भर्खरै :

किसानले मल नपाउँदा खर्बौँको खाद्यान्न आयात

किसानले मल नपाउँदा खर्बौँको खाद्यान्न आयात

भक्तपुर, १७ मङ्सिर । नेमकिपा चाँगु ५, छालिङको आयोजनामा शनिबार नेपाल मजदुर किसान पार्टीको मादल चिह्नमा मतदान गरेका मतदाताहरूलाई धन्यवाद कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम सुवालले शासक दलका नेताहरूले जनताको मतको दुरुपयोग गरेर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएको उल्लेख गर्नुभयो ।
शासक दलहरूले नेपालका ७० लाख युवाहरूलाई स्वदेशमा रोजगारीको व्यवस्था नगरी वैदेशिक रोजगारीको नाममा १११ वटा देशमा सस्तो ज्यामीको रूपमा पठाएको हुँदा नेपालको कृषियोग्य भूमिसमेत बन्जरमा परिणत भएको र भारतबाट वर्षको खर्बाैँ रुपैयाँको खाद्यान्न आयात गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालका युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्दछ । यसले मात्र नेपालको विकास गर्नेछ ।”
“२०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिने विधेयकले देशलाई सिक्किमजस्तै बनाउने छ । यसकारण, नेपाल मजदुर किसान पार्टीले देशघाती नागरिकता विधेयकको संसद् र सडकमा विरोध गरेको हो ।” उहाँले भन्नुभयो ।
सचिव सुवालले किसानलाई समयमै मल बीउ नदिने सरकारको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीले स्वदेशमै रासायनिक मल कारखाना सञ्चालन गर्न संसद्मा आवाज उठाउने उल्लेख गर्नुभयो । अमेरिकाको कानुन र नीति पालना गर्नुपर्ने, एमसीसी सम्झौता खारेज गराउन, कालापानीमा रहेको भारतीय सेना हटाउन, भारतबाट अतिक्रमित नेपालको भूमि फिर्ता लिन, जनताको शिक्षा र स्वास्थ्य निःशुल्क गराउन पनि नेपाल मजदुर किसान पार्टीले संसद् र सडकमा सङ्घर्ष गर्ने सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले ख्वप विश्वविद्यालय स्थापना गरेर १५ लाखमा डाक्टर पढाएर देशकै सेवा गर्नेछौँ । भौतिक विकाससँगै सांस्कृतिक विकास गर्न शिक्षालाई जोड दिनेछौँ ।”
छालिङको भाजुभैरवबाट सुरु भएको धन्यवाद कार्यक्रम कुन्यौटा, गुडी गाउँ, थापा गाउँ, दथेपुथे टोल, भण्डारी गाउँ, साँखुमूल, बाटा टोल, गुसीटार हुँदै कालिटारमा पुगेर समापन भएको थियो ।
नेमकिपा छालिङका सूर्यबहादुर फोँजू, रेविना डंगोल र सुस्मा बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *