‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
दैलेख, २५ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य सरोजराज गोसाईंले संसदीय क्षेत्र पुनःसंरचना गर्ने बेलामा नै शासक दलहरूले धाँधली गरेको दाबी गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिले चामुण्डा विन्द्रासैनीस्थित पाल्तडामा आइतबार आयोजना गरेको मतदाता धन्यवाद कार्यक्रममा संयोजक गोसाईंले भक्तपुर जिल्लामा साविक संसदीय क्षेत्र कायम राखेको भए दुवै क्षेत्रमा नेमकिपाकै उम्मेदवारहरू विजयी हुने अवस्था रहेको बताउनुभयो ।
नेमकिपाले कामदार जनताको पक्षमा उठाएको निःशुल्क शिक्षा र स्वास्थ्यको मुद्दाले पुँजीपति वर्गलाई आकर्षित नगर्नु स्वाभाविक रहेको चर्चा गर्दै संयोजक गोसाईंले संरा अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको विरोधमा नेमकिपा सङ्घर्षरत रहेको तथ्य व्यापक जनताले बुझेका छन् भन्नुभयो ।
देशको अस्तित्व नै सङ्कटमा परेको बेलामा नेमकिपाले निर्वाचनलाई देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकविरोधी अभियानको रूपमा उपयोग गरेको बताउँदै संयोजक गोसाईंले स्थानीय क्षेत्रमा सञ्चालित स्वास्थ्य तथा शिक्षालगायत सरकारी तथा निजी सेवाप्रदायक संस्थाले दिइरहेको सेवाको अनुगमन गरी जनताको हितमा जिम्मेवार बनाउन स्थानीय पार्टी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका दैलेख जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य जग्यबहादुर शाहीले देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउने आन्दोलनलाई मुखरित पार्न नेमकिपाको मादल चिह्नमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै स्थानीय क्षेत्रमा घरबास छोडेर गएका व्यक्तिहरू नै प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित हुनु दुःखद पक्ष हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विकले पुँजीपति वर्गले आफ्नो शोषणको स्वर्ग कायम राख्न नेमकिपालाई निमोठ्न खोजे पनि नेमकिपा अझै सशक्तरूपमा डटेर नेपालको कम्युनिस्ट आन्दोलनलाई जाज्वल्यमान बनाउनेछ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले पद र लाभको लागि लुछाचुँडी गर्ने शासक दलहरूले एकपछि अर्को जनघाती र देशघाती काम गरिरहेकाले एकदिन जनताले सजाय दिनेछन् भन्नुभयो ।
कार्यक्रममा दैलेख क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार केसेन्द्रप्रसाद कार्की, प्रदेशसभाका उम्मेदवारहरू जयबहादुर थापा र मदनकुमार भण्डारी, देउडा गायक पानसरा थापा, धनकुमारी शाहीलगायतले नेमकिपालाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिनुभयो ।
Leave a Reply