भर्खरै :

देश र जनताप्रति जिम्मेवार राष्ट्रपति आवश्यक

देश र जनताप्रति जिम्मेवार राष्ट्रपति आवश्यक

अहिले नेपालको राजनीतिमा नयाँ सरकार गठनसँगै राष्ट्रपति बन्ने र बनाउनेबारे पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनिरहेको छ । सत्तासीन गठबन्धन दलका नेताहरूबिच प्रम र राष्ट्रपति पद एउटै दलले पाउनुपर्ने र पाउन नहुनेबारे विचार विमर्शमात्र होइन विवादको विषय बनेको छ । राष्ट्रपतिमा सत्तासीन गठबन्धन दलका नेताहरूको नाम पनि चर्चामा आइरहेको छ । राष्ट्रपति कसलाई बनाउने भन्ने टुङ्गो नलाग्दै राष्ट्रपति बन्ने नेताहरूको सूची लामै प्रकाशमा आएको छ । सत्ताको निम्ति राजनीति गर्ने दलका नेताहरूमा राष्ट्रपति बन्नको निम्ति होडबाजी हुनु अस्वाभाविक होइन ।
राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । उनले संविधान र सङ्घीय कानुनबमोजिम आफ्नो कार्य सम्पादन गर्नेछन् । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछन् । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हो । सङ्घीय संसद्को सदस्य हुन योग्य व्यक्ति, कम्तीमा ४५ वर्ष उमेर पुगेको र कुनै कानुनले अयोग्य नभएको नेपाली राष्ट्रपति बन्न सक्नेछन् । तर, संविधानमा जुनसुकै कुरा लेखिए पनि दुई पटक बनिसकेको व्यक्ति फेरि राष्ट्रपति हुन पाउने छैनन् ।
राष्ट्रपतिको स्थान महत्वपूर्ण छ । सरकारको निर्णय देश र जनताको अहितमा छ भने राष्ट्रपतिले विचारविमर्श गर्न सक्छन्, चिन्तनमनन गरेर सरकारको कुनै निर्णय पुनः विचार गर्न या फर्काउन सक्छन् । राष्ट्रपतिको काम संविधानको पालन र संरक्षण गर्नुमात्र होइन नेपालको राष्ट्राध्यक्ष पनि भएको हुँदा देशको अस्तित्वमा आँच आउने काममा रोक्नुपर्छ । राष्ट्रपति कठपुतली चरित्रको हुनुहुँदैन । देश हितविपरीत छ छैन भन्नेबारे कुनै चिन्तन नगर्ने चरित्रको राष्ट्रपति हुनु हुँदैन । कुनै पनि बेला सरकारले संसद्मा फेरि नागरिकता विधेयक ल्याउन सक्छ । सरकारले निर्णय गरेर ल्याएको भन्दैमा अन्ध समर्थन गर्ने चरित्रका राष्ट्रपति देशको लागि आवश्यक छैन । राष्ट्रपतिले संविधान या सङ्घीय कानुनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्य पालना गर्नेछन् । तर, त्यो अधिकार र कर्तव्य पालना गर्दा देश र जनतालाई सम्झनैपर्छ । अब बन्ने राष्ट्रपति देश र जनताप्रति के जिम्मेवार भएर काम गर्लान् ? जवाफदेही होलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *