भर्खरै :

नेपालभरिका मानिस काठमाडौँ खाल्डोमा अटाउन खोज्नु मूर्खता

काठमाडौँ विभिन्न ऐतिहासिक र राजनीतिक कारणहरूले गर्दा नेपाल देशको राजधानी बन्यो । देशको राजधानी सहरमा देशभरका मानिसहरू आवतजावत गर्न पाउँछन्, अस्थायीरूपमा बस्न पाउँछन् तर सबैजना स्थायीरूपमा काठमाडौँ खाल्डोमै बस्छौँ भन्छन् भने त्यो मूर्खता र असम्भव कुरा हो । पञ्चायतकालका सरकारहरू र बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिका सरकारहरूले बिकेन्द्रीकरण र स्वायत्तताको नीति समयानुकूल लागू नगर्दा विभिन्न ध्येयले जिल्ला जिल्लाका मानिसहरू काठमाडौँ उपत्यकामा थुप्रिन गएको तथ्यलाई कसैले पनि अस्वीकार गर्न सक्दैन । सबै जिल्लामा मझौला आकारको योजनावद्ध, व्यवस्थित र सुविधायुक्त सहरको विकासमा समयमै ध्यान दिएको भए काठमाडौँमा यति धेरै जनसङ्ख्या थुप्रिने, सडक जाम हुने, बाटो साँघुरो लाग्ने, खानेपानी र फोहोरमैला व्यवस्थापनको अभावजस्ता समस्या यति जटिल हुने थिएन । जिल्ला–जिल्लाका जनताको समस्या समाधानमा सरकारहरूले ध्यान नदिँदा शोषक सामन्त पीडित जनतासँगै आतङ्कपीडित र प्राकृतिक प्रकोप पीडित जनता सुकुम्वासीको नाममा काठमाडौँ खाल्डोमै जम्मा भए । त्यहाँका पर्ती जग्गा र नदी किनाराहरूमा झोपडी र सक्नेले पक्की घरटहरा नै बनाएर बस्न थाले । काठमाडौँ महानगरपालिकाले अहिले महानगर क्षेत्रका सुकुम्वासी वस्ती खाली गराउन खोज्दा केही शासक दलका नेताहरूले सुकुम्वासी वस्ती हटाउन नहुने र उनीहरूलाई घडेरी वा अपार्टमेन्ट व्यवस्था गर्ने कुरा उठाएका छन् । विभिन्न जिल्लाबाट आएका सक्कली सुकुम्वासीहरूलाई मिलेसम्म तिनीहरू आएकै जिल्लामा र सम्भव नभए काठमाडौँ उपत्यका बाहिरका जिल्लामा व्यवस्थापन गर्नुपर्छ । काठमाडौँ उपत्यकामा घडेरी वा अपार्टमेन्ट दिने नजिर बस्यो भने काठमाडौँमा कहिल्यै सुकुम्वासी खाली हुने छैन । नेपालभरिका मानिस काठमाडौँ खाल्डोमा अटाउन खोज्नु गलत नजिर बसाल्नु र मूर्खता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *