यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २ पुस । भक्तपुर नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवन उद्घाटन कार्यक्रम शनिबार भक्तपुर च्याम्हासिंहस्थित अस्पताल प्राङ्गणमा सम्पन्न भयो ।
ख्वप अस्पतालको नवनिर्मित भवनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाबाट प्रकाशित कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिका नामक पुस्तक विमोचन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिएको भए प्रदेश सरकारको आवश्यकता नरहेको विचार पहिले नै व्यक्त गरेको बताउनुभयो ।
दुर्गम ठाउँहरूमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाई सक्रियरूपमा काम गर्न सकिएको खण्डमा सरकारको आधा काम सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताले निःस्वार्थरूपमा देश र जनताको सेवा गरे समस्या समाधान हुने विचार गर्नुभयो ।
देशको परिस्थिति निकै बिकराल बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भारतको प्रभाव नेपालमा बढिरहँदा नेपालको अवस्था झन्झन् नाजुक बन्दै गएको बताउनुभयो ।
नेपालमा दिल्लीको प्रभाव बढ्दै जाँदा राजनीतिक अस्थिरता बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेपालमा रासायनिक मल कारखाना स्थापना पनि भारतकै समर्थन या सहयोगमा हुनुपर्ने अवस्था आउनु देशको लागि विडम्बना छ भन्नुभयो ।
उहाँले नेपालको कार्यपालिका र विधानपालिकामा समेत भारतको छाया परेको हुँदा सङ्घर्षको निम्ति देशभक्त जनता एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले स्वास्थ्य मन्त्रालयले ख्वप अस्पताल स्वीकृतिमा ढिलाइ गरेका कारण ख्वप अस्पताल सञ्चालनमा ढिलाइ भएको बताउनुभयो ।
ख्वप अस्पतालले जनतालाई राम्रो स्वास्थ्य उपचार दिनेमा विश्वास व्यक्त गर्दै उहाँले सरकारी अस्पताल राम्रो भएमात्र गरिब जनताले सहजरूपमा स्वास्थ्य उपचारमा पहुँच पुग्ने बताउनुभयो ।
क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि उपलब्ध नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उहाँले विदेशबाट ल्याउनुपर्ने औषधि सरकारले तत्काल ल्याउन आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले निर्वाचन घोषणापत्रमार्फत स्वास्थ्य क्षेत्रमा ख्वप अस्पताललाई सय शøयाको सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने, वडा–वडामा स्वास्थ्य केन्द्रहरूको विस्तार गर्ने र विशेषज्ञहरूमार्फत नियमित स्वास्थ्य शिविरहरू सञ्चालन गर्नेलगायतका प्रतिबद्धताअनुरूप कार्यहरू गर्दै आइरहेको बताउनुभयो ।
२०३८ सालदेखि जनस्वास्थ्य केन्द्रको रूपमा सञ्चालित च्याम्हासिंहस्थित स्वास्थ्य केन्द्रलाई २०७८ साल वैशाख १७ गतेबाट विधिवतरूपमा ख्वप अस्पतालको रूपमा सञ्चालन ल्याएको अवगत गराउँदै प्रमुख प्रजापतिले जनताको साथ र सहयोग भए हरेक क्षेत्रमा सफलता हासिल गर्न सम्भव छ भन्ने एउटा उदाहरणको रूपमा भक्तपुर नगरपालिकाले काम गर्दै आएको छ भन्नुभयो ।
उहाँले सरकारी अस्पतालहरूमा सुधार नहुँदा र बिरामीहरू स्वास्थ्य उपचारको लागि निजी अस्पतालहरूमा गइरहनुपर्ने बाध्यताको अन्त्य नभएसम्म जनता स्वास्थ्यकै कारण घरखेत बेच्न बाध्य हुनुपर्ने र ऋणको पासोमा परिरहने यथार्थ प्रस्तुत गर्नुभयो ।
नेमकिपा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेतृत्व राम्रो भएको खण्डमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न सम्भव छ भन्ने उदाहरण भक्तपुर नपाले देखाएको बताउँदै नेमकिपाको लामो राजनीतिक जगकै कारण भक्तपुर आजको स्थितिमा पुगेको यथार्थबोध नयाँ पुस्तामा गराउनुपर्छ भन्नुभयो ।
ख्वप अस्पताललाई १०० शøयामा स्तरोन्नति गर्न गरेको निरन्तरको सङ्घर्षकै कारण आज यो उपलब्धि हासिल भएको बताउँदै सांसद गोसाईले स्वास्थ्य क्षेत्रबाट जनताको जीवनमा निःस्वार्थ सेवा गर्ने भावना ख्वप अस्पतालमा हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपा देशभरिकै उत्कृष्ट नगरपालिकाको रूपमा परिचित गर्न यहाँका अग्रज, जनप्रतिनिधि, नगरवासी, बुद्धिजीवी, पत्रकारलगायतको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
भक्तपुर नगरलाई शिक्षित र सुन्दर नगरको रूपमा विकास गर्ने लक्ष्य बोकेको भक्तपुर नपाले कोभिड महामारीबाट जोगाउन जनतासँग हातेमालो गर्दै रोग नियन्त्रण र रोकथाममा लागिपरेको उहाँले बताउनुभयो ।
जि.प्र.का. भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ख्वप अस्पताल उद्घाटन नगरवासीहरूको निम्ति गौरवपूर्ण समय भएको बताउँदै गुणस्तरीय र सर्वसुलभ स्वास्थ्यको लागि भक्तपुर नपाको प्रयास प्रशंसनीय भएको बताउनुभयो ।
सानो जिल्ला भएर पनि भक्तपुरमा सङ्घ, प्रदेशको अस्पताल रहेको र नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालबाट भक्तपुरलगायत देशभरका जनताले स्वास्थ्य उपचार सहजरूपमा पाउने उहाँले बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले कोभिड नियन्त्रणमा भक्तपुर नपाले राम्रो काम गरेको बताउँदै भक्तपुर क्यान्सर अस्पतालमा डी.एम. अन्कोलोजीको कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।
भक्तपुर अस्पतालका मे.सु डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गर्न भक्तपुर नपाले सहयोग गर्दै आएको चर्चा गर्दै ख्वप अस्पतालको प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर नपा आफ्नो नगरवासीहरूको सेवाको निम्ति दत्तचित्त भएर लागिरहेको बताउँदै अस्पतालले स्वास्थ्य सुविधाहरू थप गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपाल सरकारको मुख नताकी जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्ट निर्माण गरी नगरवासीहरूलाई कोभिडमा गरेको सेवा सराहनीय भएको उल्लेख गर्नुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३० जनाभन्दा बढीको दिनहुँ डायलासिस गर्दै आइरहेको, ७७ जिल्लाका मृगौलाका बिरामीहरू यहाँ उपचार गर्न आउने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालबाट निःशुल्क डायलासिसको सेवा सुरु गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पतालको प्रगति प्रतिवेदन र ख्वप अस्पताल भवन निर्माण आयोजना प्रमुख विजयराम कोजूले ख्वप अस्पताल भवन निर्माणको कार्य प्रगति आदिबारे प्रस्ट पार्नुभयो भने भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको वार्षिकोत्सवकै अवसर पारेर आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोष र ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रु. ५ लाखभन्दा बढी आर्थिक सहयोग गर्ने सङ्घसंस्थालाई कदरपत्र वितरण गर्नुभएको थियो ।
अतिथि सांसद गोसाईले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्यमा संलग्न भई सहयोग गर्ने कर्मचारीहरूलाई कदरपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमका सभापति प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका उत्कृष्ट १० जना कर्मचारीलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमपश्चात् कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिगणहरूले ख्वप अस्पताल भवन, ब्रह्मायणीस्थित ख्वप अस्पताल कोभिड युनिट र छाती पुनःस्थापना केन्द्रको स्थलगत अवलोकन गर्नुभएको थियो ।
Leave a Reply