भर्खरै :

“देश जोगाउन देशभक्त जनता नै अघि बढ्नुपर्छ”

“देश जोगाउन देशभक्त जनता नै अघि बढ्नुपर्छ”

भक्तपुर, १ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले सत्तारूढ दलका नेताहरूको अकर्मण्यता र अदूरदर्शिताको कारण देश झन्झन् पराधीन बन्दै गइरहेको हुँदा देश जोगाउन देशभक्त जनता नै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
४२ औँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक कार्यक्रममा साहित्य विधामा उत्कृष्ट भएका साहित्यकार, मूल्याङ्कन समितिका सदस्यहरू, न्हू दँ ¥यालीमा सहभागी विभिन्न समूहहरूलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको सो कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताले देश नजोगाए नेपालको नाउँ रहे पनि भूमि भारतको हुने विचार व्यक्त गर्नुभयो ।
देश नरहे स्वाभिमानी नेपालीहरू अरूको उठबसमा दासी भएर जीवन बिताउनुपर्ने उल्लेख गर्दै अध्यक्ष रोहितले देश पराधीन बन्दै गएकोमा शासक दलका नेताहरू नै दोषी भएको स्पष्ट पार्नुभयो ।
सरकारमा गएर देश र जनताको हितमा कुनै काम नगरेको हुँदा प्रतिनिधिसभाको निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “बहुमत प्राप्त नहुँदा अरू देशमा भए फेरि निर्वाचन हुन्थ्यो ।”
निर्वाचनको बेला देशको कुना–कन्दरामा शासक र ठूला दलका नेताहरूले जनताको मत लिन पैसा बाँडेको, भोज खुवाएको, मालसामान बाँडेको स्मरण गर्दै अध्यक्ष रोहितले देशलाई एक एक पाइला गर्दै पराधीन बनाउँदै लगेको विचार व्यक्त गर्नुभयो ।
देशका जनता गरिब, अशिक्षित भएकाले सत्तासीन र ठूला दलका नेता तथा कार्यकर्ताले पैसा बाँडेर मत लिएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेमकिपा त्यस्तो कुनै अराजनीतिक गतिविधि गरेर मत लिँदैन, नेमकिपा सिद्धान्तको राजनीति गर्छ, नेमकिपा इमानदारीपूर्वक देश र जनताको सेवा गर्छ, नेमकिपाले नेपालको कम्युनिस्ट पार्टी र आन्दोलनमा प्रकाशस्तम्भको रूपमा काम गरिरहेको छ ।”
कुनै पनि दलले बहुमत प्राप्त नगरेको कारण गठबन्धनको सरकार बन्नेतर्फ इङ्गित गर्दै उहाँले पालैपालो शासन गरेर देश कसरी अघि बढ्छ भन्नुभयो ।
प्रजातान्त्रिक मूल्य, मान्यता र पद्धतिविपरीत बनाइएको तीन प्रतिशतको प्रावधान खारेज गराउन जनता एकजुट भएर अझै सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले भन्नुभयो, “नयाँ पुस्तालाई राम्ररी पढाउनुपर्छ, देश र जनताको हितमा निःस्वार्थपूर्वक सेवा गर्न राजनीतिमा संलग्न गराउन प्रेरित गर्नुपर्छ ।”
नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा धेरै मत र सदस्य जितेका पार्टीहरूले देश र जनताको हितमा काम गर्नेछैनन् भन्नुभयो ।
“बहुदलीय व्यवस्था पुनः स्थापनाको ३३ वर्षयता नेका ११ पटक, एमाले ५ पटक, माओवादी ३ पटक, राप्रपा ३ पटक सरकारको नेतृत्वमा पुगे । नेकाको सरकारले नेपालको नदीनाला सबै भारतको साझा हुने सहमति ग¥यो, सार्वजनिक संस्थानहरू सस्तोमा बिक्री ग¥यो† एमालेले टनकपुर समझदारीलाई विरोध ग¥यो तर, नेकाको देउवा सरकारले गरेको महाकाली सन्धिलाई समर्थन गरेर देशघात ग¥यो† माओवादीले भारतीय आश्रयमा नेपालमा सशस्त्र द्वन्द्व ग¥यो”, उहाँले भन्नुभयो ।
निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने र फौजदारी अपराधका आरोपी र प्रहरीको फरार सूचीमा परेकालाई उम्मेदवार बनाउनेहरू यी नै शासक पार्टीहरू हुन्, सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “किसानलाई रासायनिक मलको व्यवस्था नगर्ने, युवालाई वैदेशिक रोजगारीको नाममा सस्तो ज्यामी बन्न बाध्य बनाएर प्राप्त रेमिट्यान्सबाट भारतसँग दाल, चामल, तरकारी र खाना पकाउने ग्याससमेत किन्न लगाएर व्यापारघाटा २० खर्ब रूपियाँ र सार्वजनिक ऋण २० खर्ब रूपियाँ देशलाई बोकाउने सरकारमा गएका पार्टीहरू नै हुन् ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालीहरूको कला, संस्कृति, सम्पदा र भाषा जोगाउन नपाले पाठ्यक्रमको व्यवस्था गरेको बताउनुभयो ।
भनपाले सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरिरहेको कामबारे जान्न अन्य गाउँपालिका र नपाका जनप्रतिनिधिहरू भनपामा आइरहेको पनि प्रमुख प्रजापतिले बताउनुभयो ।
आ–आफ्नो दलको सिद्धान्त र विचार छोडेर गरिएको सिद्धान्तहीन र अनैतिक गठबन्धन गरेर देशमा गलत सन्देश दिएको विचार व्यक्त गर्दै उहाँले भारतीय शासकहरूले नेपालको जलस्रोत एकएक गरेर कब्जा गरिरहेको बताउनुभयो ।
स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने बखान गरेर देशमा थप राजनीतिक अस्थिरता निम्त्याउने षड्यन्त्र बुनिरहेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “कतै यो दलको औचित्य समाप्त पार्ने खेल त होइन ?”
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले मजदुर, किसान तथा शोषित पीडित जनतालाई राजनीतिकरूपले सचेत पार्दै सङ्गठित गरिरहेको स्पष्ट पार्दै नेमकिपाले जनचेतना जगाउन वर्गीय सङ्घर्ष गरिरहेको बताउनुभयो ।
निर्वाचित सांसदहरूको शपथग्रहण नहुँदै गठबन्धन दलका नेताहरूमा अहिले प्रम, मन्त्री, सभामुख आदि बन्नेतर्फ होडबाजी भइरहेको चर्चा गर्दै सांसद गोसाईंले नेपालभाषा साहित्य तःमुंज्या पनि भाषिक र साहित्यिकसँगै वर्गीय आन्दोलनको एक दबु हो भन्नुभयो ।
नेमकिपाले प्राप्त गरेको मत स्वच्छ विचारको मत हो, देश जोगाउने र बनाउने मत हो, धाक–धम्की, पैसा र लोभलालचले प्राप्त गरेको अरू दलको मत देश बनाउने मत होइन, उहाँले भन्नुभयो ।
इतिहासविद् तथा प्राध्यापक डा. पुरूषोत्तमलोचन श्रेष्ठले नेपाल संवत्को इतिहास र महत्वबारे प्रकाश पार्दै दासमोचनपछि प्रारम्भ भएको नेपाल संवत् जनता स्वतन्त्र भएको र विजय भएको दिन पनि हो भन्नुभयो ।
नेपाल संवत्, तिथि र संस्कृतिको सन्दर्भमा भक्तपुरको उल्लेख्य भूमिका भएको चर्चा गर्दै उहाँले सभ्यताको सूत्राधार ख्वप (भक्तपुर) हो भन्नुभयो ।
नेपाल संवत् र शङ्खधर साख्वालाई चिनाउने व्यक्ति भक्तपुरकै व्यक्ति रहेको धारणा राख्दै प्रा.डा. श्रेष्ठले नेपाल संवत्को प्रवर्तकको श्रेय कामदार वर्गका जनतालाई नै जान्छ भन्नुभयो ।
नेपालको माटो सिंचित गर्न, लिपिको आरम्भ, संरक्षण र विकास गर्न, राष्ट्रिय झन्डा र मौलिक संवत्को उत्थान गरेर नेपाललाई चिनाउने काममा भक्तपुरको योगदान कम छैन, उहाँले भन्नुभयो ।
४२ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोजक समितिका अध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको सो सभामा तःमुंज्या मु गथिका अध्यक्ष आशाकुमार चिकंबन्जारले स्वागत मन्तव्य दिनुभएको थियो ।
शुक्रबार आयोजित सो कार्यक्रममा पुरस्कार र मायाको चिनो वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *