भर्खरै :

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–५

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–५

पाँचौँ पार्टी महाधिवेशन
चेन तु श्यूको बहुमत भएको पार्टी केन्द्रीय समितिले माओको कृषि क्रान्तिको प्रस्तावलाई अस्वीकार गरिदियो । २५ अप्रिलको दिन उहानमा पार्टीको पाँर्चौँ महाधिवेशन सुरू भयो त्यो बैठक मईको सुरूसम्म चल्यो पार्टी महाधिवेशनमा दुई विचारधाराको बिचमा ठूलो सङ्घर्ष भयो । चेन तु श्यू राजनैतिक, सैद्धान्तिक र सङ्गठनात्मकरूपले पार्टीलाई कोमिनताङको पुच्छर बनाउन चाहन्थे । उनी पार्टीको स्वतन्त्र अगुवाइका विरोधी थिए । माओले त्यस पुच्छरे नीतिको विरोध गर्नुभयो र जमिनदार पुँजीपति वर्गको सशस्त्र शक्तिलाई हराउन किसानहरूको पल्टन बनाउने र सशस्त्र वर्गसङ्घर्ष र जमिनदारहरूको जग्गा खोसेर किसानहरूलाई वितरण गर्न, शोषक वर्गको पुरानो हुकुमलाई समाप्त पारेर किसान र मजदुर वर्गको हुकुम कायम गर्ने सिद्धान्त अगाडि सार्नुभयो । कम्युनिस्ट पार्टी कोमिनताङको पुच्छर नबनी आफ्नो अस्तित्व र स्वतन्त्र आन्दोलनलाई अगाडि बढाउने नीति लिनुपर्छ भनी जोड दिनुभयो ।
तर, चेन तु–श्युले माओको कृषि क्रान्तिको प्रस्ताव र किसान आन्दोलनलाई विरोध गरे । केन्द्रीय समितिमा उनकै बहुमत भएको हुँदा जमिनदारहरूलाई ‘५०० मू अर्थात् १२–१३ सय रोपनी खेत भएको किसान’ भन्ने परिभाषा दियो । माओ त्यस परिभाषा र निर्णयबाट सन्तुष्ट हुनुभएन किनभने त्यो परिभाषा चीनको भूमि व्यवस्थासँग मेल खाँदैनथ्यो । त्यसबेला चीनमा साधारण खेतीवाल किसानसँग पनि १०–१२ रोपनी खेत हुन्थ्यो । साधारण खेतीवाल किसानको भन्दा १०० दोब्बर बढी जग्गा भएको जमिनदारलाई ‘किसान’ को नाम दिनु सा¥है मेल नखाने कुरो थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका प्रतिनिधि र विदेशी सल्लाहकारहरू कुनै न कुनै रूपमा कोमिनताङसँग विरोध नहुने निर्णय लिन चाहन्थे । ती विदेशीहरूले मिहीन र गहिरो ढङ्गबाट त्यसबेलाको परिस्थितिलाई बुझ्न सकेका थिएनन् । त्यस महाधिवेशनमा चेन तु–श्युको दक्षिणपन्थी र आत्मसमर्पणवादी विचारलाई आलोचना गरियो, तर त्यसलाई नेतृत्वबाट झिक्न असफल भयो । त्यसले गर्दा पार्टीले समयमै क्रान्तिको अगुवाइ गर्न सकेन ।
पार्टी महाधिवेशनपछि राष्ट्रिय चिनियाँ किसान सङ्घ गठन गरियो । त्यसमा माओ त्सेतुङ पहिलो अध्यक्ष चुनिनुभयो । उहाँ त्यसबेला ३४ वर्षको हुनुहुन्थ्यो । हुपे, क्याङसी, फुकेन र खास गरेर हुनानमा किसान आन्दोलन चर्किंदै गयो । किसानहरूले जमिनदारहरूको जग्गा जफत गरेर बाँड्न थाले । ठूलठूला अफिसर र सैनिक कमान्डरहरूले आन्दोलनलाई हुल्याहाको र धाक्रेहरूको आन्दोलन र उपद्रव भनी त्यसलाई दबाउने माग गरे । चेन तु श्यु हुनान गए, त्यहाँका केही घटनाहरूबारे माओलाई जिम्मेवार ठह¥याएर विरोध गरे । रूसको मुख्य सल्लाहकार मिखाइल बोरोडिन त पुँजीपति वर्गलाई खुसी पार्न मजदुर वर्गलाई निःशस्त्र पार्न तयार थिए र त्यसो गर्न आदेश पनि दिएका थिए ।
च्याङ काई शेकले क्यान्टनमा पनि हत्याकाण्ड सुरू ग¥यो । २१ मईको दिन चाङशामा पनि एक क्रान्तिविरोधी षड्यन्त्र रच्यो र क्रान्तिकारी जनतालाई हत्या गर्न थाल्यो त्यसको मुख्य कारण चेन तु श्युको खोटो विचारको प्रभाव थियो । महाधिवेशनमा चेन तु–श्युको विचारको आलोचना भए पनि पार्टी त्यस खोटो विचारबाट मुक्त हुन सकेको थिएन । ३१ मईको दिन चाङशामा किसान–मजदुर सेनाले क्रान्तिविरोधीहरूमाथि प्रहार गर्न नगरलाई घेरा हाल्यो, तर चेन तु–श्युले सेनालाई फर्काइदियो । त्यो चेन तु– श्युकै लुरे (दक्षिणपन्थी) विचारधाराको विराम थियो ।
कोमिन्टर्नको एक प्रतिनिधि एम. एन. रायले कोमिनताङसँग अलग हुन बल ग¥यो र कोमिन्टर्नले सीमित मात्रामा जमिनदारहरूको जग्गा जफत गर्ने आदेश पार्टीलाई दियो । त्यस गुप्त तारको एक नक्कललाई एम. एन. रायले उहानको वामपन्थी कोमिनताङ सरकारको अध्यक्ष वाङ चिङ वईलाई देखायो । त्यो तारबाटै जमिनदार वर्ग सतर्क भयो र कम्युनिस्टहरूको वर्गसङ्घर्षको भावनालाई बुझ्यो ।
१५ जुलाईको दिन उहानमा कोमिनताङको बैठक बस्यो । बैठकले कम्युनिस्टहरूसँगको संयुक्त मोर्चा भङ्ग गर्ने र कम्युनिस्टहरूलाई कोमिनताङबाट ‘निकाला’ गरेको घोषणा ग¥यो । त्यसको लगत्तै ठाउँ ठाउँमा मजदुर, किसान र क्रान्तिकारी जनतामाथि हमला गर्न थाल्यो र प्रगतिशील सङ्घ–संस्थाहरूलाई घेर्न र लुटपाट गर्न थाल्यो ।
बोरोडिन र अरू कोमिन्टर्नका प्रतिनिधिहरू रूस भागे । पार्टीले कम्युनिस्ट नेताहरूलाई रूस, साङ्घाई वा बच्न सकिने ठाउँहरूमा जान र देश छाड्न आदेश दियो । माओले चेन तु श्यूसँग आफूलाई हुनान समितिको सचिवको रूपमा पठाउन अनुरोध गर्नुभयो
तर हुनान जाने आदेश दिएको १० दिनभित्रै उहानको कमान्डर ताङ शेङ– चिहको विरोधमा विद्रोही सङ्गठन गरिरहेको दोष लगाएर माओलाई तुरून्तै फिर्ता बोलाइयो । त्यस अवस्थासम्ममा स्थिति भद्रगोल भइसकेको थियो । हरेकले चेन तु– श्युको दक्षिणपन्थी नीतिको विरोध गर्न लागे ।
कम्युनिस्टहरूलाई कोमिनताङबाट ‘निकाल्नु’ वास्तवमा च्याङ काई शेकको क्रान्तिमाथि ठूलो विश्वासघात थियो । त्यसको विरोधमा कम्युनिस्टहरूले सङ्घर्ष गर्ने विचार गरे १८ जुलाईको दिन नानचाङको नजिकै कम्युनिस्टहरूको एक बैठक बस्यो । बैठकमा माओ र अरू कम्युनिस्टहरू विद्रोह गर्ने टुङ्गोमा पुगे । नानचाङमा शत्रु बलियो थिएन । क्याङसीको प्रतिक्रियावादी नाइके चु पो तेह लुशान पहाडमा थियो । तेस्रो र नवौँ सेना अरू जिल्लामा थिए हो । लुङ र येह तिङको सेनालाई लुशान पुग्ने जरूरी तार पठायो । हो लुङ र येह तिङको सेना लुशान बोलाउनु एक षड्यन्त्र हो भन्ने बुझे । यसकारण, २६ जुलाईको दिन हो लुङ र येह तिङ आ–आफ्नो सेना लिएर जबरजस्ती नानचाङतिर हिँडे ।
२६ जुलाईको दिन चाउ एन–लाइ नानचाङ पुग्नुभयो । त्यसैबेला अरू युद्ध नेताहरू पनि त्यहाँ पुगिसकेका थिए । ल्यु पो चेङ, पेङ पाई, निह जुङ चेन र अरू नेताहरू पनि त्यहाँ पुगिसकेका थिए । त्यसै दिन त्यहाँ कम्युनिस्ट पार्टीको समितिको बैठक भयो । चाउ एन लाइ त्यसको सचिव चुनिनुभयो ।
२८ जुलाईको दिन एक बैठक बस्यो । हो लुङलाई कमान्डर इन चिफ, ये तिङलाई युद्ध मोर्चाको कमान्डर इन चिफ र ल्यु पो चेंगलाई चिफ अफ स्टाफ (मुख्य अधिकारी) पदमा राखेर विद्रोहको एक केन्द्र स्थापना गरियो । बैठकले फौजी स्थितिहरूबारे व्याख्या ग¥यो र विद्रोही सेनालाई राजनैतिक र आवश्यक सैनिक तालिम सुरू ग¥यो ।
३० जुलाईको दिन विद्रोहहरू के कसरी गर्ने हो भन्ने रूपरेखामा छलफल गरियो । ३१ जुलाईको राति मोर्चा समितिको निर्णयअनुसार चु तेहले कोमिनताङको नगर अध्यक्षको घरमा शत्रु फौजका दुईजना रेजिमेन्ट कमान्डर र एक कार्यवाहक रेजिमेन्ट कमान्डरलाई एक भोजमा ‘निमन्त्रण’ गर्नुभयो । तिनीहरूलाई भोजमै रोकेर शत्रुको दुई रेजिमेन्टलाई तुरून्तै समाप्त पार्ने स्थिति तयार पारियो । शत्रुको मुख्य कार्यालयको नजिकै एक स्कूलमा बसेर चाउ एन लाइले लडाइँको निर्देशन गर्नुभयो ।

नानचाङको विद्रोह
१ अगष्टको बिहान सबेरै २ बजेको थियो । विद्रोही सेनाले शत्रुहरूको सैनिक केन्द्रहरूमाथि धावा बोल्यो । दुवैतिर गोली हानाहान भयो । अन्तमा, योजनानुसार विद्रोह सफलतापूर्वक सम्पन्न भयो । बिहान सूर्य उदाउँदा उदाउँदै कम्युनिस्टहरूले नानचाङलाई आफ्नो कब्जामा लिन सफल भए ।
नानचाङको अखबारमा माओ त्सेतुङ र अरू नेताहरूको हस्ताक्षर भएको ‘केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको एक घोषणापत्र’ छापियो । त्यसमा च्याङ काई शेक र उहानको नयाँ युद्ध सरदार वाङ चिइ वईले क्रान्तिलाई विश्वासघात गरेको, उहान र नानकिङ सरकार नयाँ युद्ध सरदारहरूको ज्यावल भइसकेको कुरा बताइएको थियो । घोषणापत्रमा वामपन्थी कोमिनताङहरूलाई सन यात सेनको कृषि समस्या सुल्झाउने र रूससँग मैत्री, कम्युनिस्ट पार्टीसँग सहयोग र मजदुर किसानलाई सहायता गर्ने तीन महान् सिद्धान्तका नीतिहरूलाई माथि उठाउन साम्राज्यवाद र नयाँ र पुरानो युद्ध सरदारहरूलाई उल्टाएर फ्याँक्न आह्वान गरिएको थियो । घोषणापत्रले क्रान्तिमा किसानहरूको ठूलो भूमिका (काम) लाई स्थान दिएको थियो । नानचाङ विद्रोहमा ३० हजार सेनाले भाग लिएका थिए ।

अगष्टको जरूरी बैठक
७ अगष्टको दिन हान्कोमा पार्टीको एक जरूरी बैठक बस्यो । बैठकमा माओले एक अत्यन्त महत्वपूर्ण भाषण दिनुभयो । पार्टीको सही नीतिलाई प्रतिनिधित्व गर्ने त्यस भाषणमा चेन तु श्युको घुँडाटेकुवा नीतिलाई चर्को आलोचना गर्नुभयो र पहिलो क्रान्ति (महान् क्रान्ति) असफलताको सार झिक्दै भन्नुभयो, “पार्टीले मुख्यतः सशस्त्र शक्तिको नेतृत्व त्याग्यो र चिनियाँ क्रान्तिको बाटो सशस्त्र सङ्घर्ष हो ।” त्यही बैठकमा ‘राजनैतिक सत्ता बन्दुकको नालबाट उठ्छ’ भन्ने धारणालाई माओले प्रस्टसँग अघि सार्नुभएको थियो । चेन तु श्युले चीनमा सर्वहारा वर्गको क्रान्तिकारी बाटो छोडेर संसदीय (चुनाव) को बाटो लाग्ने विचार अगाडि ल्याए, किसान आन्दोलन र कृषि क्रान्तिको विरोध गरे । उनले पार्टीलाई कोमिन्ताङको पुच्छर बनाउन खोजेका थिए र कम्युनिस्ट पार्टीको राजनैतिक, सैद्धान्तिक र सङ्गठनात्मक स्वतन्त्रतालाई अस्वीकार गरेका थिए । यसकारण, बैठकले उनलाई पार्टीको नेतृत्व महामन्त्री पदबाट अपदस्थ ग¥यो । त्यसको ठाउँमा चु चु पाइ महामन्त्री भए । बैठकले शरद्को बाली काट्ने विद्रोह सुरु गर्ने निधो गर्यो ।
कोमिनताङ नराम्रोसँग साम्राज्यवादीहरूको ज्यावल बनिसकेको थियो र त्यसले अब प्रजातान्त्रिक क्रान्तिको जिम्मेवारीलाई पूरा गर्न सक्दैनथ्यो । यसकारण, पार्टीले कोमिनताङसँग सहयोग गर्ने नीतिलाई त्याग्यो र सत्ता हत्याउने सङ्घर्षको नीति लियो । माओ पार्टीको राजनैतिक ब्युरोको वैकल्पिक सदस्य चुनिनुभयो । पार्टीको ७ अगष्टको बैठकको व्याख्या गर्न, हुनान प्रान्तीय पार्टीलाई फेरि सङ्गठित गर्न र हुनान–क्याङसी सीमा इलाकामा शरद्को बाली काट्ने विद्रोहलाई नेतृत्व गर्न माओ हुनानको विशेष अधिकारीको रूपमा खटिनुभयो ।
जरूरी बैठकपछि अगष्टको मध्यमा माओ चाङशामा पुग्नुभयो र विद्रोहको तयारीमा लाग्नुभयो । त्यसको निम्ति माओले पाँच कुराको एक कार्यक्रम तयार गर्नुभयो ।
१) प्रान्तीय पार्टीलाई कोमिनताङसँग पूरै अलग्याउनु ।
२) किसान–मजदुरको क्रान्तिकारी सेनाको सङ्गठन गर्नु ।
३) ठूलठूला, साना र मध्यम जमिनदारहरूको समेत सम्पत्तिलाई जफत गर्ने ।
४) कोमिनताङबाट स्वतन्त्र हुनानमा कम्युनिस्ट पार्टीको एक शक्ति वा सरकार स्थापना गर्ने र
५) सोभियत (लाल इलाका) स्थापना गर्ने ।
‘सोभियत स्थापना’ भन्नुको अर्थ त्यसबेला चीनमा क्रान्तिकारी लाल इलाकामा मजदुर किसानहरूको कम्युनिस्ट सरकार कायम गर्नु थियो । पाँचौँ कुरालाई कोमिन्टर्नले विरोध गर्यो । यसकारण, त्यो एक नाराको रूपमा मात्रै अगाडि लगियो ।
पार्टी केन्द्रको विशेष समितिको सदस्यको हैसियतले माओले प्रान्तीय पार्टी समितिलाई पुनर्गठन गर्नुभयो । १८ अगष्टको दिन पुनर्गठन गरिएको हुनान प्रान्तीय पार्टी समितिको पहिलो बैठक बस्यो र शरद्को बाली काट्ने विद्रोहको निम्ति योजनाहरू बनाइयो, माओ त्सेतुङले बैठकमा भन्नुभयो, “विद्रोहले किसानहरूको जग्गाको प्रश्नलाई टुङ्गयाउनुपर्छ, तर विद्रोहलाई सुरु गर्न किसान शक्तिमा मात्रै भर परेर पुग्दैन । सैनिक सहायता पनि चाहिन्छ त्यसको निम्ति एक अथवा दुई रेजिमेन्टहरू ढाडजस्तै चाहिन्छ नत्र विद्रोह असफल हुन्छ । सैनिक कामहरूलाई बेवास्ता गर्नु नै हाम्रो पार्टीका पुराना विरामहरू हुन् । अहिले हाम्रो मुख्य कोसिस सैनिक सङ्घर्ष हुनुपर्छ र बन्दुकको माध्यमले राजनैतिक शक्ति कब्जा गर्नु र स्थापना गर्नुपर्छ ।”
प्रान्तीय पार्टी समितिले शरद् बाली काट्ने विद्रोहको अगुवाइ गर्ने समितिहरू बनायो । माओ त्सेतुङ सचिव भएको पार्टीको एक मोर्चा समिति (युद्ध समिति) बनाइयो । विद्रोह गर्ने इलाकाहरूका स्थानीय पार्टी समितिका अगुवा सदस्यहरू भएको एक पार्टी सङ्घर्ष समिति बनाइयो । क्रान्तिकारी सेना, मजदुर र किसानहरूको क्रान्तिकारी सेनाको पहिलो डिभिजन सङ्गठित गरियो । त्यसमा ८ हजार मानिसहरू थिए र त्यसलाई ४ रेजिमेन्टमा विभाजन गरिएको थियो । त्यसमा उहान राष्ट्रिय सरकारको पुरानो रक्षा सेनाको एक रेजिमेन्ट, आनयान कोइला खानीका मजदुरहरूको सशस्त्र दल, पिङक्याङ्ग, ल्यू याङ्ग र पिस्याङ्गका किसान स्वयंसेवक रक्षा दलहरू थिए ।
प्रान्तीय समितिको निर्णयअनुसार मजदुर किसानहरूको क्रान्तिकारी सेनालाई हाँक्न र विद्रोहलाई निर्देशन गर्न माओ त्सेतुङ हुनान–क्याङसी सीमामा जानुभयो । बाटोमा स्थानीय पार्टी समितिहरूमा ७ अगष्टको बैठकको निर्देशन र प्रान्तीय समितिको निर्णयअनुसार काम गर्ने बन्दोबस्त मिलाउनुभयो । तर, त्यस प्रान्तीय कार्यक्रमलाई पार्टी केन्द्रले मान्यता दिएन ।
सेप्टेम्बरको सुरुमा उहाँले क्याङसी प्रान्तीय आनयान जिल्लाको चाङचिया वानमा एक महत्वपूर्ण सैनिक सम्मेलन बोलाउनुभयो । सम्मेलनमा सीमा इलाकाका पार्टी र सैनिक नेताहरूले भाग लिए र विद्रोहको निम्ति खासखास विषयबारे छलफल गरे ।

माओ त्सेतुङ शत्रुको पञ्जामा
कोमिनताङले देशभर जनतालाई अत्याचार गर्दै थियो । शङ्का लागेका कम्युनिस्टहरू पक्रँदै गोली हानेर मार्दै थियो । माओ सङ्गठनको कामले आनयान खानीका मजदुरहरूकहाँ किसान दलहरूकहाँ गइरहनुभएको थियो । बाटोमा कोमिनताङको पुलिसको काम गर्ने ‘मिन त्वान’ (जनरक्षा दल) बाट उहाँ पक्रिनुभयो । पुलिस दलले माओलाई आफ्नो केन्द्रतिर लग्यो, जहाँ उहाँलाई गोली हानेर मार्ने निश्चय थियो । माओले एकजना साथीसँग केही रूपैयाँ सापटी लिनुभयो र पुलिसलाई घूस दिएर फुत्किने कोसिस गर्नुभयो । तल्लो तहका पुलिसहरूले मान्छे मार्ने कुरामा चाख राख्दैनथे र तिनीहरू माओलाई छोड्न तयार भए । तर, अफिसर चाहिँ मानेन र उसले माओलाई पुलिस केन्द्रमै लाने आदेश दियो ।
पुलिसको केन्द्र नजिकिँदै आयो । अब २०० गजमात्रै टाढा थियो । माओले साहसबाट काम लिने नयाँ जुक्ति निकाल्नुभयो र तुरून्तै पुलिसको पञ्जाबाट फुत्केर बालीनाली भएको खेतमा घुस्नुभयो । चारैतिर लामो घाँसले घेरिएको त्यहाँ यौटा पोखरी थियो । पोखरीको एक उँचो ठाउँमा माओ लुक्नुभयो । पुलिसहरूले चारैतिर खुब खोजे, किसानहरूलाई पनि तिनीहरूले जबरजस्ती खोज्न लगाए । तिनीहरू ५–६ चोटि माओको नजिकै पुगिसकेका थिए र एक–दुई चोटि झन्डै झन्डै माओलाई छुनै लागेका थिए । तर, तिनीहरूले माओलाई भेट्टाउन सकेनन् ।
साँझ पर्यो । पुलिसहरू हार खाएर फर्के । माओ त्यहाँबाट रातारात एकपछि अर्को जिल्लातिर लाग्नुभयो । तर, उहाँसँग जुत्ता थिएन, खुट्टामा घाउ नै घाउ भयो, रगत बग्दै थियो । बाटोमा उहाँले एक किसान भेट्नुभयो । किसानले उहाँलाई बास बस्ने प्रबन्ध मिलाइदिए र माओलाई अर्को जिल्लासम्म पु¥याइदिए । त्यसबेला माओसँग ७ रूपैयाँमात्र थियो । त्यस रूपैयाँले एक जोर जुत्ता र एक छाता किन्नुभयो । त्यसै पैसाबाट उहाँले एक हप्तासम्मको खानाको खर्च पनि टार्नुभयो । किसान रक्षक दलहरूको ठाउँ पुग्नुहुँदा उहाँसँग २ पैसामात्र बाँकी थियो ।
विद्रोहलाई सङ्गठित गर्न क्रान्तिकारी सेनाको एक नयाँ डिभिजन बनाइयो । पार्टी युद्ध समितिको सचिव माओ हुनुभयो र उहान सैनिक ब्यारेकको कमान्डर यु शा–ताउ पहिलो सेनाको कमान्डर भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *