भर्खरै :

गरिब जनताको वास्ता कसैलाई छैन

दुई छाक खान धौ धौ पर्नेहरू र पूरै शरिर न्यानो कपडाले ढाक्न नसक्ने तराईका हुने खाने वर्गले जाडो मौसमलाई अभिशापको रूपमा लिने गर्छन् ।
तराईमा चार पाँच दिनदेखि घाम नलागेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चिसो दिनप्रतिदिन बढ्दै गएपछि यहाँका ज्येष्ठ नागरिक र स–साना बालबालिकाहरू बढी प्रभावित भएको देखिन्छ ।
अहिले देशमा तीन तहको सरकार क्रियाशील छ । तर, यस्ता प्राकृतिक विपत्तिसँग आफ्ना नागरिकलाई जोगाउनको लागि कुनै पनि प्रकारको चासो देखाएको देखिएन । यसप्रति कुनै पनि तहको सरकार यसप्रति संवेदनशील भएको देखिँदैन ।
तराईमा यो समयावधिमा हरेक वर्ष शीत लहरीको कारण कैयौँ व्यक्तिको असामयिक निधन भएका समाचारहरू प्रकाशमा आउने गर्छन् ।
तराईका गरिब तथा शोषितपीडित जनता यो शीतलहरीको शिकार बन्ने गर्छन् । सहरी क्षेत्रमा प्रकाशन र स्थानीय तहको पहलमा फाँटको मुख्य मुख्य चोकमा काठको मुढो बालेको देखिन्छ भने कतिपय सरकारी र गैरसरकारी संस्थाहरू सहरकेन्द्रित भई सहरी क्षेत्रका मजदुरहरूलाई न्यानो कपडालगायत जाडो छल्ने केही सामग्रीहरू वितरण गरेको देखिन्छ ।
तराईका गाउँघरमा बस्ने गरिब दुःखी पीडित जनता दिनभरि समूह समूहमा बसी परालको आगो बालेर दिन बिताउने गरेका छन् । पराल बलुञ्जेलसम्म न्यानो हुन्छ ।
गाउँघरमा जाडो छल्न गरिब, जनताको लागि स्थानीय सरकारले कुनै पनि प्रकारको बन्दोबस्त गरेको देखिँदैन । स–साना बालबालिकाहरू जाडोका कारण निमोनिया, सर्दी, ज्वरो, खोकीको सिकार बन्दै छन् ।
गैरसरकारी सङ्घ संस्थाहरू न्यानो कपडा सहरमा मात्रै केन्द्रित भई वितरण गर्ने भएकोले वास्तविक प्रभावितहरू वञ्चित भएका छन् । दिनप्रतिदिन जाडो बढ्दै गएपछि केही दिनको लागि यस क्षेत्रका स्थानीय तहहरूले शिक्षण संस्थाहरू बन्द गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *