भर्खरै :

अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम

अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम

भक्तपुर, १७ मङ्सिर । ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा ख्वप कलेजस्थित देकोचामा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिगतरूपमा फरक–फरक क्षमता हुने भएकोले जो व्यक्तिसँग सीप हुँदैन उसले परनिर्भर भएर बाँच्नुपर्ने अवस्था रहेकोले अपाङ्गता भएका व्यक्तिले सीप सिक्न आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारको लागि हस्तकला सामग्री बनाउने तालिम सञ्चालन गरेको बताउँदै उहाँले अपाङ्गता भएका व्यक्तिलाई सीप दिएर आत्मनिर्भर बनाउनेतर्फ लागेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं अपाङ्गता समितिका संयोजक भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले संसारको कूल जनसङ्ख्यामध्ये १५ प्रतिशत जनसङ्ख्यालाई कुनै न कुनै रूपको अपाङ्गता रहेको तर उनीहरूको हरेक ठाउँमा समान पहुँच नभएको र उनीहरूलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक बन्न नसकेको बताउनुभयो ।
उहाँले नगरपालिकाले निर्माण गर्ने संरचनाहरूमा पनि अपाङ्गमैत्री बनाउन पहल भइरहेको जानकारी दिनुभयो । उहाँले अपाङ्गता समितिले हालसम्म सम्पन्न गरेका विविध गतिविधिहरूको सङ्क्षिप्त जानकारी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ९ नं वडाध्यक्ष रवीन्द्र ज्याख्वले जन्मजात, रोग तथा विविध दुर्घटनाको कारणले अपाङ्ग हुनसक्ने भएकोले बढी सतर्क रहनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नियमितरूपमा आ–आफ्नो स्वास्थ्यको परीक्षण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अपाङ्गता समितिका सदस्य एवं भक्तपुर नगरपालिका १ नं का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको लागि विविध गतिविधिहरू गर्दै आएको बताउनुभयो । समितिले अपाङ्गता भएका व्यक्तिको समस्या पहिचान गरी मागअनुसार सहायक सामग्री वितरण कार्य निरन्तररूपमा गर्दै आएको र खेलकुदलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।
ख्वप अस्पतालका चिकित्सक डा. रत्नसुन्दर लासिवाले नगरपालिकाबाट अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको चर्चा गर्दै समाजमा लुप्त रहेका अपाङ्ग व्यक्तिको जानकारी दिन आग्रह गर्नुभयो । भौतिक संरचना निर्माण कार्य गर्दा अपाङ्गमैत्री बनाउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणअन्तर्गत प्रतिभा प्रस्तुतीकरण कार्यक्रममा अपाङ्गता क्षेत्रसँग सम्बन्धित विद्यालय तथा सङ्घ संस्थाका विद्यार्थी भाइबहिनीहरूले कविता वाचन, गायन, चित्रकला तथा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सम्पूर्ण उपस्थित अपाङ्गता भएका व्यक्तिहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट जाडोमा लगाउने उलन टोपी र मफ्लर वितरणका साथै कविता वाचन, गायन, चित्रकला तथा नृत्यमा सहभागी सबैलाई पदक तथा प्रशंसापत्र संयोजक तथा उपप्रमुख जोशीले वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *