इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ग्वाइडोको कोलम्बिया भ्रमण
भेनेजुयलाबाट बोल्टनले धेरै फर्जी खबरहरू सुने । तिनले उनलाई उत्तेजित पाथ्र्यो र सत्य थाहा पाउँदा निराश बनाउँथ्यो । कति अफवाहहरूलाई उनले चिहानसम्म सँगै लाने प्रण गरेको पनि देखिन्छ । उदाहरणको लागि भेनेजुयलाका सैन्य कमान्डर जिजस स्वारेजले राष्ट्रपति माडुरोको साथ छोडेको हल्ला चल्यो । त्यस्तै रक्षामन्त्री पाड्रिनोलगायत अन्य चार उच्च अधिकारी विपक्षीको पक्षमा लागे माफी पाउने हल्ला चल्यो । हल्ला पनि अमेरिकी गुप्तचर निकायको महत्वपूर्ण हतियार थियो ।
ट्रम्प प्रशासनले हतारो नगरेकोमा बोल्टन निराश थिए । उनी ओबामाको कार्यकालका ८ वर्षमा भेनेजुयला, क्युबा र निकारागुआलाई शत्रुको रूपमा नहेरेकोमा रुष्ट थिए । ल्याटिन अमेरिकी देशहरूमा रुस, चीन, इरान र क्युबाको प्रभाव बढेकोमा उनी चिन्तित थिए । ओबामाकै नीतिको असर ट्रम्पको सरकारमा परेकोमा उनलाई दुःख लागिरहेको थियो । यस्तैमा फेब्रुअरी २३ गते भेनेजुयलाका विपक्षीहरूले अमेरिकी ‘मानवीय’ सहायता सामग्री ब्राजिल र कोलम्बियाको बाटो हुँदै देशभित्र घुसाउने रणनीति बनाए । उनीहरूले राजधानी काराकसमा ६ जना व्यक्तिको हस्ताक्षर सङ्कलन गरेर सहायताको समर्थन पनि गरे । अमेरिकाले कोलम्बियाको कुकुतामा कार्गो जहाजहरू ओराल्यो । कुकुता भेनेजुयला पस्ने नाका हो ।
फेब्रुअरी १८ मा ट्रम्पले मायामीमा आयोजित सभालाई सम्बोधन गरे । त्यहाँ उपस्थित मानिसहरूको भीडलाई ग्वाइडोको ऐक्यबद्धता जुलुसमा नफेरेको बोल्टनलाई खल्लो लाग्यो । त्यस्तै कोलम्बियाका राष्ट्रपति ड्युकले कुकुतामा पानामा, चिली र पराग्वेका राष्ट्रपतिहरूसँग भेट्ने बताए । यस्तो गरे भेनेजुयलाको “क्रान्ति” संरा अमेरिकामा पाकेको होइन भन्ने अर्थ लाथ्यो । यसमा भने बोल्टनलाई सन्तोष लाग्यो । कुकुतामा अमेरिकी ‘मानवीय’ सहायताहरूको चाङ लागिरहँदा माडुरो सरकारले सीमामा कडा पहरा दिन थाल्यो । यस्तैमा ग्वाइडो कुकुता जाने कार्यक्रम बन्यो । उनी कन्सर्टमा सहभागी हुन त्यहाँ जाँदै थिए । फर्किने बेला अमेरिकी सहयोग ल्याउने ग्वाइडोको योजना थियो ।
बोल्टन ग्वाइडोको कुकुता भ्रमणको विपक्षमा थिए । यो भ्रमण नाटकीय मात्र नभई घातक पनि बन्न सक्ने उनले अड्कल काटे । एकचोटि सीमा पार गरेपछि ग्वाइडो घर फर्किन गाह्रो हुने थियो । यसले गर्दा विपक्षीहरूको नीति निर्माणमाथि उनको पकड खुकुलो हुने थियो । उनी बाहिर गएको बेला माडुरोले ‘उनी डराएर भागेको प्रचार गर्न सक्ने’ सम्भावना बोल्टनले देखे । साथै ग्वाइडो नाकामा पुग्दा भिडन्त हुनसक्ने वा रक्तपात पनि हुनसक्थ्यो रे ।
बोल्टन भेनेजुयलामा लवलीन भइसकेका थिए । यसको लागि उनले कोरिया भ्रमण पनि रद्द गरे । सीमामा अमेरिकाले उचालेका पेमोनेस जातिका युवाहरू भेनेजुयलाको राष्ट्रिय गार्डसँग भिड्दै थियो । उनीहरूले भेनेजुयला जाने केही सडक नियन्त्रणमा लिएको सुनेर बोल्टन खुसी भए । ब्राजिलसँगको सीमामा पनि भीडभाड बढ्दै थियो । दुवै देशको नाकाबाट सहायता सामग्रीहरू पठाउने अमेरिकी योजना थियो । सीमामा खटिएका केही सैनिकहरूलाई विपक्षीहरूले किन्ने प्रयास गर्दै थिए । उच्च तहबाट अफिसरहरूलाई किन्न नसकेकोमा बोल्टन अधैर्य भए । सेनाका मान्छेहरू ठूलो सङ्ख्यामा आफ्नो पक्षमा नआएकोले उनी अलि व्याकुल पनि थिए । सीमामा सामग्रीहरू राष्ट्रिय गार्ड र कलेक्टिभस लडाकुहरूले रोकेकोमा उनी रुष्ट थिए । यहाँनिर उनी ग्वाइडो र कोलम्बिया सरकारसँग ह्याउ नभएको वा योजनाविहीन भएको आरोप लगाउँछन् ।
ग्वाइडो काराकसबाट कोलम्बिया गए । उनी केही दिन उतै रहे । उनी भेनेजुयला नफर्केको देखेर बोल्टन रिसाए । तर, यसलाई ग्वाइडोको समर्थकहरूले ग्वाइडोको जीतको रूपमा प्रचार गरे । उता कोलम्बिया सरकारलाई भने उसको सेनाले साथ नदिएको बोल्टन अनुमान गर्छन् । कोलम्बियाको सेना माडुरोसँग जुध्न चाहन्नथ्यो ।
ग्वाइडो कोलम्बियाको बोगोटा सहर गए । त्यहाँ लिमा समूहको बैठक बस्दै थियो । यो कुरा बोल्टनलाई मन परेन । उनको अनुपस्थितिमा माडुरोले देशका शत्रुहरूसँग हिमचिम मिलाएको प्रचार गर्न पाउने बोल्टनको अनुमान थियो । बोगोटा पुगेका अमेरिकी उपराष्ट्रपति पेन्सले बोल्टनको आग्रहमा ग्वाइडोलाई घर फर्किन भने । उनको अनुपस्थितिमा माडुरोले विपक्षीहरूबीच लगातार फाटो ल्याइरहेको तर्क पेन्सको थियो । पेन्सले माडुरो सरकारले ‘मानवीय सहायता’ नलिएको हुनाले दण्डस्वरूप नाकाबन्दी चर्काउने आश्वासन पनि दिए । (स्मरणीय छ, एमसीसी सम्झौताका दौरान संरा अमेरिकी मन्त्री डोनाल्ड लुले नेपाली शासकहरूलाई यस्तै धम्की दिएको थियो ।)
बदलिँदो परिस्थितिबारे बोल्टनले ट्रम्पलाई बताए । ट्रम्पले सुनेको नसुन्यै गरे । ट्रम्पले मायामीमा बोल्दा भेनेजुयलाका जर्नेलहरूलाई धम्की दिएका थिए । तर, अहिलेसम्म झन्डै ५ सयजना लालची सैनिकहरू मात्र ग्वाइडोको पक्षमा गएका थिए । उता लिमा समूहको बैठकमा विदेशी नेताहरूले ग्वाइडोको खुब तारिफ गरे । उनी चलाख भएकोमा सबै खुसी भए । यो कुरा ट्रम्पलाई सुनाउनु भनेर बोल्टनले पेन्सलाई बताए ।
लिमा समूहको बैठकपछि ग्वाइडो ल्याटिन अमेरिकी देशहरूको भ्रमणमा निस्के । तब मात्र उनले भेनेजुयला पस्ने बाटो खोज्न थाले । मार्च ३ गते ट्रम्पले ग्वाइडोमा ‘दम नभएको’ बताए र बोल्टनलाई धेरै सक्रियता नदेखाउन भने । तर बोल्टन भेनेजुयलामा ‘क्रान्ति’ गर्ने कामज्वरोले ग्रस्त थिए । त्यसको भोलिपल्ट ग्वाइडो भेनेजुयला फर्के । माडुरोको सरकारले केही गरेन । यो समाचार सुनेर बोल्टनको फोक्सोमा श्वास भरियो । ग्वाइडोको घरफिर्तीलाई उनले विजयको रूपमा हेरे ।
बोल्टनको पुनः सक्रियता
बोल्टन अब भेनेजुयला सरकारका सम्पूर्ण आर्थिक निकायहरू नै ठप्प पार्ने योजनामा लागे । तर, अर्थमन्त्री मनुचिनले उनको बाटोमा ठूलो ढुङ्गा तेस्र्याइरहे । अन्य अधिकारीहरूले अर्थमन्त्रीको विपक्षमा बोले । बोल्टनले भने, “भेनेजुयलामा हामीसँग दुई विकल्प छन् ः जीत वा हार ।” मनुचिनले भेनेजुयलाको अर्थतन्त्र सुकाए त्यहाँका जनता प्रताडित हुने तर्क दिए । माडुरो सरकारले ४० भन्दा बढी ‘मान्छे मारेको’ र सडकमा उत्रिँदा ‘लाखौँ मानिसहरूले ज्यानको बाजी लगाइरहेको’ बोल्टनले जवाफ दिए । “क्रान्ति” को बेला मनुचिनले खालि व्यापारलाई मात्र जोड दिएकोमा बोल्टनले व्यङ्ग्य गरे ।
मार्च ७ मा भेनेजुयलामा बिजुली गयो । केही दिनसम्म लोडसेडिङ भइरह्यो । देशैभरि सञ्चार र यातायात प्रभावित भयो । भेनेजुयला सरकारले संरा अमेरिकालाई दोष दियो । यसबीच केही स्थानहरूमा लुटपाटका घटना भए । यसलाई बोल्टनले चाभेज र माडुरोका नीतिहरूको फल भन्छन् । नयाँ लगानी गर्न नसकेको र विद्युतीय पूर्वाधार मर्मत नगरेको अथ्र्याउँछन् र भेनेजुयला सरकारलाई भ्रष्ट भन्ने मौका छोपिहाल्छन् ।
(यस्तै नीतिदेखि आजित भएर कुनै बेला फिडेल क्यास्त्रोले भन्नुभएको थियो, “साम्राज्यवादीहरूले अर्काको घाँटी थिच्छन् र ‘तैँले सास फेरेको मिलेन’ भन्छन् ।”)
ग्वाइडोले हिंसात्मक जुलुस र हुलदङ्गा जारी राखे । भित्रभित्रै उच्च अधिकारीहरूलाई फकाउने कार्य पनि चालू थियो । यत्तिकैमा अमेरिकी प्रशासनमा सुस्तता आयो । अर्थमन्त्रालयले नाकाबन्दीले धेरै व्यक्तिहरूको ज्यान जाने तर्क अघि सा¥यो । अर्थमन्त्रालयले अमेरिकाको विदेशनीतिलाई नहेरे खालि आफ्नो छाला जोगाउने बाटो लिएकोमा बोल्टन अत्यन्त क्रुद्ध भए ।
यसैबीच विदेशमन्त्री पोम्पेओले काराकसस्थित अमेरिकी दूतावासका कर्मचारी र अन्य अमेरिकी नागरिकहरूलाई फिर्ता बोलाउने निर्णय गरे । उनी अमेरिकीहरूको ज्यान दाउमा राखेर काम गर्न चाहन्नथे । ट्रम्प पनि यसमा संवेदनशील थिए । भेनेजुयलास्थित अमेरिकी दूतावास बन्द गर्ने निर्णय बोल्टनलाई चित्त बुझेन किनभने युरोपेली र अन्य ल्याटिन अमेरिकी देशहरूले दूतावास बन्द गरेका थिएनन् । दूतावास बन्द गर्दा रुस र चीनले खेल्न पाउने उनले अनुमान गरे ।
विदेश मन्त्रालयले भेनेजुयला हेर्ने अधिकारी जिम्मी स्टोरीलाई कोलम्बिया पठायो र त्यहीँबाट गतिविधि गर्न भन्यो । अन्य अधिकारीहरू वासिङटन छोडेर कतै गएनन् । यसले गर्दा माडुरोलाई सत्ताच्यूत गर्न गाह्रो हुने बोल्टनको बुझाइ रह्यो । अर्को अड्चन पनि थियो । भेनेजुयलाका विपक्षीहरूले केही उच्च अधिकारीहरूलाई आफ्नो पक्षमा तान्दै थिए । अमेरिकी अधिकारीहरूले उनीहरूलाई दोषबाट मुक्त गर्न मानेनन् किनभने उनीहरूमाथि अमेरिका सरकारले लागूऔषध तस्करी, भ्रष्टाचार र मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएको थियो । भेनेजुयलामा ‘क्रान्ति’ का गर्न अलिअलि थुक चाट्दा फरक पर्ने थिएन भन्ने बोल्टनको मनोदशा थियो । तिनताका क्युबालीहरू भेनेजुयलाका उच्च अधिकारीहरूको निगरानीमा सक्रिय रहेको र अति कम मान्छेलाई मात्र विपक्षीहरूले तान्न सकेको बोल्टन लेख्छन् ।
यस्तैमा बोल्टनले अर्को चाल चाले । उनले अमेरिकी प्रतिबन्धमा परेका केही उच्च अधिकारीहरूका पत्नी र छोराछोरीलाई प्रतिबन्धबाट फुकुवा गर्नुपर्ने बताए । यसो गर्दा ती अधिकारीहरूले आफूलाई अमेरिका वा विपक्षीले छुट दिनसक्ने सङ्केत बुझ्छन् र आफ्नो पक्षमा लाग्छन् भन्ने थियो । अर्थमन्त्रालयले यसमा पनि भाँजो हाल्यो । बोल्टनलाई असह्य भयो । मनुचिनले विदेश मन्त्रालयको सिफारिस मागे । अवगालबाट जोगिने मनुचिनको मानसिकता देखेर बोल्टन चिढिए । उनले फेरि पनि अर्थमन्त्रालयले अमेरिकी विदेशनीति नपछ्याएको आरोप लगाए ।
भेनेजुयलामा क्युवाको सक्रियताले बोल्टन मर्माहत थिए । उनले हवानालाई अँठ्याउने सोचे । पहिले त उनले क्युबाली बेसबल टोलीलाई अमेरिकामा हुने खेल खेल्नबाट रोके । त्यसपछि उनले हेल्म्स–बर्टन ऐनलाई ब्यूँताए । क्युवाली क्रान्तिताका अमेरिका भागेका धनी क्युवालीहरूको सम्पत्ति क्युवा सरकारले जफत गरेको थियो र अन्य कार्यमा लगाएको थियो । सो ऐनअनुसार अब अमेरिकी क्युवालीहरूले आफ्नो सम्पत्तिमाथि दाबी गर्न अमेरिकी अदालतको ढोका ढक्ढक्याउन पाउने भए । बोल्टनले भेनेजुयलाबाट क्युबा जाने तेलको बाटो पनि बन्द गर्ने सम्भावना पनि केलाए । तर, अमेरिकी सरकारले उनको सोच अनुसार गरेन ।
क्युवाले भेनेजुयलामा स्वास्थ्यकर्मीहरूमार्फत् सेवा गरेको पनि बोल्टनलाई पचेको थिएन । यसले गर्दा भेनेजुयलाका गरिब जनता माडुरो सरकारप्रति कृतज्ञ भइरहेको उनको बुझाइ थियो । यी दृश्यहरू हेरेर बोल्टनले एउटा नयाँ रणनीति सोचे । उनले भेनेजुयाली सेना, क्युवालीहरू र कलेक्टिभ्सबीच फाटो ल्याउनुपर्ने देखे । सेनाले यसै पनि कलेक्टिभसलाई नरुचाएको हुनाले क्युवालीहरूलाई भेनेजुयलामा अवैध घोषणा गरे पुग्ने बोल्टनले देखे ।
नयाँ मोड
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोसँगको भेटमा ट्रम्पले भेनेजुयलामा थप कडा प्रतिबन्ध लगाउने सङ्केत गरे । यसले गर्दा विपक्षीहरूले भेनेजुयाली उच्च अधिकारीहरूलाई फकाउने कार्यलाई तीव्र पारे । यसपालि भेनेजुयलाका प्रमुख वित्तीय केन्द्रहरूलाई तारो बनाउने देखियो । ट्रम्पले भने, “माडुरोलाई कामबाट लघार्ने बेला भयो ।” यता रुसको सहायता भेनेजुयला पुगिरहेको थियो । तैपनि ब्राजिलका रक्षामन्त्री फर्नान्डो अजाभेदोले माडुरोको अन्तिम दिन आएको बोल्टनलाई बताए । नौलो घटनाक्रमबाट बोल्टन निकै उत्साहित थिए ।
मार्च २७ मा ग्वाइडोकी पत्नी रोजालेस ह्वाइट हाउस भ्रमणमा गइन् । रोजालेसले बोल्टनको प्रशंसा गरिन् । ट्रम्पले रुस भेनेजुयलाबाट हट्नुपर्छ भने । ट्रम्पले क्युवालाई उसैको देशमा थुन्न भने । उनले सबैभन्दा कडा आर्थिक प्रतिबन्ध लगाउन अधिकारीहरूलाई आदेश दिए । उनले रोजालेसलाई सेना ग्वाइडोको पक्षमा लाग्न किन ढिलो भइरहेको भनेर सोधे । रोजालेसले क्युबाले भेनेजुयाली सेनासँग निकै निकट रहेर काम गरिरहेको बताइन् । ट्रम्पले भने, “अब म चुप लागेर बस्दिन । मनुचित चीनबाट फर्केलगत्तै कुरा गर्छु ।”
कुराकानीकै क्रममा ट्रम्पले ग्वाइडोलाई कमजोर र माडुरोलाई बलियो भने । माडुरोलाई सत्ताच्यूत गर्न असफल हुनुमा उनले बोल्टनलाई दोष दिए । त्यसलाई बेवास्ता गर्दै बोल्टनले आफ्नो काम जारी राखे । लगातार भेनेजुयलाको विषयमा ट्वीट गरिरहे । रक्षामन्त्री पाड्रिनोले बोल्टनको नाम किटेर विरोध जनाए र माडुरोलाई जनसमर्थन रहेको बताए । यद्यपि आफ्ना ट्वीटहरूले भेनेजुयला ‘थर्केको’ देखेर बोल्टनले सन्तोषको सास फेरे ।
भेनेजुयलाका विपक्षीहरूले सर्वोच्चका न्यायाधीशहरूलाई संविधानसभालाई अवैध घोषणा गर्न ललाइफकाई गर्दै थिए । उनीहरू सफल भए माडुरोको वैधता सकिने योजना थियो । यता ग्वाइडोले सडक तताउन छोडेका थिएनन् । ठाउँठाउँमा ससाना झडपहरू भइरहेका थिए । फेब्रुअरीसम्म पन्ध्र सय भेनेजुयाली सैनिकहरू विपक्षीहरूतिर लागिसकेको बोल्टन दाबी गर्छन् । अमेरिकाले कडा कदम चाले समस्त सेना आफ्नो पक्षमा आउने देखेर बोल्टनले एउटा बैठक डाके । त्यसमा उनले रुसलाई युक्रेन, बाल्टिक देशहरू वा नर्ड स्ट्रीम २ पाइपलाइनमा फसाएर उसको ध्यान मोड्नुपर्ने प्रस्ताव राखे ।
अप्रिल २० मा गुप्तचर निकायका मानुयल क्रिस्टोफर फिगेराले माडुरोको पक्ष छोड्ने सङ्केत बोल्टनले पाए । रक्षामन्त्री र सैन्य अधिकारी मोरेनोलाई समेत आफ्नो पक्षमा तान्ने विपक्षीहरूको प्रयास जारी थियो । विपक्षीहरूले माडुरोलाई सत्ताच्यूत गरेपछि के हुने भन्ने विषयमा उनीहरूसँग बाक्लो छलफल गर्दै थिए । माडुरोलाई हटाएपछि पनि प्रशासनमा उनका समर्थकहरू बाँकी रहने थिए । यसकारण उनीहरूले सङ्क्रमणकालमा सोचीसोची पाइला चाल्नुपर्ने खाँचो देखे ।
उनीहरूले बनाएको योजना यस्तो थियो – सर्वोच्च अदालतले संविधानसभालाई अवैध घोषणा गर्ने, माडुरोले राजीनामा दिन्छन्, सेनाले ग्वाइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने, राष्ट्रियसभा भेनेजुयलाको एक मात्र वैध व्यवस्थापिका बन्छ र ऊसँगै सर्वोच्च अदालत उभिन्छ । यो योजना कार्यान्वयन गर्न सबैजना दत्तचित्त भएर काम गर्न थाले ।
Leave a Reply