भर्खरै :

व्यक्तिगत सुविधा होइन जनताको सेवा गर्नुस

भक्तपुर, २२ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको घर दैलोमा पुगेर स्वास्थ्य सेवा गर्ने स्वास्थ्यकर्मीहरूले आफ्नो व्यक्तिगत सुविधालाई भन्दा जनताको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिनुभयो ।
घर घरमा गएर नर्सिङ सेवा गरिरहेका नर्स र स्वास्थ्य स्वयंसेविकाहरूको भेलामा प्रमुख प्रजापतिले नर्स र स्वास्थ्य स्वयंसेविकाहरूको व्यवहार शिष्ट र नरम हुनुपर्छ भन्नुभयो ।
स्वास्थ्य सेवामा खट्ने स्वास्थ्यकर्मीहरूले जनताको सेवा नै ठूलो धर्म हो भन्ने भावनाले काम गरेमात्रै जनप्रतिनिधिहरूको भावना सार्थक हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य उपचार खर्च अन्यन्त महँगो हुँदै गइरहेको छ । गरिब जनताले उपचार गर्न नसक्ने स्थिति आएको छ । कतिपय ज्येष्ठ नागरिकहरू उपचार नपाएर दुःख कष्ट सहेर जीवन बिताइरहेका छन् । नपाको घर घरमा नर्सिङ सेवाले गरिब वर्गका जनतालाई सहयोग पुग्नेछ ।
नगर कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले एक हप्तामा आफ्नो वडामा नर्सहरू घर घरमा गएर सेवा गरेकोमा जनता खुसी भएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधिहरू पनि जनताबीच जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
डा. रत्नसुन्दर लासिवाले स्वास्थ्यकर्मीहरूले घर घरमा गएर गर्नुपर्ने कामको जानकारी दिनुको साथै स्वास्थ्य सेवामा कुनै कमी–कमजोरी हुन दिनु हुन्न भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रमा घर घरमा नर्सिङ सेवा उपलब्ध गराउने उल्लेख छ । जनप्रतिनिधिले पद बहन गरेको सय दिनको अवसरमा घरघरमा नर्सिङ सेवा सुरु भएको हो । घरघरमा गएर सेवा गर्ने स्वास्थ्यकर्मीहरूले स्वास्थ्यसम्बन्धी पारिवारिक विवरण तयार गर्ने, अशक्त र ज्येष्ठ नागरिकहरूको हेरविचार गर्ने, घाउको सरसफाइ गर्ने, स्त्री रोगसम्बन्धी छानबिन गर्ने, महिलाहरूलाई स्तन परीक्षण आफै गर्न सिकाउनेलगायतका कार्यहरू गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *