भर्खरै :

भरतपुरमा सडक विस्तार : कोही दुःखी, कोही खुसी

भरतपुरमा सडक विस्तार : कोही दुःखी, कोही खुसी

भरतपुर महानगरपालिकाअन्तर्गत नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको सडक चौडा गर्न सडक डिभिजन कार्यालयले दुई वर्षदेखि सुरु गरेको हो । ६ लेनको सडक चौडा बनाउँदा धेरै घर सडकको नक्साभित्र परेकोले मुख्यतः व्यवसायीहरू यसको मारमा परेका छन् । नक्साभित्र परेका घर र टहराहरू सडक डिभिजन कार्यालयले डोजर लगाएर भत्काएको छ । ३५ दिने सूचना जारी गरे पनि घर मालिक, व्यवसायीहरूले आफै नभत्काएपछि सडक डिभिजन कार्यालयले पुस ८ गतेदेखि डोजर लगाउन सुरु गरेको हो ।
कोरोना महामारीको कारणले आर्थिक टाट पल्टेका बेला घर सटरहरू भत्काएर व्यवसायीहरू थप मारमा परेको कुरा व्यापारीहरूको छ । तर, घर र सटरहरू भत्किसकेकोले धेरै व्यापारीहरू स्वयं सरसफाइ र मर्मत सम्भार गर्नमा लागिपरेका छन् । केही व्यापार व्यवसायीहरूको भने भत्केका सटर र घरहरू मर्मत गर्न मालिकले वास्ता नगरेकोमा गुनासो गरिरहेका सुनिन्थ्यो ।
भरतपुर नारायणगढ बजारमा दिन प्रतिदिन सवारी साधन पैदलयात्रीहरूको चाप बढ्दो छ । साँघुरो सडकको कारण दुर्घटना बढ्दो छ । जथाभावी सवारी साधनको पार्किङले पैदल यात्रीहरूलाई यात्रा गर्न जोखिम छ । पूर्व पश्चिम राजमार्ग, काठमाडौँ जाने मुख्य सडक पनि नारायणगढ बजार भएर नै जाने भएकोले सडकमा सवारीको चाप र दुर्घटना जोखिम बढेको हो । त्यसैले सडक चौडा गर्नु आवश्यक छ । बढ्दो सहरीकरणले ल्याएको सम्भावित सडक दुर्घटनाको समस्यालाई समाधान गर्न सडक डिभिजन, महानगरले गरेको प्रयासलाई कतिपय नागरिकले भने ठीक मानेका छन् ।
व्यापारीक चहलपहल मुख्य थलो नारायणगढ बजार खण्डहर बन्न पुगेको छ । छिटोभन्दा छिटो व्यवसाय सञ्चालनमा ल्याउन रातदिन नभनी व्यवसायी मालिक र मर्मत सुधार गर्न मजदुरहरू काममा खटिरहेका छन् । बजार पहिलेकै अवस्थामा आउन दुईतीन महिनाभन्दा बढी समय लाग्ने व्यवसायीहरूको कथन छ । आज घर मालिकहरूले सहरी विकास तथा सडक डिभिजनको मापदण्डलाई मिचेर घर टहरा बनाउँदा व्यापार व्यवसायीहरूले सास्ती पाएको नागरिकहरूको बुझाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *