भर्खरै :

आदर्श आजाद कलेजको आठौँ वार्षिक साधारणसभा

आदर्श आजाद कलेजको आठौँ वार्षिक साधारणसभा

भक्तपुर, १७ मङ्सिर । भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद कलेजको आठौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।
शिक्षा क्याम्पसको रूपमा सुरू भई हाल बहुमुखी क्याम्पसको रूपमा अघि बढेको सो क्याम्पसको उक्त सभाको उद्घाटन नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले गर्नुभयो ।
सभामा गोसाईँले शासक दलहरूले राजनीति गर्न नहुने भन्दै कामदार जनतालाई भ्रममा राखी राजनीतिबाट टाढा राख्दा देश पछाडि परेको चर्चा गर्नुभयो । उहाँले शिक्षालय विचार उत्पादन गर्ने केन्द्र रहेको विचार व्यक्त गर्दै विगत ३० वर्षमा सरकारमा गएका दलहरूले शिक्षालाई ध्वस्त बनाएको बताउनुभयो ।
विकासको मुख्य आधार र बीउ नै शिक्षा भएकोले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले पार्टीले अघि सारेको ख्वप विश्वविद्यालय स्थापनाका लागि निरन्तर सङ्घर्ष गर्ने उल्लेख गर्नुभयो ।
कलेजका प्राचार्य श्रीकृष्ण किसीले हाल कलेजमा २१९ विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिँदै कलेजमा बीएड र वीवीएस विषयको पठनपाठन भइरहेको बताउनुभयो ।
गत वर्ष १० लाख ४७ हजार रूपैयाँको छात्रवृत्ति वितरण गरेको कलेजले चालू आर्थिक वर्षमा ११ लाखको छात्रवृत्ति दिने कार्यक्रम रहेको प्राचार्य किसीले उल्लेख गनुभयो ।
कलेजका सहप्राचार्य चक्रबहादुर चाकतुले कलेजको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन तथा एक घर एक स्नातकलाई सार्थक बनाउनका लागि कलेजले योगदान दिइरहेको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मणराज जोशीले अध्यापनमा शिक्षकको समर्पणले मात्र शैक्षिक सुधार हुने चर्चा गर्दै शिक्षकले झाराटार्ने काम गर्न नहुनेमा जोड दिनुभयो ।
कलेजका उपप्राध्यापक प्रेमजन थापाश्रेष्ठले कलेजबाट दीक्षित विद्यार्थीले सरकारी तथा गैरसरकारी संस्थामा स्थापित हुन सफल रहेको चर्चा गर्दै कलेजले देशको आवश्यकताअनुसार शैक्षिक जनशक्ति उत्पादनका लागि लगानी गरिरहेको बताउनुभयो ।
कलेजका सहायक प्रशासक एवम् शिक्षक राकेश सुकुपायोले कलेजले गरिरहेको शैक्षिक गतिविधिबारे जानकारी दिनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखुले कलेजलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि सामूहिकरूपमा लागिरहेको चर्चा गनुभयो ।
सभाले कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखुकै अध्यक्षतामा व्यवस्थापन समिति पुनर्गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *