भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, १९ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ भनपा बोलाछेँ एकाइ समितिको आयोजनामा सोमबार सर्वहारा वर्गका महान् गुरु माओ त्सेतुङको १२९ औँ जन्म दिवसका अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले माओको योगदानबारे चर्चा गर्दै सामूहिक हितको भावनाले काम गर्न सिक्नुपर्ने बताउनुभयो । विकास निर्माण उपभोक्ता समितिमार्फत गर्ने, श्रमदान जुटाउने, नहर मर्मत गर्ने, सिँचाइ गर्ने, बीउबिजन उत्पादन गर्ने, देशको माटो सुहाउँदो शिक्षा प्रदान गर्ने, डकैती, अन्याय अत्याचारविरुद्ध लड्ने, कुनै पनि उपनिवेशवाद र साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्ने पाठ माओबाटै सिकेर नेमकिपाले व्यवहारमा लागू गर्दै आएको चर्चा गर्नुभयो ।
उहाँले असल शिक्षक र असल अभिभावकले मात्र देशको निम्ति योग्य नागरिक तयार गर्न सघाउने हुनाले समाजको आमूल परिवर्तनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवालले शासक दलहरूको भारतपरस्त नीतिको कारण डकर्मी, सिकर्मी पेशामा आबद्ध रहेका व्यक्तिहरूले काम नपाउने स्थिति उत्पन्न भएको हुनाले पार्टीले वर्क परमिट लागू गराउन सरकारको ध्यानाकर्षण गराइरहेको बताउँदै असल नेतृत्वले मात्र देशको सन्तुलित विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
नेक्राकिसङ्घ भनसका अध्यक्ष गङ्गाराम ज्याख्वले सङ्घको आसन्न जिल्ला सम्मेलन र राष्ट्रिय सम्मेलनबारे चर्चा गर्दै कृषि उत्पादन वृद्धि गर्न युवालाई स्वदेशमै कामको बन्दोबस्त गर्नुपर्ने, मल कारखाना स्थापना गर्नुपर्ने विचार राख्दै देशलाई आत्मनिर्भर बनाउने कार्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेक्राकिसङ्घ भनपा ४ बोलाछेँं एकाइका अध्यक्ष विश्वराम त्वायनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा हरिसुन्दर सुवाल, राजकुमार त्वायनालगायतले बोल्नुभएको थियो ।
Leave a Reply