युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
अमेरिकाका भेनेजुयली राष्ट्रपति ग्वाइडो
माडुरो सरकारले ह्वाँ ग्वाइडोलाई रिहा ग¥यो । बोल्टनले अमेरिका खेल्न सक्ने मौका देखे । उनले ट्रम्पलाई भेनेजुयलामा आर्थिक प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव राखे । ट्रम्पले माडुरो कडा भएको बताए । तर माडुरोको सत्ता जाने पनि आशङ्का गरे । यो ट्रम्पको पुरानै चाला थियो । २०१८ सेप्टेम्बर २५ मा उनले भेनेजुयलाको सेनाले चाहे माडुरोलाई छिनभरमै सत्ताच्यूत गर्न सक्ने बताएका थिए । तैपनि उनले बोल्टनलाई सबै विकल्पहरू खुला राख्न भने । बोल्टनले डनफोर्डसँग कुनै विपत्ति आइलागे भेनेजुयलास्थित अमेरिकी अधिकारीहरूलाई कसरी उद्धार गर्ने भन्ने विषयमा छलफल गरे ।
सुरुमा बोल्टन भेनेजुयलामाथि आर्थिक नाकाबन्दी लगाउने पक्षमा थिए । पछि उनलाई ग्वाइडोलाई राजनीतिक मान्यता दिनु त्यो भन्दा महत्वपूर्ण हो भन्ने लाग्यो । उनले दुवै दाउ एकैचोटि चाल्ने सोचे । त्यसको लागि अमेरिकाको फेडरल बैंकमार्फत् काम अगाडि बढाउने सोचियो । यसो गरे विश्वका अन्य बैङ्कहरूले उसले लगाएको नाकाबन्दी उल्लङ्घन गर्ने साहस नगर्ने बोल्टनको अनुमान थियो ।
भेनेजुयलामा तनाव चर्किँदै थियो । विपक्षीहरू सडकमा उत्रिँदै थिए । राजधानी काराकासका गरिब बस्तीहरूबाट जनता विरोधमा उत्रेको र प्रदर्शनकारीहरूले विमानस्थल कब्जा गरेको बोल्टन दाबी गर्छन् । पूर्वराष्ट्रपति चाभेज र माडुरोले सामाजिक सुरक्षाका आफ्ना कार्यक्रमहरूको रक्षाको लागि खडा गरेको लडाकू दल ‘कलेक्टिभस’ लाई बोल्टन लागुपदार्थ तस्कर र गुण्डादलको रूपमा चित्रण गर्छन् । विरोधीहरूले गाली गर्नु स्वाभाविक छ । विपक्षीहरूलाई माडुरो सरकारले नियन्त्रण गर्दै गयो । यसमा बोल्टन क्युबाको हात देख्छन् ।
अमेरिकाले भेनेजुयलाको सेनामा फाटो ल्याउन धेरै कोसिस ग¥यो । रक्षामन्त्री भ्लादिमिर पाड्रिनो र विदेशमन्त्री जर्ज आरिएजाले विपक्षीहरूसँग उनीहरूको ‘राष्ट्रिय सभा’ ले भगौडा सेनालाई अभयदान दिन्छ वा दिन्न भनी सल्लाह गरेको बोल्टन दाबी गर्छन् । भेनेजुयलाको समाजमा देखिएको यही अन्योलबाट सकेसम्म धेरै फाइला लिन बोल्टन मरिमेटेर लाग्छन् । अगस्ट ४ मा माडुरोमाथि भएको ड्रोन हमला जोन बोल्टनले गराएको माडुरो सरकारले आरोप लगायो । यो सुनेर बोल्टन खुसी भए ।
राष्ट्रिय सभाले ग्वाइडोलाई अन्तरिम राष्ट्रपति बनाए अमेरिकाले त्यसलाई मान्यता दिनुपर्ने बोल्टनले सोचे । पोम्पेओ, कडलो, मनुचिनलगायत उच्च अधिकारीहरूले त्यसमा सहमति जनाए । मनुचिनले भने, “माडुरोलाई अवैधानिक भनेपछि ग्वाइडोको समर्थन गर्नैप¥यो ।” ल्याटिन अमेरिकाका १२ देशहरूलाई समेटेर संरा अमेरिकीले ‘भेनेजुयला सङ्कट’ को ‘शान्तिपूर्ण समाधान’ का निम्ति एउटा सङ्गठन बनाएको थियो । सन् २०१७ अगस्टमा बनेको सो सङ्गठनलाई ‘लिमा समूह’ भनिन्छ । बोल्टनलगायत अधिकारीहरूले लिमा समूहका देशहरूलाई पनि ग्वाइडोलाई मान्यता दिन लगाउने निधो गरे ।
भोलिपल्ट बोल्टनले ट्रम्पसँग कुरा गरे । माडुरोलाई सत्ताच्यूत गरेपछि भेनेजुयलाको तेल खानीमा उनले चासो लिए । त्यसबाट रुस र चीनले फाइदा लिन नहुने ट्रम्पको विचार थियो । त्यसपछि बोल्टनले उपराष्ट्रपति पेन्स र फ्लोरिडा राज्यका सांसदहरूसँग सरसल्लाह गरे । सांसद मार्को रुबियोले भने, “यो अन्तिम मौका हो ।” उनले थपे, “यसमा सफल भए यो अमेरिकी विदेशनीतिको ठूलो विजय हुनेछ ।” उनीहरूले माडुरो सरकारलाई घूसखोर भनी गाली गरे । ग्वाइडोको सरकारलाई अमेरिकाले तुरुन्तै मान्यता दिने उनीहरूको विचारमा पेन्स र ट्रम्प दुवै सहमत भए । ट्रम्पले भने, “ग्वाइडोले ‘म अरूप्रति होइन, संरा अमेरिकाप्रति पूर्णतः बफादार रहनेछु’ भनेको सुन्न चाहन्छु ।”
ट्रम्पले सेना परिचालनको विकल्प पनि खुला राखेको देखेर फ्लोरिडाका सांसदहरू छक्क परे । रुबियोलाई भने यो कुरा पहिल्यै थाहा थियो । ट्रम्पको यो विचारमा प्रतिक्रिया नजनाएर बोल्टनले माहोल बिगारेनन् । उनी ओबामा सरकारलाई पनि दोष दिन्छन् । ओबामाका विदेशमन्त्री जोन केरीले मुनरो नीति अन्त्य गर्ने घोषणा गरेर सारा प्रशासन र सुरक्षा निकायलाई ठण्डा पारेको बोल्टनले महसुस गरे । ट्रम्पले मुनरो नीति चालू राख्छु भनेको सुन्दा बोल्टन तीन बित्ता उफ्रेका थिए ।
पेन्सले ग्वाइडोसँग कुरा गरे । उनको समर्थनमा एउटा भिडियो पनि वितरण गरे । जोखिम मोलेर आफूलाई समर्थन गरेकोमा ग्वाइडो खुसी भए । बोल्टनले त्यो फोनवार्तालाई ऐतिहासिक भने । भोलिपल्ट ग्वाइडोले काराकसमा ठूलो भीडलाई सम्बोधन गरे । अमेरिकी दूतावासले त्यसलाई चाभेज र माडुरोको शासनकालकै सबैभन्दा ठूलो जुलुस भन्यो । जुलुसमै ग्वाइडोले अन्तरिम राष्ट्रपतिको शपथ खाए । ट्रम्पको कार्यालयले उनको समर्थनमा वक्तव्य जारी ग¥यो । जुलुसमा भेनेजुयलाको सेनाले हस्तक्षेप गरेन । उता लिमा समूहले पनि ग्वाइडोको समर्थन ग¥यो ।

भनेजुयलाका राष्ट्रपति निकोलस माडुरोको हत्या गर्ने उद्देश्यले गरिएको ड्रोनबम हमलाको क्षण
प्रशासनको ‘झमेला’
भोलिपल्ट रक्षामन्त्री पेड्रिनो र सेनाका जर्नेलहरूले पत्रकार सम्मेलनमार्फत् माडुरोप्रति ऐक्यबद्धता जाहेर गरे । यो अमेरिकाले चाहेभन्दा विपरीत थियो । विपक्षीहरू ८० प्रतिशतभन्दा बढी भेनेजुयली सेना दरिद्र हुनाले आफ्नो पक्षमा लाग्ने आकलन गरेको थियो । ग्वाइडो कहिलेकाहीँ आफूसँग ९० प्रतिशत जनताले समर्थन रहेको डिङ हाँक्थे । भेनेजुयाली सेनाले माडुरोको समर्थन गरेपछि बोल्टनले उनीहरूलाई चाभेज र माडुरोले दसकौँ लगाएर भ्रष्ट बनाएको आरोप लगाए । तैपनि जर्नेलहरूले विद्रोह दबाउन तल्लो तहका सैनिकहरूलाई आदेश नदिनुलाई बोल्टनले उनीहरूलाई आफ्नो पक्षमा ल्याउने ‘मौका’ को रूपमा हेरे ।
विदेशीहरू पनि अमेरिकी षड्यन्त्रमा सहयोग गर्न लालायित थिए । जस्तो बेलायतका विदेशमन्त्री जेरेमी हन्टले अमेरिकाले भने बैङ्क अफ इङल्यान्डमार्फत भेनेजुयली स्वर्ण निक्षेप ठप्प पार्ने प्रस्ताव राखे । यसो गरे भेनेजुयलाले कुनै कारोबार गर्न नसक्ने हन्टको अनुमान थियो । यी उपायहरू अमेरिकाले अपनाइसकेको थियो । यता विदेशमन्त्री पोम्पेओ माडुरो सरकारको ‘कलेक्टिभस’ ले अमेरिकी दूतावासका कर्मचारीहरूमाथि हमला गर्न सक्ने देखेर चिन्तित भए ।
यस्तैमा ट्रम्पले पुनः आशङ्का प्रकट गरे । माडुरोलाई सङ्केत गर्दै उनले भने, “पूरै सेना उसको पछाडि छ । माडुरो कडा छ भनेकै हुँ । यो बच्चो (ग्वाइडो), यसको बारेमा कसैले सुनेको छैन ।” बोल्टनले सैन्य अधिकारीहरूले विपक्षीहरूसँग मोलतोल गरिरहेको र समयक्रममा सेनामा विग्रह आउने बताए । भोलिपल्ट पोम्पेओले अन्तिमसम्म लड्ने बताए । त्यसपछि उनीहरूले अन्तर्राष्ट्रिय मुद्राकोष, ठूला बैङ्कलगायत सङ्घसंस्थाहरूलाई ग्वाइडोको पक्षमा उभिन पत्राचार गर्ने भए । पोम्पेओलाई काराकासमा रहेका अमेरिकी अधिकारीहरूको चिन्ता थियो । त्यसैले खुकुलोगरी काम गर्ने प्रस्ताव गरे । तर, बोल्टन माडुरो सरकारलाई कुनै छुट दिन चाहन्थेनन् ।
भेनेजुयली विपक्षीहरू एक दिन हार्ने ट्रम्पको अनुमान थियो । बोल्टनले उनलाई नाकाबन्दीले भेनेजुयला समस्यामा पर्ने बताए । ट्रम्पले नाकाबन्दीको अनुमति दिए । उनले काराकसका अमेरिकी अधिकारीहरूलाई फिर्ता गर्न पनि भने । मनुचिनले पनि नाकाबन्दीमा अल्झो हालेनन् । ग्वाइडोले क्युबालाई आफ्ना जनता भेनेजुयलाबाट फिर्ता लैजान आह्वान गरे ।
जनवरी २६ मा सुरक्षा परिषद्को बैठक बस्यो । रुस र चीनको भिटोका कारण राष्ट्रसङ्घको सुरक्षा परिषद् अमेरिकाको पक्षमा जाने थिएन । युरोपेलीहरूले भने अमेरिकाको पक्ष लिए । उनीहरूले माडुरोले ८ दिनमा पुनःनिर्वाचन गर्नुपर्ने राय राखे । युरोपेली युनियनले भेनेजुयलामा सत्ताविद्रोह गर्न खोजेको रुसले आरोप लगायो । वासिङटनस्थित भेनेजुयली सैन्य अधिकारीले ग्वाइडोप्रति समर्थन जनाए । बिस्तारै केही सैनिकहरू ग्वाइडोको पक्षमा लागे ।
अमेरिकी प्रशासनको एउटा तप्काले भेनेजुयलाविरुद्ध नाकाबन्दी लगाउन अवरोध हाल्यो । उसले भेनेजुयलास्थित अमेरिकी कर्मचारीहरू समस्यामा पर्ने तर्क राख्यो । सरकारी अधिकारी किम ब्रियरले नाकाबन्दी लगाउन ३० दिनको भाका मागे । बोल्टनले ती अधिकारीहरू सुरक्षाकर्मी भएको, कूटनीतिज्ञ नभएको तर्क दिए । उनी प्रशासनसँग रिसाए । प्रशासनको अवरोधले पोम्पेओ र बोल्टन निराश भए । अमेरिकी प्रशासनले माडुरोलाई सहयोग गरेको उनीहरूले आपसमा खासखुस गरे । यता अर्थमन्त्री मनुचिनले भेनेजुयलामा सक्रिय अमेरिकी तेल कम्पनीका कर्मचारीहरूसँग कुरा गरेर नाकाबन्दी लगाउन सक्ने निष्कर्ष सुनाए । भेनेजुयलामा जे पनि हुनसक्ने भएकोले ती कम्पनीहरूले तेल लिने दोस्रो विकल्प पनि खुला राखेर काम गरेको हुनाले त्यसो गर्न सम्भव भएको थियो ।

कोलम्बियाली राष्ट्रपति इभान ड्युकसँग डोनाल्ड ट्रम्प
कोलम्बिया
ट्रम्पले बोल्टनलाई कोलम्बियामा ५ हजार अमेरिकी सेना पठाउने प्रस्ताव राखे । यो समाचारले कोलम्बियाका विदेशमन्त्री कार्लोस ट्रुजिल्लो निकै खुसी भएको बोल्टनले महसुस गरे । भेनेजुयलामाथिको नाकाबन्दीले असर गर्दै थियो । माडुरोका केही सहयोगीहरूले आफ्नो धनमाल र परिवार बाहिर पठाए । यो देखेर बोल्टन खुसी भए ।
जनवरी ३० मा ग्वाइडोले ठूलो आमसभा गर्ने भए । ट्रम्पले ग्वाइडोलाई बधाई दिन फोन गरे । ट्रम्पले शुभकामना दिए र सभालाई ऐतिहासिक भने । ग्वाइडोले प्रजातन्त्रको निम्ति ट्रम्पले गरेको आह्वान र उनको दृढ नेतृत्वका लागि धन्यवाद भने । ट्रम्पले आफूसँगको कुराकानी सभामा सुनाउन मिल्ने बताए । ग्वाइडोले तानाशाहीविरुद्ध लड्ने हौसला मिलेको बताए । यो फोनवार्ताको खुब मिडियाबाजी भयो । यस्तै ग्वाइडोले आफू सफल भए भेनेजुयलाको सरकारी तेल खानीका कर्मचारीहरू नियुक्तिमा अमेरिकालाई छुट दिने वाचा गरेका थिए । भेनेजुयलाका सरकारी उद्योगका केही अधिकारीहरूले राज्यको धन विदेश पठाएर उतै भाग्ने प्रयास गरेको खबर सुनेर बोल्टन उत्साहित भए । अमेरिकाले लगाएको नाकाबन्दीले केही रुसी र चिनियाँ कम्पनीहरूले पनि भेनेजुयलाबाट हात छोड्न खोजेकोदेखि बोल्टन निकै खुसी थिए । उनलाई भेनेजुयलामा ‘क्रान्ति’ हुँदै गरेको भान परिसकेको थियो ।
यस्तो बेला ग्वाइडोले चीन र रुसमा फोन गरेर आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भन्छन् कि भनी बोल्टनले अपेक्षा लिएका थिए । यता भेनेजुयलामा माडुरोका दिन सकिएपछि अर्थतन्त्र कसरी सञ्चालन गर्ने भन्ने विषयमा अमेरिकी प्रशासनमा खाका कोरिँदै थियो । चाभेज र माडुरोले भेनेजुयलाको गलत व्यवस्थापन गरेर जनतालाई गरिबीमा राखेको बोल्टन आरोप लगाउँछन् । फेरि ल्याटिन अमेरिकाकै सबैभन्दा बलियो अर्थतन्त्र भनी उनी भेनेजुयलाकै नाम लिन्छन् । यसले आफ्नो धोती आफै फाल्छन् ।
माडुरो सरकारलाई क्युबाले सघाइरहेको बोल्टनको ठहर थियो । यद्यपि देशभरि विरोधप्रदर्शन जारी रह्यो । सेनाका उच्च अधिकारी, लेबर युनियनका नेताहरू र पूर्व मन्त्रीहरूलाई हातमा लिन अमेरिकाले हरसम्भव उपाय ग¥यो । उनीहरूलाई लोभ्याउन उसले कुनै कसर बाँकी राखेन ।
यस्तैमा अमेरिकाले अर्को रणनीति अपनायो । उसले भेनेजुयलामा मानवीय सहायता पठाउने कार्यक्रम बनायो । ती सामानहरू उसले कोलम्बिया र ब्राजिल पठाउने भयो । यसबेलासम्म माडुरो सरकारले भेनेजुयलाको सीमा बन्द गरिसकेको थियो र नाकाहरूमा कडाइ गरेको थियो । मानवीय सहायता भेनेजुयलामा घुसाउन सके, त्यहाँका गरिब जनताको मन जित्न सकिने र सीमामा माडुरोको नियन्त्रण खुकुलो भएको अर्थ लाग्ने हुनाले अमेरिकाले यो चालबाजी गरेको थियो ।
कोलम्बियाका राष्ट्रपति तन ड्युक फेब्रुअरी १३ मा ह्वाइट हाउस गए र भेनेजुयलाको विषयमा कुराकानी गरे । ट्रम्पले ६ महिनाअघि आफूले माडुरोसँग कुरा गरेको भए के हुन्थ्यो भनी सोधे । तनले माडुरोलाई उपहार दिएजस्तै हुन्थ्यो भने । त्यसमा थप्दै तनले भने, “अहिले कुरा गरे झन् ठूलो गल्ती हुन्छ ।” ट्रम्पले होइन भन्न सकेनन् । बोल्टनको हर हाँस्यो । माडुरो र ग्वाइडोमध्ये कसको ओज छ भनी ट्रम्पले सोधेको प्रश्नमा तनले दुई महिनाअघि माडुरोको पल्ला भारी भएको र अहिले ग्वाइडोको ओज बढेको बताए ।
Leave a Reply