भर्खरै :

नर्वेका प्राध्यापकको टोलीसित भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिको भेट

नर्वेका प्राध्यापकको टोलीसित भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिको भेट

भक्तपुर, २५ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नर्वेबाट आएका प्राध्यापकहरूको एक टोलीले आइतबार भक्तपुर नगरपालिकाको सभाकक्षमा भेट गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले उक्त टोलीलाई भादगाउँले टोपी र खादाले स्वागत गर्नुभयो ।
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको राजनीतिक अवस्थाबारे अवगत गराउँदै भक्तपुर नगरपालिकामा गत २०७४ र २०७९ सालका स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका शत प्रतिशत जनप्रतिनिधिहरू निर्वाचित भएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको गतिविधिहरूबाट देशभरका विद्यार्थीहरू लाभान्वित भएको बताउँदै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरूमार्फत देशभरका ७७ मध्ये ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पूर्वाधारहरू निर्माणको क्रममा रहेको बताउँदै उहाँले उच्च शिक्षा अध्ययनको सिलसिलामा भक्तपुरका धेरै विद्यार्थीहरू विदेशी विश्वविद्यालयहरूमा पुगेको स्मरण गर्नुभयो ।
भक्तपुर नपाले कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भनी रु. ५ लाखसम्मका शैक्षिक ऋण, वार्षिक ३ करोडभन्दा बढी छात्रवृत्ति तथा भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषा पढ्ने नगरवासी विद्यार्थीहरूलाई पीएचडीसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो ।
उक्त भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवाल र ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र उपप्राचार्य रत्नशोभा प्रजापतिलगायतको उपस्थिति थियो ।
भेटमा टोलीका प्रतिनिधि युनिभर्सिटी अफ साउथ इस्टर्न नर्वेका प्रा.डा. राजनकुमार थापाले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेजको उक्त टोलीले अभिरुचिपूर्वक अवलोकन गरिसकेको र भक्तपुर नपाको शिक्षा र अन्य विकास निर्माणका गतिविधिहरूबारे जिज्ञासा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *