसँग बहालमा पैसा लिई आएको हल्ला छ ।”
एक अर्को प्रश्नको जिज्ञासामा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सिद्धान्ततः भूमि राज्यको हुन्छ । जमिन जोत्नेलाई खान दिनुपर्छ । खेत जोत्नेलाई जोताहाको हक दिनुपर्छ । त्यसमा पक्षपात गर्न पाइँदैन ।”
जनताको सार्वजनिक जग्गा एकले अर्कोलाई बेच्न नपाउने स्पष्ट पार्दै उहाँले गरिब सुकुमवासीहरूको समस्या हल गर्ने काम सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारमा जाने पार्टीहरूले आ–आफ्नो घोषणापत्रबारे जनतालाई शिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले देशघाती एमसीसी सम्झौताको विरोध गर्ने नेता तथा कार्यकर्ताहरूलाई नेकाले उम्मेदवार बनाउन अस्वीकार गरेको स्मरण गर्नुभयो ।
“नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौतामा समर्थन गर्ने दलहरूको विरोध र निन्दा सदन र सडकमा गरेको थियो ।” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
सत्तासीन र ठूला दलका नेताहरूले एकले अर्कोलाई निन्दा र विरोध गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “एकीकृत समाजवादीका माधवकुमार नेपाल र माओवादीका प्रचण्डले एमालेका केपी ओलीलाई तानाशाह भनी आलोचना र निन्दा गरे । तर, यता ओलीले नेपाल र प्रचण्डलाई ‘विश्वासघाती’ जस्ता आरोप लगाए । अब कुन मुखले एकताको निम्ति हात मिलाउने ? त्यसको निम्ति जनतासँग माफी माग्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *