भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – १२

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – १२

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)

अफगानिस्तान
ट्रम्पले रक्षामन्त्री म्याटिसलाई ‘आइएसआइएस’ का साथै तालिबानहरूलाई पनि जरैबाट सखाप पार्ने आदेश दिएका थिए । सिरिया र इराकबाट ‘आइएसआइएस’ सखाप पारिएको विश्वास गरियो । तर, तालिवानहरू कसैगरी सिधिएनन् । अफगानिस्तानमा अमेरिकी उपस्थितिको विरोध गर्नुका पछाडि ट्रम्पका दुइटा सोचले काम गरेका थिए । एक, चुनावताका उनले मतदाताहरूसँग ‘अन्त्यहीन युद्धहरू अन्त्य गर्ने’ प्रतिबद्धता जाहेर गरेका थिए । दुई, आर्थिक र रक्षा सहयोगका नाममा हुने आर्थिक अपव्यय हटाउने ।
बोल्टनको विचार ट्रम्पको भन्दा विपरीत छ । एउटा सक्कली साम्राज्यवादीले कसरी सोच्छ भनी जान्न उनको फरक मत बुझ्नु चाखलाग्दो हुनेछ । बोल्टन युद्धहरू अमेरिकाले सुरु नगरेको हुनाले अमेरिकाले तिनलाई अन्त्य गर्न सक्दैन भन्छन् । बोल्टन भन्दै जान्छन् – “हामी थाक्यौँ वा हामीलाई असजिलो भयो भन्दैमा युद्ध रोक्न सकिन्न । बजेट कम छ भन्ने तर्क नै होइन । हामी अफगानिस्तान, इराक वा सिरियाको लागि युद्ध लड्दैनौँ । हामी देश निर्माता होइनौँ । मानिसको जीवनस्तर उठाउने गतिलो अर्थव्यवस्थामा आतङ्कवादको खतरा हुन्न भन्ने माक्र्सवादी म होइन । हामी अरूको लागि लड्दैनौँ । बरु, अमेरिकालाई अर्को सेप्टेम्बर ११ बाट जोगाउन लड्दै छौँ । तिनको खतरा रहेसम्म हामीले हतियार बिसाउन मिल्दैन ।”
अमेरिकाले जालमे खलिलजादलाई विभिन्न तालिबानी समूहसँग शान्ति वार्ताको लागि खटाएको थियो । ट्रम्पको निर्देशन पालन गर्न तालिबानहरूलाई सखाप पार्न म्याटिसले अफगानिस्तानमा ‘एमओएबी’ हतियारहरू प्रयोग गरे । तैपनि तालिबान सखाप नभएपछि ट्रम्पले म्याटिसलाई झपार्न थाले ।
एक बैठकमा म्याटिसले नाटोका सदस्यहरूको प्रशंसा गरे । ट्रम्पले नाटोलाई हामीले नै पैसा दिन्छौँ भने । म्याटिसले अफगानिस्तानमा ‘आइएसआइएस’ बाँकी रहेको बताए । ट्रम्पले भने, “अब त्यसलाई रुसले हेरोस् । सात हजार माइल टाढाको देश हो । तैपनि हामीलाई त्यसको डर छ भन्छन् । अब हामी त्यहाँबाट निस्किनुपर्छ ।” गुप्तचर प्रमुख डान कोट्सले अफगानिस्तानलाई ‘सीमा सुरक्षासँग’ जोडिएको प्रश्न भने । ट्रम्पको जवाफ थियो, “लाखौँ मान्छे मरे । खरबौँ डलर स्वाहा भयो । अब हेरेर बस्न सकिन्न । ६ महिना मागेका थिए । तर केही उपलब्धि भएन ।” उनले भन्दै गए, “हामी बाहिरिनुपर्छ । चुनावी सभामा बाहिर निस्किन्छु भनेको थिएँ । जनता आक्रोशित छन् । मेरा जनता बाठा छन् ।” म्याटिसले मनाउन खोजे । तर ट्रम्पले भने, “हामीले सिरियामा किन आइएसआइएसलाई मारेको, म बुझ्दिन । रुसी र इरानीहरूले किन नमारेको ? यो खेल धेरै खेलियो ।” पोम्पेओले भने, “त्यही नै आदेश हो भने हामी पालन गरौँला । तर हामी विजयी हुनेछैनौँ ।”
ट्रम्पले भने, “त्यो भियतनाम हो । हामीले उत्तर कोरियाविरुद्ध दक्षिणको पाले किन बन्ने ?” पोम्पेओले ९० दिन मागे । ट्रम्पले भने, “जति ढिलो ग¥यो, त्यति यो युद्ध मेरो हो भन्ने अर्थ लाग्छ । म यो युद्ध मेरो हो भनी सन्देश दिन चाहन्न । हामीले जिते पनि पाउने केही होइन ।” म्याटिसले मुख खोले, “राष्ट्रपति बनेदेखि नै यो तपाइँको युद्ध बनेको हो ।” भनाभन हुँदै गयो । अन्त्यमा ट्रम्पले कति समय चाहिन्छ भनी पोम्पेओलाई सोधे । पोम्पेओले फेब्रुअरी र मार्चसम्मको समय मागे । डनफोर्डले योजना बनाउने बताए । अमेरिका अफगानिस्तानबाट बाहिरिए त्यहाँ आतङ्कवादविरोधी संयन्त्र छोड्नुपर्ने बताए, नत्र उसले आणविक शक्तिसम्पन्न पाकिस्तानलाई हातमा लिन सक्ने बोल्टनको राय थियो । डनफोर्डले अफगानिस्तानबाट निस्के निकट भविष्यमै अमेरिकामाथि ठूलो हमला हुनसक्ने विचार राखे । ट्रम्पले मानेनन् ।
एक महिनापछि अर्को बैठक बस्यो । तालिबानहरूसँगका मुठभेडहरूमा अमेरिका हारिरहेको रिपोर्ट थियो । बैठकमा ट्रम्प बम्किए । उनले भने, “मेरा जर्नेलहरूको भाउँतोमा नलागेर मैले अन्तरमनको आवाज सुन्नुपर्दो रहेछ ।” उनले तालिबानलाई ‘एमओएबी’ हतियारले असर नगरेको बताए । कार्यकालको तेस्रो वर्षसम्म पर्खे यो युद्ध आफ्नो पनि युद्ध हुने भयो भनी उनले चिन्ता जाहेर गरे । उनले ‘पछि केही भए देशै धुलोपिठो पारौँला, अहिले निस्कौँ” भने । उनले भने, “हामीले ठूलो काम सकिसकेका छौँ । खराब मान्छेहरू धेरै मारियो । अहिले निस्कौँ । आतङ्कवादप्रतिरोधी जत्था त्यहीँ राखेर निस्किनेछौँ ।” बोल्टनले म्याटिस र पोम्पेओसामू केही प्रश्न उठाए, “हामीले छोडेपछि अफगान सरकार ढल्छ त ? ढले कति छिटो ढल्छ ? हामी निस्के त्यसका प्रतिक्रिया आइएसआइएस, अलकायदा र अन्य आतङ्कवादी समूहले कसरी दिने होलान् ? उनीहरूले अमेरिकामाथि कति छिटो प्रहार गर्लान् ?”
अर्को एक बैठकमा ट्रम्पले २०१९ जनवरीसम्मको म्याद दिए । एक गोप्य कुराकानीमा पोम्पेओले रक्षामन्त्री म्याटिसले समय छँदै हात बाँधेर बसेको अहिले अप्ठ्यारो भएको बताए । अफगानिस्तानमा धेरैभन्दा धेरै मान्छे मानुपर्ने थियो भन्ने उनको आसय थियो । एक बैठकमा म्याटिसले ट्रम्पलाई सचेत पारे, “हामी युद्ध अन्त्य गर्दैछौँ भनौँ । फर्किँदै छौँ भन्ने शब्द प्रयोग नगरौँ ।” ट्रम्पले स्वीकारे । उनले भने, “हामी १८ वर्षसम्म लड्यौँ । ठूलो काम फत्ते ग¥यौँ । कसैले जोरी खोज्छ भने नराम्रो दनक खानेछ भन्नुपर्छ हामीले ।” फेरि उनले सिरिया, इराक र यमनबाट फर्किने कुरा गरे । उनले म्याटिसलाई भने, “तिमीलाई मैले असीमित अधिकार दिएको थिएँ । तिमी हार्दै छौ । तिमी असफल भयौ ।” म्याटिसले गम्भीर जवाफ दिए, “हाम्रा धेरै मान्छे र कुटनीतिज्ञहरू नमरुन् भनेर अलि ढिलो गर्दा कसो होला ?” ट्रम्पले गर्जिँदै हुन्न भने ।
ट्रम्पले आफ्नो मात्र सोचेको अरूका कुरा नसुनेकोमा धेरै अधिकारीहरू भित्रभित्रै रिसाए । ट्रम्पले राजनीतिक मूल्य चुकाउनुपर्ने पोम्पेओको अनुमान थियो । म्याटिससँगको ट्रम्प खुसी नहुनाले अन्त्यमा उनले राजीनामा दिने सोचे । राजीनामा पत्रसँगै उनले ट्रम्पलाई अफगानिस्तानबाट निस्किने योजनाको खाका पनि दिए । उनी जाँदाजाँदै केही गरेको सन्देश दिन चाहन्थे । म्याटिस गएपछि शानहान आए । उता पोम्पेओले खलिलजादलाई तालिबानहरूसँगको वार्ता सकेसम्म लम्ब्याउन भनिरहेका थिए । यद्यपि कूटनीतिक प्रयास विफल हुने देखिन्थ्यो । अमेरिकाले बाहिरिने सोच्दै छ भन्ने थाहा पाए उनीहरू तल पर्न राजी हुने थिएनन् । उनीहरूको भनाइ नै थियो, “उनीहरूसँग घडी छ, समय हामीसँग छ ।” उनीहरू कुर्न तयार थिए । पोम्पेओ सम्झौता गरेर विजयी भएको घोषणा गर्न चाहन्थे । जे होस् फेब्रुअरी ५ सम्ममा अमेरिका अफगानिस्तानबाट निस्कियो तय भयो ।

सहयोगी केलीसँग डोनाल्ड ट्रम्प

ट्रम्प प्रशासन
ट्रम्पको प्रशासन भद्रगोल थियो । ट्रम्पको आफ्नै दैनिकी दिउँसोपख मात्र सुरु हुन्थ्यो । बिहान उनी सरकारभित्र र बाहिरका धेरै मानिसहरूसँग फोनमा कुरा गरेर बिताउँथे । यो देखेर बोल्टनले ठूला बुश सम्झिए । ठूला बुश बिहान ८ बजेदेखि नै सक्रिय हुन्थे । बिहान गुप्तचरहरूको ब्रिफिङ सुनेपछि मात्र उनले दिनको काम थाल्थे । भोलिको कार्यतालिका अघिल्लो दिन नै तय हुन्थ्यो । ट्रम्प भने हप्ताको दुई दिन मात्र गुप्तचरी ब्रिफिङमा बस्थे । ती बैठकमा गुप्तचरहरूभन्दा बढी उनी नै बोल्थे ।
ट्रम्पले राष्ट्रपतिको मर्यादा नै धरापमा पार्ने क्रियाकलाप पनि गरे । उनी आफ्नो प्रतिशोधी भावना कहिल्यै लुकाएनन् । सन् २०१६ को निर्वाचनमा ट्रम्पमाथि गुप्तचरी गरेको आरोपमा सीआइए प्रमुख जोन ब्रेनानलाई ट्रम्पले निकै सास्ती दिए । ब्रेनानले सीआइएमा राजनीति गरेको ट्रम्पको आरोप थियो । सुरक्षाको नाममा ट्रम्पले धेरै व्यक्तिहरूलाई दुःख दिए । पछिमात्र सहयोगी केलीले उनलाई निजी झमेलाहरूबाट बाहिर निकाले । केलीले यस्तो व्यवहार ‘राष्ट्रपतिस्तर’ को नभएको भनेर ट्रम्पलाई सम्झाएका थिए ।
केलीको छोरा सन् २०१० मा अफगानिस्तानमा मारिएका थिए । ट्रम्पले इराक र अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णय गर्दा केलीले धेरै चित्त दुखाए । आफ्नो छोराको ‘सहादत’ बित्थामा गएकोमा उनी दुःखी थिए । ट्रम्पले एकचोटि भनेका थिए, “भेनेजुयला कब्जा गर्न रमाइलो होला है ।” ट्रम्पका यस्ता हलुका टिप्पणीले केली मर्माहत हुन्थे । लडाइँमा पर्नेहरूप्रति ट्रम्प संवेदनशील नभएको उनको गुनासो थियो ।
मरिसकेका व्यक्तिलाई पनि ट्रम्पले छोडेनन् । उनी प्रथम महिला बारबारा बुशको अन्त्यष्टिमा सहभागी भएनन् । आफ्नो निजी शत्रुता साँध्न उनी सांसद जोन म्याकेनको अन्त्यष्टिमा सहभागी भएनन् । म्याकेन परिवार पनि ट्रम्पलाई अन्त्यष्टिमा देख्न चाहन्थेन ।

आप्रवासन समस्या
ट्रम्पको आप्रवासी नीति गञ्जागोल थियो । कानुन र प्रशासनमा अनेक झमेला थिए । इरानसँग आणविक सन्धि तोडेको दिनको भोलिपल्ट उच्च अधिकारीहरू क्रिश्जेन निल्सन र जेफ सेसनसँग ट्रम्प बैठकमा थिए । त्यहाँ उनले भने, “हाम्रो सीमा बन्द गर्न किन सक्दैनौँ ?” निल्सनले आफ्नो विभागमा देखापरेका समस्याहरूको लामो विवरण सुनाइन् । ट्रम्पले सबैका अगाडि भने, “तिम्रो कुरा गलत छ । सीमा बन्द गर्न केही बाधा छैन । तिनीहरूलाई हाम्रो देश बन्द छ भनिदेऊ । हामीसँग व्यवस्थापन गर्ने कर्मचारी छैनन् भनिदेऊ । भैगो । सिनेमा हल भरियो भनेजस्तै हो ।”
केलीले निल्सनलाई ढाडस दिन खोजे किनभने उनकै सहयोगमा निल्सनले सो पद हात पारेकी थिइन् । किश्जेनले आप्रवासनको समस्या आफ्नो विभागमा नपर्ने बताए । निल्सनमाथि खनिएपछि ट्रम्पले भने, “मैले यहीँ मुद्दा लिएर चुनाव जितेको हुँ । यस्तो चालले म अर्कोचोटि निर्वाचित नहुने भएँ ।” यस मुद्दामा ट्रम्प राजनीतिक यथार्थभन्दा टाढा रहेको बोल्टन लेख्छन् । उनी सीमामा कडाई गरेर अवैध र अनुचित बसाइसराइको समस्या हल हुने उल्लेख गर्छन् ।
जून २० पछि ट्रम्प अलि ताते । अवैध आप्रवासनप्रति ‘शून्य सहनशीलता’ को आदेश जारी भयो । तर कुनै ठोस योजना बनेन । नीति निर्माणको झमेलामा काम अल्झिरह्यो । निल्सनले किनार लगाउन नसक्ने देखेपछि ट्रम्पले बोल्टनलाई योजना बनाउने जिम्मेवारी सुम्पे । आप्रवासनबारे बोल्टनको धारणा यस्तो थियो, “वैध र नियन्त्रित आप्रवासनले अमेरिकालाई लाभ हुन्छ र अवैध आप्रवासनले अमेरिकाको सार्वभौमिकता धरापमा पर्छ ।”
अर्को एक बैठकमा ट्रम्पले भने, “हामी राष्ट्रिय संकटकालको स्थितिमा छौँ ।” पेन्टागनले सीमामा पर्खाल ठड्याउन बजेट नछुट्याएको भनेर उनी बम्किए । सीमामा अवैध आप्रवासीहरूको लावालस्कर लागेको समाचारले उनी आत्तिएका थिए । आफ्नो सीमा नीति विफल हुनुमा ट्रम्पले उच्च अधिकारीहरूलाई दोष दिने संभावना प्रबल हुँदै गयो । ट्रम्प राष्ट्रिय सङ्कटकाल घोषणा गर्न चाहन्थे । उनले दक्षिणी सीमामा ध्यान दिन उच्च अधिकारीहरूसँग छलफल गरे । यता बोल्टनले अवैध आप्रवासन रोक्न एक पानाको ‘योजना’ लेखेर ट्रम्पलाई दिए । त्यसमा केही कानुनहरू संशोधन गर्नुपर्ने सुझाव थियो । सो योजना बोल्टनले अन्य अधिकारीहरूसँग मिलेर बनाएका थिए । तर ट्रम्पले जथाभावी ट्वीट गरिरहे र सीमा बन्द गर्ने आदेश मस्यौदा गर्न लगाए ।
एउटा उच्चस्तरीय बैठकमा केलीले बोल्टनलाई आप्रवासन समस्या कसरी हल गर्ने भनी बोल्टनलाई सोधे । बोल्टनले आफ्नो योजनाबारे सिधै ट्रम्पसँग कुरा गर्ने बताए । बैठकमा पोम्पेओ, केली, निल्सन आदि उपस्थित थिए । बोल्टनको कठोर वचनले केलीले मन दुखाए । अर्को बैठकमा ट्रम्पले फेरि पनि रुखो बोलेपछि केली निन्याउरो बने । २०१८ डिसेम्बरतिर केलीको ठाउँमा अरू कसैलाई ल्याउने सङ्केत देखियो । केलीले पनि राजीनामा दिने मन बनाइसकेका थिए । बोल्टनले चुनावअघि राजीनामा नदिन भने । त्यसले निर्वाचन परिणाम बिग्रने उनको तर्क थियो । केलीले ‘त्यसो भए राम्रै होला’ भने ।
बोल्टनले दिएको योजनाको पाना ट्रम्पले खल्तीमा राखिरहे । निर्वाचनअघि त्यसलाई लागू गर्न नसकिने ट्रम्पले बताए । सो योजना कहिल्यै कार्यान्वयनमा आएन । तर, ट्रम्पले त्यसका केही बुँदाहरू बेलाबखत दोहो¥याइरहे । उनले आप्रवासन सम्बन्धमा कहिल्यै ठोस नीति बनाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *