भर्खरै :

राजनीतिक कार्यकर्ताहरू नैतिकताका धनी हुनुपर्ने

राजनीतिक कार्यकर्ताहरू नैतिकताका धनी हुनुपर्ने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन परिणामको सबै औपचारिक विवरण प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ९ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाए । आयुक्त थपलियाबाट प्रतिनिधिसभाको अन्तिम औपचारिक निर्वाचन परिणामको विवरण प्राप्त भएपछि राष्ट्रपति भण्डारीले सरकार गठन गर्न आह्वान गरिन् । प्रतिनिधिसभा सदस्यमा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिकबाट नियुक्ति भएका २७५ जना सभासद्हरू नैतिकवान हुनुपर्छ । उनीहरू देश र जनताको लागि बोझ र खराब हुन नहुने अपेक्षा जनताले गरेका छन् । उनीहरू गुप्त सूचना विदेशीलाई नदिने, विदेशीको गोटी नबन्ने, भ्रष्टाचार नगर्ने, आफ्नै खुट्टामा उभेर आफ्नै पौरखमा देशको रक्षा र निर्माण गर्ने जनप्रतिनिधि भएको हेर्न चाहिरहेका छन् । तर, विडम्बना ¤ प्रतिनिधिसभा सदस्यहरू कोही मूर्ति चोरमा संलग्न, कोही भ्रष्टाचारी, कोही फौजदारी अपराधमा सजाय पाएका व्यक्तिहरू छन् ।
सरकारमा बसेको प्रधानमन्त्री र मन्त्रीले चुनावको लागि एनसेल कम्पनीसँग १२ करोड लिएका थिए । उनीहरूको ७५ करोडको एग्रिमेन्ट थियो । एनसेल बन्दा टेलिफोन ऐनमा एनसेल कम्पनी चलाएको २५ वर्षपछि त्यो स्वतः नेपाल सरकारको हुन्छ । एनसेलले नेपालमा १९ वर्ष चलाइसकेको छ । यसलाई २०२९ को जनवरीमा नेपाल सरकारलाई बुझाउनुपर्छ । यो ६ वर्षभित्रमा उनीहरूले धेरै लुट्न पाउँदैनन् । उनीहरूले स्मार्ट टेलिफोन पनि साइडमा राखेका छन् । स्मार्ट टेलिफोनले सरकारलाई ६ अर्ब राजस्व तिर्न बाँकी छ । त्यो सरकारलाई नतिर्न र त्यसको सट्टा त्यसलाई लिलाम गरेर आफैले १ अर्बमा किनेर हातमा पार्ने दाउ छ । त्यसबाट उनीहरूलाई ५ अर्ब फाइदा पुग्नेछ । त्यसबाट फेरि एनसेलको लाइन्सेन किन्नेछ । त्यसले उनीहरूले २५ वर्षको लागि नाम परिवर्तन गरेर नयाँ लाइसेनले नयाँ कम्पनीको रूपमा फेरि चलाइरहनेछ । यो सबै अहिलेका जिम्मेवार मन्त्री, प्रधानमन्त्रीले गरिरहेका छन् ।
फौजदारी कसुर मुद्दा फिर्ता लिन सक्ने गरी गठबन्धनको देउवा सरकारले बहुमतको गठबन्धन सरकार गठन गर्न वा बहुमत पु¥याउने कानुन संशोधन गरी अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा बुझाएको छ । टीकापुर काण्डमा प्रहरीका एसएसपीसहित एक जना बालकसँगै ६ जना प्रहरीको हत्याका अभियुक्त दिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीलाई रिहा गर्न ल्याइएको हो । रौतहटमा इँटाभट्टामा जिउँदै मान्छे फालेर हत्या गरेको आरोपमा नख्खु जेलमा कैदी जीवन बिताइरहेका नेपाली काङ्ग्रेसका नेता आफ्ताव आलम र त्यस्ता अन्य फौजदारी आरोप लागेका आफ्ना मान्छेहरू छोड्न र बहुमत पु¥याउन देउवा गठबन्धनको सरकारले अध्यादेश जारी गरेको चर्चा छ । तर, उनीहरूकै दल र सबैतिरबाट विरोध भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस अध्यादेशलाई लालमोहर नलगाउने चर्चा छ । राष्ट्रपति भण्डारीले जसरी विगतमा देशघाती नागरिकता विधेयकलाई रोके त्यसरी नै यसलाई पनि रोके देशको हितमा हुने विश्वास जनताको हो । गठबन्धनको देउवा सरकार अपराधीहरूको नाइके र संरक्षक नबनोस् । उनीहरू अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्छन् । विगतमा उनीहरूले नै नैतिक पतन हुने फौजदारी अपराधमा सजाय पाएका र भ्रष्टाचारमा सजाय पाएका व्यक्तिहरू निर्वाचनमा उठ्न पाउने व्यवस्था गरेका थिए । यो व्यवस्थाले आज प्रतिनिधिसभा, प्रदेशसभा, नगरपालिका र गाउँपालिकामा यस्तै अपराधीहरू चुनावमा जितेर आएका छन् । यसले देशको राजनीति सङ्लो नहुने निश्चित छ । उनीहरू बहुसङ्ख्यक जनताको अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाएर चुनावमा जितेर आएका हुन् । उनीहरूले बहुसङ्ख्यक जनतालाई अशिक्षा र गरिबीमा डुबाइरहेका छन् । यो कानुनी व्यवस्थाले समाज र देशको लागि जीवनभर लागेका नैतिक चरित्र, आचरण, त्यागी, स्वच्छ छवि भएका व्यक्तिहरू क्रमशः पाखा लाग्दै जानेछ ।
प्रतिनिधिसभा र प्रदेशसभाका सांसद भनेका विकासे कार्यकर्ता होइनन् । उनीहरू नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधिहरू पनि होइनन् । गाउँपालिकाले आफ्नो गाउँको, नगरपालिकाले आफ्नो नगर वा सहरको योजना बनाउने र त्यसअनुरूपको विकास निर्माण गरेर जनताको सेवा गर्छन् । सभासद्हरू उनीहरूभन्दा माथिल्लो ओहोदाका महत्वपूर्ण पदका जनप्रतिनिधिहरू हुन् । उनीहरूले देश र प्रदेशको रक्षा र विकासको लागि आवश्यक नीति निर्माण र कानुनहरू बनाउँछन् । उनीहरूले आफ्नो काम, कर्तव्य, नैतिक आचरण नबुझ्दा वा बुझे पनि आफ्नो व्यक्तिगत स्वार्थ, गुटगत, दलगत र क्षेत्रगत स्वार्थको लागि बुझ पचाउँदा, आज देशको विकास सन्तुलितरूपमा हुन सकेन । हुम्ला त्यस्तै पिछडिएको होइन । रौतहट, सप्तरी, ताप्लेजुङ त्यसै पिछडिएका होइनन् । उनीहरूले आफ्नो व्यक्तिगत स्वार्थ र आफ्नो क्षेत्रमात्र हेरे । उनीहरू स्वार्थमा डुबे । उनीहरूले समग्र देशको लागि हेरेनन् । सांसद पदको गरिमा, कर्तव्य, भावना, मर्म, महत्व उनीहरूले या त बुझेनन्, या त भात लोभ र स्वार्थले बुझेर पनि बुझ पचाउँदै हिँडे । उनीहरूले त्यो पदका गरिमा र भावनाअनुसार समग्र नेपालको हित र विकास हुने काम गरेका भए काठमाडौँलगायत देशको अन्य सहरहरूमा मान्छे थुप्रिएर समस्या हुने थिएन । नेपाल आज यो दयनीय अवस्थामा पुग्ने थिएन । सभासदहरूको सोच, आचरण, चरित्र नैतिकताको यस्तो आलोच्य हुने थिएन । जनप्रतिनिधिहरू समाज, देशको अगुवा, नमुना हुने भएको हुँदा उनीहरू नैतिकताको धनी हुनुपर्नेमा त्यसो हुन सकिरहेका छैनन् । त्यसैले देश अगाडि बढिरहेको परिणामले घामजतिक्कै छर्लङ्ग देखाइरहेको छ ।
तर, देशमा आफ्नो नैतिकता र गरिमाको ख्याल राख्ने नैतिकवान जनप्रतिनिधिहरू, मन्त्रीहरू पनि हुँदा रहेछन् । उनीहरूले आफ्नो कर्तव्य निभाउने क्रममा सामान्य घटनामा पनि जिम्मेवारीबोध गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको इतिहास नेपाली जनतासामु छ । नेपाली काङ्ग्रेसी नेतृत्व एवम् तत्कालीन कृषिमन्त्री शैलेजा आचार्यले आफ्नो मन्त्रालयमा भष्टाचार भएको भनी संसद्मा बोलेको २४ घण्टा नबित्दै राजीनामा दिएकी थिइन् । पूर्व राप्रपाका नेता एवम् शिक्षा तथा खेलकुद मन्त्री केशरबहादुर विष्टले दशरथ रङ्गशालामा फुटबल फाइनल खेल भइरहँदा आँधी हुरी वर्षाका कारण सुरक्षाका लागि मात्र दौड हुँदा धेरै दर्शकको ढोकामा च्यापिएर दुःखद निधन हुँदा त्यसको जिम्मेवारी लिएर राजीनामा दिएका थिए । डा. के आइ सिंले सिंहदरबारमा आगलागी हुँदा त्यसको जिम्मेवारी लिएर प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री मिनेन्द्र रिजालले काङ्ग्रेसको महामन्त्री पदमा चुनाव हार्दा रक्षामन्त्री पदबाटै राजीनामा दिएका थिए । तर, अरू मन्त्रीहरूले नैतिकताको आधारमा राजीनामा दिएका छैनन् । उनीहरू कुर्सीमै टाँसिरहेका छन् । नैतिकताका आधामा पदबाट कसैले नमाग्दै राजिनामा दिएका कैयौँ उदाहरणहरू छन् । उसले मूल्य मान्यताको राजनीतिमा लाग्ने जनप्रतिनिधिहरूलाई नैतिकताको धनी बन्न सधैँ प्रेरित गरिरहेको छ । नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिने र नेपाली जनताले त्यसलाई सधैँ प्रेरित गरिरहेका छन् । नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिने र नेपाली जनताले त्यसलाई सधैँ सम्झिरहने छन् ।
नेपाली राजनीतिमा दलका कार्यकर्ताहरूबाटै स्थानीय निकाय, प्रदेशसभा, प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधि, उम्मेदवार बन्न आउने र छान्ने भएको हुँदा कार्यकर्ताहरू पनि नैतिकताको धनी हुनु आवश्यक छ । उनीहरू समाज बनाउने देश बनाउने अगुवा, मोडल भएको हुँदा उच्च नैतिक चरित्र र व्यक्तिगत स्वार्थलाई त्यागी समाज, देशको, जनताको निःस्वार्थ सेवाभाव भएको हुनुपर्छ । उनीहरूले वा कसैले समाज, देश र जनताको हित र सेवामा दिएको निःस्वार्थ योगदान कहिल्यै खेर जाने छैन । त्यसलाई जनताले सधैँ सम्झिरहने छन् । जसरी फिडेल क्यास्ट्रो, माओ त्सेतुङ, लेनिन, स्तालिन, किम इल सङ, हो चि मिन्हहरूले आफ्नो देशको साथै विश्वका तमाम शोषितपीडित जनताको मुक्तिको लागि योगदान दिए । त्यस्ता कार्यकर्ता, नेताहरू त्यसरी नै नेता तथा कार्यकर्ताले योगदान दिनुपर्छ । शोषितपीडित जनता, मुक्तिकामी जनताका प्रेरणा र अमूल्य सम्पत्ति हुन् ।
असल र नैतिकवान कार्यकर्ताहरू पार्टीको निर्देशनमा आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको सेवामा परिचालन हुने, पार्टीले आयोजना गरेको बैठक, गोष्ठी, सभा, सम्मेलनमा सहभागी हुने, आफ्नो क्षमताअनुसार अध्ययनको दायरा बढाउँदै समाज, देश र राष्ट्रिय अन्तर्राष्ट्रिय घटना, परिघटनाको ज्ञान अनुभव लिने र त्यसलाई विभिन्न कार्यक्रमहरूमार्फत जनतालाई सुसूचित गर्नु आवश्यक छ । यसले समाजको आमूल परिवर्तनमा सहयोग पुग्नेछ । नेपाल मजदुर किसान पार्टीले आफ्ना कार्यकर्ताहरूलाई यस्तै शिक्षा, सैद्धान्तिक ज्ञान दिएर प्रशिक्षित र सचेत पार्ने काम गर्दै आएको छ । यसले हजारौँ नैतिकवान, देशभक्त कार्यकर्ता तयार गर्दै छ । पार्टीले देशी र विदेशी शक्तिको लोभ र धम्कीमा रत्तिभर नझुकी देश र जनताको निःस्वार्थ सेवा गर्न उत्साहित गर्दैछ ।
हामीले सधैँ समाज परिवर्तनको लागि लड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *