नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
आज आफू एमाले, माओवादी हुँ भनेर गफिनेहरूले ठूलठूला निजी स्कूल, कलेज र अस्पताल चलाएर बसेका छन् । ठूलठूला होटल, रेष्टुरेन्ट, सपिङ मलका मालिक पनि तिनै छन् । विद्यार्थीहरूलाई पढाएका छौँ, युवालाई रोजगार दिलाएका छौँ, राज्यलाई कर तिरेका छौँ भनी तिनीहरू घमण्ड गर्छन् । अझ उनीहरू नै आफूलाई कम्युनिस्ट दावी गर्छन् । राज्यको महत्वपूर्ण हिस्सेदार आफूहरू भएको अहमता देखाउँछन् ।
सरकारी विद्यालयहरू ध्वंस पारेर निजी स्कूल कलेजमा पढ्न बाध्य बनाउनेहरू, सामुदायिकको नाममा अनेक बहानामा विद्यार्थीसँग शुल्क असुल्नेहरू पुँजीवादी विचारका हिमायती हुन । सार्वजनिक उद्योग, कलकारखानाहरूलाई खाल्डोमा हालेर आफ्नै व्यक्तिगत संस्थानहरूलाई उकास्न तिनीहरू लागिपरेका छन् । जनताको रगतपसिना चुसेर तिनीहरू नाफा कमाउँछन् र एमाले, माओवादीजस्ता पार्टीलाई चन्दा दिन्छन् । अनि तिनीहरू कम्युनिस्ट बन्छन् । तिनै पार्टीहरूको सक्रिय सदस्य पनि उनीहरू नै बन्छन् । राज्यका नीतिनियमहरू आफू अनुकूल गराउन पार्टीमा जोड दिन्छन् । अनि सामान्य जनताको हित कसरी हुन्छ ?
काङ्ग्रेस निजीकरणको हिमायती हो । काङ्ग्रेस पुँजीपतिहरूको पार्टी हो । काङ्ग्रेस धनीहरूको पार्टी हो । काङ्ग्रेस शोषक र सामन्तहरूको पार्टी हो भनेर चिन्न गाह्रो छैन । एमाले र माओवादीले कम्युनिस्ट शब्दको खोल ओढेर जनतालाई ढाँटेका छन् । अझ ढाँट्दै छन् । सामाजिकीकरण, सामूहिकीकरणको विपरीत निजीकरणलाई प्रश्रय दिएर उनीहरू फटाहा काम गर्दै छन् । ती नै शिक्षाप्रेमी भनिनेहरूले चितवनलगायत जिल्लाहरूमा विद्यालय घाटामा गयो भनेर २० प्रतिशत शुल्क बढाएर जनतालाई रुनु न हाँस्नु बनाएको छ । देश डुब्न लागे पनि तिनीहरूलाई चिन्ता छैन । जनतासँग तिर्न सक्ने क्षमता छ छैन मतलब छैन । समयअनुसारको नाफा ती नाफाखोरहरूलाई चाहिएको छ । एमाले र माओवादी पार्टी चलाउने कर्पोरेट मालिकहरूलाई जसरी कसरी हुन्छ नाफा चाहिएको छ ।
निर्वाचनमा तिनै एमाले, माओवादी, काङ्ग्रेसको पछि हामी लाग्नु दुर्भाग्य हो । एमाले, काङ्ग्रेस, माओवादीले हामी सोझा जनतालाई लडाइदिएका छन् । तेरो र मेरो पार्टी भन्छौँ, नबुझिकन एकआपसमा हामी गरिब परिश्रमी जनता जुध्छौँ । हाम्रो झगडामा तिनीहरू खुसी मान्छन् । वास्तवमा ती पार्टीहरू जनताका शत्रु हुन् । ती पार्टीमा लाग्नेहरूले जनताको रगतपसिना चुसेका छन् । सार्वजनिक विद्यालयहरू धराशायी पारेर आफ्नो निजी स्कूलहरू उकास्न तिनीहरू लागिपरेका छन् । सरकारी उद्योग, कलकारखाना खतम गरेर आफ्नो निजी उद्योगहरू उकासेका छन् । छ्द्मभेषीहरूलाई चिन्ने र बुझ्ने समय आएको छ । प्रोफेसर टोप लिने, बुद्धिजीवी र विद्धान भनाउँदाहरू नै ठुला शैक्षिक व्यापारी बनेका छन् । ठुला दलहरूलाई मलजल गरेर बचाएर राख्न तिनीहरूले नै मद्दत गरेका छन् ।
Leave a Reply