भर्खरै :

जन्मोत्सवको ठाउँमा ‘बर्थ डे’ आएपछि !

  • पुष १०, २०७९
  • इन्द्रकुमार श्रेष्ठ
  • विचार
जन्मोत्सवको ठाउँमा ‘बर्थ डे’ आएपछि !

‘जन्मोत्सव’, ‘जन्म’ र ‘उत्सव’ गरी दुईवटा शब्द सन्धि भएर बनेको व्युत्पन्न शब्द हो । यसको शाब्दिक अर्थ ‘जन्मदिनमा गरिने उत्सव’ हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, ‘जन्मेको दिनमा (तिथिमा) आयु र आरोग्यका लागि गरिने मङ्गलकार्य’ नै जन्मोत्सव हो । त्यसो त ‘उत्सव’ भनेको कुनै विशेष अवसरमा धुमधामसँग खुसियाली मनाइने सार्वजनिक पर्व पनि हो । यस अर्थमा जन्मोत्सवलाई व्यक्ति विशेषका लागि विशेष पर्वको दिन मान्न सकिन्छ ।
मानिसले जन्मेर यो धर्ती देख्न पाउनु ठूलो कुरो हो । त्यसैले हाम्रो लागि आफू जन्मेको दिन निकै महत्वपूर्ण हुन्छ । यो विशेष दिन भएकोले यस्तो दिनमा आफू पनि खुसी हुने र अरूलाई पनि खुसी दिने गरिन्छ । आफू कर्तव्यनिष्ठ र थप जिम्मेवार भई खुसी हुन र आफ्नो आयु बढोस् भन्नका लागि मान्यजनबाट आसिक पनि लिइन्छ । शास्त्रमा बताइएअनुसार प्राचीनकालमा धेरै बाँच्ने मानिएका र अहिलेसम्म पनि बाँचेको ठानिएका आठ प्रसिद्ध पुरुषहरू मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम र अश्वत्थामा हुन् । यिनलाई ‘अष्टचिरञ्जीवी’ पनि भनिन्छ ।
आफ्नो जन्मदिनमा अरूलाई पनि खुसी पार्नका लागि थोरै भए पनि दुःखी गरिबलाई अन्नवस्त्र दान दिन सके झनै राम्रो हो । कुनै वृद्धाश्रममा गएर त्यहाँका वृद्धवृद्धालाई फलफुल÷खानेकुरा खुवाउने, उहाँहरूको अवस्थाका बारेमा जानकारी लिने र उहाँहरूका विगतका कुराहरू सुन्न मन लगाउने हो भने उहाँहरू कति खुसी हुनुहुन्छ होला ! उहाँहरूका आफ्ना समयका कुरा सुनेर छक्क पर्ने वा रमाइलो मान्ने त छँदै छ† तीबाट ज्ञान र अनुभव पनि लिन सके फाइदै हुन्छ । त्यसका साथै समस्याग्रस्त कोही एकजनालाई एकमुष्ठ सहयोग पनि गर्न सके कति आनन्द लाग्थ्यो होला !
कसैलाई झुक्किएर लात्ती लाग्यो वा कुल्चन पुगियो भने त्यो पापको प्रायश्चितका लागि ‘विष्णुविष्णु !’ भन्ने हाम्रो कति राम्रो बानी र बोली थियो ! तर, त्यो राम्रो बानी र बोलीका ठाउँमा आजकल ‘सरि’ आएको छ । अर्थात्, प्राचीन विष्णुलाई आजकल आधुुनिक ‘सरि’ ले खाइदियो !
भनिन्छ, भाँडो रित्तो देख्यो भने त्यसमा जसले जे पनि हालिदिन सक्छ । यसै सन्दर्भमा ‘जन्मदिवस’ को ठाउँमा आजकल अरूको देखासिकी गरी आधुनिक बन्ने नाममा भित्रिएको नयाँ र आधुनिक चलन ‘बर्थ डे’ ले सर्वत्र खुट्टो घुमाएको देखिन्छ । यो चलनलाई खुसीसाथ शिरोधार्य गर्नेमा, अङ्ग्रेजी पढेका युवावर्ग मात्र होइन, संस्कृतका विद्वान ज्येष्ठ नागरिक÷मान्यजन पनि देखिएका छन् । धनीमात्र होइन, गरिब पनि रौसिएका छन् । सहरमा मात्र होइन, आजकल यो चलन गाउँगाउँसम्म पुगेको छ । कतिपयले ‘पार्टी प्यालेस’ मै ‘बर्थ डे’ मनाउन थालेका छन् ।
केक हाम्रो खाद्य परिकारै होइन । यो नेपालमा भित्रिएको धेरै भएकै छैन । तर, यो आजकल हाम्रो जन्मदिन तथा वैवाहिक उत्सवमा कुद्दै आएर ढसमस्स आसन जमाउन थालेको छ । कोही विलासी नेता आफ्नो ‘बर्थ डे’ मनाउनका लागि नेपालको नक्सा भएको केकसहित हेलिकोप्टर चार्टर गरेर जन्मथलो जालान् । तर, सर्वसाधारणले समेत आजकल गाडीबाट आउन लागेका कोही आफन्त/साथीभाइलाई ल्याइमागेर वा अर्डर गरी आफैँ गएर भए पनि आफ्नो गच्छेअनुसारको केकको व्यवस्था गर्न थालेका छन् । केक विनाका ती उत्सवहरू खल्ला हुन्छन् रे ¤ यसरी, जन्मदिन र वैवाहिक उत्सवलाई सार्थक, परम्परागत र मितव्ययी बनाउनुका साटो आजकल अनर्थ, देखासिकी र फजुुलखर्ची बनाउन थालिएको छ ।
हाम्रो हिन्दू परम्परामा बिहानको समयलाई शुभ मानिन्छ । त्यसैले हरेक शुभ काम बिहानै थालिन्छ । साँझको समयलाई भने अशुभ मानिन्छ । त्यसैले साँझमा कुनै पनि काम गरिँदैन, बारिन्छ । साँझबत्ती बालेपछि मात्र साँझको दोष मेटिन्छ । बत्ती निभाउनु र तयारी खानेकुरा काट्नुलाई पनि ज्यादै अशुभ मानिन्छ । तर, ‘बर्थ डे’ प्रायः साँझतिर मनाइन्छ । केक काटेसँगै बत्ती निभाइन्छ र बेलुन पनि फुटाइन्छ । जानकारहरू भन्छन्, यस्तो चित्तनबुझ्दो परम्परा त हिन्दू, बौद्ध, जैन, स्लाम कुनै पनि धर्ममा छैन ¤
केक काट्ने चलनसँगै, ‘बर्थ डे’ लाई अझ रमाइलो एवं रङ्गीन बनाउन रङ्गीचङ्गी प्लास्टिकका चुच्चेटोपी लाउने, जुठो हुने गरी केक खाने–खुवाउने र गालातिर दलदाल गर्ने चलन आइसकेको छ । यो, टीभीमा देखिने अङ्ग्रेजी–हिन्दी हास्य कार्यक्रमबाट नक्कल गरी चलाइएको ‘अत्याधुनिक चलन’ हुनसक्छ । यस्तै एउटा ‘बर्थ डे’ कार्यक्रममा सजाइएको ‘टावर केक’ मा अनुहार घोप्टिँदा, ‘केकपिस’ जोड्नका लागि प्रयोग गरिएको सिन्का आँखामा बिझेका कारण ‘बर्थ डे’वालालाई नै अस्पताल कुदाउनुपरेको थियो रे !
‘विद्यालय’ भनेको ‘विद्या सिकाइने घर’ हो । तर, ‘ईसुकुल’ हुँदै गएका हाम्रा स्कूलहरूले अभिभावकहरूलाई, क्रिसमसका दिन “तपाईँका छोराछोरीहरूलाई ‘सान्टा क्लज’ बनाएर पठाउनू” सम्म भन्न थालिसके । हाम्रा कलिला मुनाहरूमा त्यसको असर कस्तो पर्ला ? यस्ता क्रियाकलापको नियमन गर्न आवश्यक नै ठानिन्न !
कुनैै पनि उत्सव मनाउनुअघि हामीले आफूलाई कुन माटोमा उभिएका छौँ भन्ने कुरा सम्झनुपर्ने हो । आधुनिकताको हावा र देखासिकीका नाममा जथाभावी गर्न थाल्दा हाम्रो मौलिक पहिचान हराउँदै गएको छ । बेलैमा सचेत नभए बाँकी रहेको ‘केही’ पनि हराएर जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *