अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
आमा धरतीकी स्वरूप हुन् । उनी सबैकी जीवन हुन् । शक्तिरूपा हुन् । ममताकी खानी हुन् । सबैका लागि सुखदायिनी हुन् । आमाको महिमा अपरम्पार छ ।
यस्ती अत्यन्त महिमामयी आमाको रूप विभिन्न प्रकारको छ । तीमध्ये हामीलाई जन्म दिएर धर्ती देखाइदिने आमा, बाँच्नका लागि अन्नपानी दिएर हुर्काउने नेपाल आमा, ज्ञानको अपार स्रोत वैदिक–संस्कृत आमा र हाम्रा लागि अति उपयोगी जनावर गाईआमा—हामीले कहिल्यै पनि बिर्सन नहुने चारथरी आमाहरू हुन् । तर, यी सबै आमाहरू यतिखेर सङ्कटमा छन् । आऊँ, आज यसैबारे एकैछिन चिन्तन गरौँ ।
जन्मदाता आमा
संसारका सबै आमाले आफ्ना सन्तानका लागि ठूलो कष्ट उठाएकी हुन्छिन् । नौ महिनासम्म पेटमा, एकदुई वर्षसम्म काखमा र जीवनभर हृदयमा राखेर आफ्ना सन्तानलाई अजस्र एवं निःस्वार्थ माया दिने आमा नै हुन् । यस्ती आमालाई आजकल जताततै अपमान गरिएको सुन्न र देख्न पाइन्छ । बच्ची, नानी, कन्या, छोरी, बुहारी, दिदीबैनी पनि सबै आमाकै रूपहरू हुन् । कतिपय अवस्थामा तिनलाई हाकाहाकीरूपमा भोगविलास र विज्ञापनको साधनका रूपमा प्रयोग गर्ने गरिएको छ । यत्रतत्र यौनशोषणको शिकार हुने गरेका पनि तिनीहरू नै छन् । कतै सामूहिक बलात्कारको शिकार बन्छन् र हत्यासमेत गरिन्छन् । कतै देउकी, झुमा र छाउपडी प्रथाका शिकार हुने पनि मातृशक्ति आमाहरू नै हुन् । कतै तेजाब खन्याइने, कतै दाइजो नल्याएको निहुँमा मट्टीतेल/पेट्रोल खन्याएर जलाइने, कतै बोक्सी भनेर मलमूत्र खुवाइने र कतै बोक्सीकै आरोपमा कुटिने/डामिने/मारिने छोरी, बुहारी, भाउजू पनि अन्ततः आमाहरू नै हुन् । त्यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरूलाई कानुनबमोजिम सजाय नहुँदा एकातिर अपराधीहरू बढ्दै छन् भने अर्कातिर मृत्युवरण गर्न पुगेका आमाहरूको श्रापले यो देशको वातावरणमा अदृश्य चित्कार गरिरहेको छ । त्यही श्रापले गर्दा यहाँ शान्ति छाएको छैन । सायद त्यसैले पनि हाम्रो देशमा राजनीतिक अविवेकीपन र कुशासनले घर बनाउने गरेको होला !
नेपाल आमा
महसुस गरिएकै कुरा हो, नेपाल आमा प्रत्येकपटक शासकीय दोहनमा परेर गम्भीर सङ्कटबाट गुज्रिरहेकी छिन् । उनलाई रोग, भोक, भ्रष्टाचार, गरिबी, हिंसा, बेरोजगारीले सताएको छ । जाल, झेल, अपराध, आतङ्कले उत्तिकै पिरोलेको छ । साँध मिचाइ, नदीनाला बेचाइ, नियतवश वा अनजानमै पनि प्राकृतिक दोहन पनि उत्तिकै सहनुपरेको छ चुपचापसँग । पछिल्लो समयमा त माटै छोडेर विदेश जाने सन्तानहरूको सङ्ख्या बढ्न थालेपछि कसैलाई पनि नेपाल आमाको माया नभएजस्तो देखिएको छ । आमाद्वारा हुर्काइएका सन्तानहरूलाई उनै आमाको माया लाग्दैन । तिनै आमामाथि भरोसा छैन । सन्तानलाई थोरै माया र भरोसा हुँदो हो त सानो कक्षामा पढ्दादेखि नै “म त फलानो देश पो जान्छु !” भनेर त्यही देशबारे जान्ने र त्यही देशको भाषा सिक्ने उत्सुकता बढ्दैनथ्यो । जसका मुखबाट पनि पासपोर्ट र भिसाकै कुरा सुन्नुपर्दैनथ्यो । उब्जाउशील भूमि जताततै बाँझिएको पनि देख्नुपर्दैनथ्यो । युवाशक्तिलाई स्वदेशमै टिकाउने दीर्घकालीन योजना बनाउनको साटो सरकार स्वयं अघि बढेर विभिन्न देशमा श्रम सम्झौताका लागि प्रयासरत हुँदै, म्यानपावर कम्पनी व्यवस्थापन गर्न र ‘भाषा कक्षा’ खोलिएको हेरेर रमाइलो मान्दैनथ्यो ।
हाम्रा नेताको चुनावी नारा नै ‘फ्रि भिसा र फ्रि टिकट’ बन्न थालेको छ । त्यसका सट्टा, “यही देशमा उद्योधन्दा खोलेर र रोजगारीका अवसर बढाएर विदेशमा रहेका नेपाली युवालाई पनि यहीँ झिकाइनेछ” भन्ने खालको अभिव्यक्ति कसैबाट पनि सुन्न पाइँदैन ।
नेपाल आमाको माया नभएरै त हो, हाम्रो मौलिक नेपाली भाषा, संस्कृति, लोकसङ्गीत, पहिरनजस्ता कुराहरू हाम्रो भूमिबाट बिस्तारै हराउन थालेका छन् ! तिनका सट्टा विदेशी भाषा, विदेशी संस्कृति, विदेशी गीत सङ्गीत र विदेशी पहिरन नै हामीलाई प्यारो, इज्जतिलो, सजिलो र राम्रो लाग्न थालेको छ । खानेकुरा पनि विदेशतिर नै उब्जेका/बनेका खाने बानी भैसक्यो । यत्रतत्र सर्वत्र यस्तो पाखण्डीपन देखिनु, नेपाल आमाप्रतिको माया हो त ?
वैदिक–संस्कृत आमा
विश्वकै पुरानो भाषा संस्कृत, धेरै भाषाहरूको जननी भाषा पनि हो । समुन्नत र प्रगतिशील मानव सभ्यताको जग बसाल्ने कडी नै संस्कृत भाषामा भएको कुरामा कसैको पनि दुईमत नहोला । यो ज्ञानको प्रखर ज्योति पनि हो । संस्कृतमा लेखिएका वेद, उपनिषद्, गीता, पुराणजस्ता ग्रन्थहरू हाम्रा अमूल्य निधि हुन् । यीमध्ये पनि वेदलाई सृष्टिको सबैभन्दा प्राचीन ग्रन्थ तथा ऋषिसाहित्य मानिन्छ ।
संस्कृत भाषामा अन्य भाषाहरूका भन्दा कता हो कता बढी शब्दहरू छन् । यो भाषा बोल्दा जिब्राका सबै मांसपेशीहरूको उपयोग हुन्छ । अमेरिकन हिन्दू विश्वविद्यालयका अनुसार, संस्कृतमा कुरा गर्नेलाई ब्लड प्रेसर, मधुमेह, कोलस्टोरजस्ता रोगबाट मुक्ति मिल्छ । संस्कृतले दिमागलाई तेज बनाउनका साथै स्मरणशक्ति बढाउने थाहा पाएर, बेलायत र आयरल्यान्डका विश्वविद्यालयहरूमा यो भाषा अनिवार्य विषयका रूपमा पढाउन थालिएको छ । जर्मनीमा पनि उसैगरी यो भाषालाई विश्वविद्यालयहरूमा स्थान दिइएको छ । कर्मकाण्ड, ज्योतिष, साहित्य, दर्शन, गणित, विज्ञान, आयुर्वेदजस्ता मानव जातिका लागि आवश्यक पर्ने सम्पूर्ण अत्युत्तम ज्ञानको भण्डार संस्कृत भाषामा नै छ । त्यो ज्ञानसागरबाट थोरै प्यास मेटाउनका लागि भए पनि धेरथोर मात्रामा संस्कृत भाषा जान्नैपर्ने हुन्छ ।
तर, यति गुरुतर महत्वको संस्कृत भाषालाई, ऋषिहरूको तपोभूमि रहेको हाम्रै देशका सरकारी विद्यालयमा स्थान छैन । यसका सट्टा गुणस्तरीय शिक्षाका नाममा विद्यालयहरूमा अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाउने लहर चलिरहेको छ । कथित् ‘जनयुद्धकाल’ मा संस्कृत भाषामाथि निर्मम प्रहार भएको थियो । सायद त्यसैको प्रभावले पनि होला, पहिला सबै सरकारी विद्यालयहरूमा कक्षा सातसम्म संस्कृत विषय अनिवार्य पढाउने गरिएकोमा त्यसलाई हटाइएको पनि धेरै भइसक्यो । संस्कृत भाषाप्रतिको यस प्रकारको उपेक्षाकै कारणले पनि हाम्रा मौलिक संस्कारका ठाउँ कुसंस्कारले ओगटिरहेछन् ।
गाईआमा
परापूर्व कालदेखि नै गाईको सर्वोगुणी विशेषता र उपयोगिता बुझेर उनलाई मातृरूप मानी पूजा गर्ने गरिएको पाइन्छ । गाईमा ३३ कोटि देवताहरूको वास रहेको हिन्दू विश्वास छ ।
जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुकद्वारा गरिएको अनुसन्धानबाट के पत्ता लागेको छ भने—गाई धरतीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्व हुन्छन् । गाईको दूधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ यसले हृदयको रोग बाट बचाउँछ । स्मरण शक्ति बढाउँछ । आँखाको ज्योति बढ्छ । गाईको दूध चिल्लोरहित तर शक्तिशाली हुने हुँदा जति खाए पनि यसले मोटोपन बढ्दैन । यो स्त्रीहरूको प्रदर रोगमा पनि लाभदायक हुन्छ ।
गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । यसको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन् । त्यही भएर देवकार्य, पितृकार्यमा र खाना खाइसकेपछि पनि गाईको गोबरले लिप्ने चलन हिन्दू नेपाली समाजमा पाइन्छ । यो दाद, लुतो, घाउ, खटिराजस्ता रोगका लागि औषधि पनि हो । गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ । केवल एउटा गाईको गोबरबाट प्रतिवर्ष ३० देखि ४५ हजार किलो बायोग्याँस प्राप्त हुन्छ । गाईको एक तोला घ्यूबाट यज्ञ गर्दा १६०० किलो अक्सिजन उत्पादन हुन्छ । खाली पेटमा बिहान बिहान गौ–मूत्र सेवन गर्नाले क्यान्सरजस्तो घातक रोग पनि ठीक हुन्छ । गाईको शरीरलाई प्रतिदिन १५–२० मिनेट जति हातले मुसार्ने हो भने उच्च रक्तचाप ठिक हुने पनि बताइन्छ । गाईको शरीरबाट प्राकृतिकरूपमै निस्कने गूगलको सुगन्धले आस–पासको वायुमण्डललाई प्रदूषणरहित बनाउँछ ।
अमेरिकी वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानीसँग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हराभरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ ।
इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबरलाई लिएर गरेको लामो प्रयोग र अनुसन्धानबाट, गाईको गोबरबाट अनेकौँ असाध्य रोगहरू ठीक हुन्छन् भन्ने कुरा पत्ता लाएका छन् ।
हाम्रा ऋषिमुनिहरूले लाखौँ वर्ष पहिले नै यी सब प्रयोग
घाँस खाएर अमृतसमान दूध दिने अनि धर्ती जोत्नका लागि सन्तान पाइदिने गाईको गुण वास्तवमै अतुलनीय छ । गाईआमाको यस्तै गुण महसुस गरेर पनि होला, हाम्रो देशमा गाईलाई राष्ट्रिय जनावर मानी गोबधलाई गैरकानुनी मानिएको पनि छ । तर, पछिल्लो समयमा आएर संविधानमै ‘धर्मनिरपेक्ष राष्ट्र’ पदावली प्रयोग गरिएका आधारमा गाईको महत्वलाई बेवास्ता गर्न थालिएको छ । दूधका लागि बाच्छाहरूलाई मर्न बाध्य पारिने र दूध दिन छोडेका गाईहरूलाई बेवारिसे अवस्थामा छाडिने गरेको त सामान्य नै भैसकेको छ । दुई वर्षअघि हाम्रै देशमा सामूहिकरूपमै गाईलाई भीरबाट लडाएर मारिएको सुन्नै नसकिने समाचार आएको थियो । गाईजस्तो मातासमान गुणवान् तथा निर्दोष प्राणीको त्यसप्रकारको निर्मम हत्याले वातावरणमा नकारात्मक असर परिरहेको हुनुपर्छ । भनिन्छ, गोहत्याबाट दुःख र महाविनाश निम्तिन्छ ।
वास्तवमा नेपाल परापूर्वकालदेखि, कतिपय शासकीय अपवादलाई छोडेर सत्य, अहिंसा र सदाचारी मूल्य मान्यताको पालनामा रमाउने देश हो । यो, महर्षि वाल्मीकि, महात्मा बुद्ध, राजर्षि जनक, महर्षि याज्ञवल्क्यजस्ता ज्ञानी र अहिंसावादी सन्त महात्माहरूको जन्मभूमि र कर्मभूमि पनि हो । त्यसैले पनि यो माटोमा अहिले आएर गोबध हुनु घोर विडम्वना र दुर्भाग्यको कुरा हो ।
त्यसो त यो पवित्र भूमिमा समय समयमा असल मानिसहरू नजन्मेका होइनन् । अहिले पनि उपकारी, समाजसेवी र देशभक्त मानिसहरूको खाँचो छैन । ती थोरै भएका हुँदा खराबहरूको वर्चस्व बढेको मात्रै हो । त्यसैले चाहने हो भने यहाँ आमाप्रतिको आदर र सम्मानलाई पक्कै पनि पुनःजागरण गराउन सकिन्छ ।
Leave a Reply