भर्खरै :

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–१२

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–१२

लडाइँसम्बन्धी रचनाहरू
सन् १९३७ मा जापानको आक्रमण बढ्दै गयो । तर, जापानले कब्जा गरेको भूमिमा आफ्नो खुट्टा बलियो पार्न देश र विदेशसँग हुने संयुक्त मोर्चामा फुट पार्न जापानले च्याङ काई शेकको सरकारसँग सम्झौताको कुरा उठायो । २५ अक्टोबर १९३७ को दिन बेलायती पत्रकार जेम्स बट्र्रामसँगको कुराकानीमा माझीले जापानको शान्तिको कुरो साँचो कुरा लुकाउने ‘धुवाँको पर्दा’ र ‘धुवाँको बम’ हो भन्नुभयो । त्यसै ताका माओ र उहाँको दोस्री श्रीमती हो त्यु–चेनबिच पारपाचुके भयो ।
पार्टीका नेताहरू र कोमिनताङभित्र पनि जापानसँग लडाइँ गर्न लुकिछिपी लड्ने गुरिल्ला युद्धबारे कम महत्व दिन्थे र नियमित युद्धमा जोड दिन्थे । जापानको विरोधमा राष्ट्रव्यापी युद्ध लड्न र सारा जनतालाई उठाउन गुरिल्ला युद्ध नै सबभन्दा राम्रो तरिका थियो । त्यसकारण, सन् १९३८ मई महिनामा माओले ‘जापानविरोधी गुरिल्ला युद्धमा लडाइँका समस्याहरू’ भन्ने एक महत्वपूर्ण रचना लेख्नुभयो । सन् १९३८ मई २६ देखि ३ जूनसम्म येनानमा जापानविरोधी लडाइँको अध्ययन गोष्ठी चालू भयो । त्यसमा माओले ‘दीर्घकालीन युद्धबारे’ एक सिलसिलेवार प्रवचन दिनुभयो । सन् १९३१ तिर कोमिनताङसँग मिल्नै हुन्न भनेर उत्ताउला नीति लिने वाङ मिङ अब ‘सबै कुरो संयुक्त मोर्चामा’ र ‘सबै कुरा संयुक्त मोर्चामार्फत’ भन्ने अति दक्षिणपन्थी वा लूरे नीति लिन पुगे । त्यस सिद्धान्तले लाल इलाका, लालसेना र जापानविरोधी सङ्घर्षको नेतृत्व कोमिनताङको हातमा पुग्थ्यो ।
यसरी पार्टीमा फेरि ‘सबै संयुक्त मोर्चामार्फत’ र कोमिनताङको सेनामाथि ‘कानुनी सङ्घर्षबाट विजय पाउने’ दक्षिणपन्थी विचार उठ्न थाल्यो । सन् १९३८ अक्टोबर महिनामा छैटौँ केन्द्रीय समितिको छैटौँ लामो (विस्तारक) बैठक बस्यो । त्यसमा माओले ‘राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको काम’ भन्ने एक रिपोर्ट दिनुभयो । त्यसमा उहाँले संयुक्त मोर्चाभित्र सङ्घर्ष र एकताको नीतिलाई अगाडि बढाउनुभएको थियो, जसलाई बैठकले स्वीकार गर्यो । ६ नोभेम्बरको दिन ‘लडाइँ र लडाइँका समस्याहरू’ भन्ने समाप्ति भाषण दिनुभयो । चाङ कूओ ताओ येनानबाट भाग्यो र हान्कोमा कोमिनताङसँग मिल्न पुग्यो । देशवासीको नाउँमा उसले अपिल ग¥यो । त्यसमा उसले कोमिनताङ पार्टीलाई सबभन्दा क्रान्तिकारी पार्टी र च्याङ काई शेकलाई एकमात्र नेता बतायो । बैठकले चाङ कूओ ताओलाई पार्टीबाट निकाला ग¥यो ।

माओको तेस्रो विवाह
सन् १९३८ को अन्ततिर माओ र च्याङ चिङको विवाह भयो । त्यसबेला माओ त्सेतुङ ४५ वर्षको हुनुहुन्थ्यो र च्याङ चिङ २६ वर्षकी दुब्ली पातली तर फूर्तिली आइमाई थिइन् ।
च्याङ चिङ सन् १९१२ मा शान्तुङ प्रान्तमा एक मध्यम वर्गको परिवारमा जन्मेकी थिइन् । तिनी प्रान्तीय नाटक कलेजमा भर्ना भइन् र पछि सिङताउ राष्ट्रिय विश्वविद्यालयमा सहायक पुस्तकालयध्यक्ष भएर काम गरिन् । सन् १९३३ तिर युवा कम्युनिस्ट दलमा सामेल भइन् । सन् १९३४ मा एक कलाकारसँग विवाह गरिन् र शाङ्घाइको एक सिनेमामा लान मिङ (नीलो आकाश) नाउँको भूमिका गरिन् । सन् १९३७ मा पारपाचुके गरिन् र तिनीले देशभक्ति प्रचार नाटक दलमा भाग लिएर शाङ्घाइ, उहान र चुनकिङ गइन् । केही नाटक र फिलिममा काम गरेपछि सियान गइन् र सन् १९३८ मा येनान पुगिन् । येनानमा तिनी ल्यू शुन कला कलेजमा भर्ना भइन् र त्यहीँ तालिम पाइन् । त्यसपछि तिनी पार्टी स्कूलमा पनि भर्ना भइन् । त्यस स्कूलमा माओ त्सेतुङले पनि पढाउनुहुन्थ्यो र तिनी उहाँको सबभन्दा मेहनती विद्यार्थी मध्येकी थिइन् ।

संयुक्त मोर्चामा गोलमाल
जापानले उत्तर–पूर्वी चीन र याङ्सी नदीको दक्षिणमा मध्यपूर्वी चीन कब्जा जमाइराखेको थियो । उत्तर–पूर्वीमा जापानले कब्जा गरेको ठाउँमा आठौँ पैदल सेना नाम गरेको लालसेना गुरिल्ला लडाइँ गर्दै थियो । आठौँ लालसेनाले जापानीहरूको रेल पल्टाउनु, रसद रोक्नु, शत्रुको दायाँ–बायाँतिर अचानक धावा बोल्नु आदि अनेक प्रकारको युद्धले जापानीहरूलाई आछु आछु पार्दै थियो । उत्तरको गुरिल्ला युद्धमा हो लुङ, लिन प्याउ आदि थिए । दक्षिणमा चौथो पैदल सेना स–साना दलमा टुक्रिँदै छरिँदै र फेरि एक ठाउँमा जम्मा हुँदै र अनेक नयाँ नयाँ ढङ्गले गुरिल्ला युद्ध चलाउँदै थियो । त्यसको नेतृत्व चु तेहको हातमा थियो ।
डिसेम्बर १९३९ मा पार्टीमा अरू नेताहरूसँग मिलेर माओले ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी’ भन्ने पाठ्यपुस्तक लेख्नुभयो । त्यसको बाँकी भागको रूपमा जनवरी १९४० मा ‘नयाँ प्रजातन्त्र’ वा नौलो जनवादमा टुङ्ग्याउनुभयो ।
वाङ चिङ वइ कोमिनताङभित्रको जापानभक्त सेनापति थियो । कोमिनताङ र कम्युनिस्ट बिचको एकतालाई भङ्ग गर्न उसले सन् १९३९ को जून महिनादेखि सन् १९४० को सुरुसम्म शानतुङ्ग, होपे, पूर्वी होपे, हुनान, दक्षिण र पूर्वी शेन्सीमा सयौँ कम्युनिस्ट र लालसेनालाई धोखा दिएर हत्याकाण्ड मच्चायो । हत्याकाण्डको विरोधमा १ फेब्रुअरी १९४० मा येनानमा एक जनसभा भयो । माओले जनसभामा हत्याकाण्डलाई निन्दा गर्नुभयो र वाङ चिङ वइलाई सजाय गर्न माग गर्नुभयो ।

साहित्य र कला क्रान्तिको ज्यावल
सन् १९४१ र ४२ को बिचमा माओले अध्ययन, लेखाइ र काम गर्ने तरिकामा सुधार गर्न पार्टी कार्यकर्ताहरूको बैठकमा बोल्नुभयो र लेख्नुभयो । पार्टीभित्र शुद्धीकरण वा खराब तत्वहरूलाई ठीक गर्नुभयो ।
साहित्य र कला के हो र त्यसले कसको सेवा गर्ने हो ? भन्ने प्रश्न पुरानो थियो । सन् १९४२ मई महिनामा येनानमा साहित्य र कलाबारे एक गोष्ठी भयो । त्यस गोष्ठीमा माओले साहित्य र कलाले मजदुर, किसान, सिपाहीहरू र क्रान्तिको सेवा गर्नुपर्छ र तिनीहरूको पक्ष लिनुपर्छ भन्ने प्रस्ट पारिदिनुभयो ।
आनयानको कोइला खानीका मजदुरहरूको बिचमा काम गर्ने, उत्तरी अभियान, चिङकाङ र क्याङसीको लाल इलाकाको सङ्घर्षमा काम गर्ने माओ त्सेमिन भन्ने माओका अर्का भाइ पनि लामो हिँडाइमा भाग लिएर येनान पुगेका थिए । सिक्याङमा उनी चाउ पिनको नामबाट पार्टीमा काम गर्दै थिए । सन् १९४३ मा अरू कम्युनिस्टहरूसँगै उनी कोमिनताङ सेनाबाट मारिए ।

पार्टीको सातौँ महाधिवेशन
२३ अप्रिल १९४५ को दिन चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशन भयो । उद्घाटन भाषणमा माओले पार्टीमा १२ लाख १० हजार सदस्य, ९ करोड ५५ लाख जनता मुक्त भएको, ९ लाख १० हजार लालसेना र २२ लाख मिलेसिया (स्वयम्सेवकजस्तो जनसेना) भएको रिपोर्ट दिनुभयो ।
बैठकले पार्टीको जन्मकालदेखिको कामबारे लेखाजोखा ग¥यो । चेन तु–श्युको क्रान्तिलाई अगुवाइ नगर्ने फितलो र दक्षिणपन्थी अवसरवाद, सन् १९२६–२७ को पहिलो क्रान्तिको असफलतापछि देखापरेको चु चु पाइको नेतृत्वको भिडन्तवाद, सन् १९२८ पछिको लि लि सानको उत्ताउलो वा ‘वामपन्थी’ अवसरवाद, सन् १९३१ देखि १९३४ सम्मको वाङ मिङको अर्को उत्ताउलो वा ‘वामपन्थी’ अवसरवाद, सन् १९३४–३५ मा देखा परेको चाङ कूओ ताओको भाग्ने, आत्मसमर्पण गर्ने दक्षिणपन्थी अवसरवाद र त्यसको कारणबारे बैठकले विस्तारपूर्वक छलफल ग¥यो र त्यस्ता फलाका र खोटा विचारहरूको व्यवस्थितरूपमा खण्डन गरिएको माओ त्सेतुङको ‘पार्टी इतिहासबारे केही प्रश्नहरूको प्रस्ताव’ लाई स्वीकार ग¥यो । २४ अप्रिलको दिन माओले ‘संयुक्त सरकारलाई’ एक रिपोर्ट प्रस्तुत गर्नुभयो । बैठकले जापानलाई हराउन जनसमुदायलाई सञ्चालन गर्ने माओको नीतिलाई स्वीकार गर्यो र पार्टीमा उहाँको नेतृत्वको जग बस्यो । १२ जूनको दिन ‘एक मूर्ख बूढोले कसरी पहाडलाई पन्छायो ?’ भन्नुहुँदै बैठकलाई टुङ्ग्याउनुभयो । लो फूको ठाउँमा तङ स्याओ पिङ पार्टी महामन्त्री भए ।

जापानको आत्मसमर्पण
हिटलरी जर्मनीले युरोपमा लडाइँ हार्दै थियो । जापान पनि चिनियाँ जनताको जनयुद्धमा हार्दै गएको देखेर अमेरिकाले च्याङ काई शेकलाई कम्युनिस्टसँग लड्न उक्सायो । ८ अगष्ट १९४५ को दिन स्तालिनको नेतृत्वमा सोभियत सङ्घले जापानविरूद्ध युद्धको घोषणा गर्यो । त्यसको भोलिपल्ट माओले ‘जापानी आक्रमणसँग अन्तिम भिडन्त’ भन्ने वक्तव्य दिनुभयो र देशव्यापी जवाफी आक्रमण गर्न आह्वान गर्नुभयो ।
जापानविरोधी ८ वर्षको लडाइँमा लालसेनाले १ लाख २५ हजार लडाइँहरू लड्यो, २७ लाख १० हजार जापानी र भरौटे सिपाही हताहत भए, ६ लाख ९५ हजार राईफल र हात हतियार, १८ सय तोप र ट्याङ्करहरू कब्जा गर्यो, १९ प्रान्तको १० लाख वर्ग किलोमिटर इलाकामा लालइलाका कायम गरेर १० करोड जनतालाई मुक्त गर्यो । लालसेना र जनसेना (मिलेसिया) को सङ्ख्या १२ लाखबाट २२ लाख पुग्यो ।
लालसेनाको विजयबाट कम्युनिस्टहरूसामु जापानले आत्मसमर्पण गर्ने सम्भावना देखियो । त्यसले एसिया र संसारमा कम्युनिस्ट आन्दोलन बढ्ने डर अमेरिकाले देख्यो र जापानको हिरोसिमा र नागाशाकी भन्ने सहरमा एटम बम खसालेर हजारौँ जनतालाई मा¥यो र लाखौँ जनतालाई घाइते बनायो ।
१४ अगष्ट १९४५ को दिन जापानले विनासर्त आत्मसमर्पण ग¥यो । अब चीनमा अमेरिकाले कोमिनताङको हातमाथि पार्न जालझेल गर्न सुरु ग¥यो । च्याङ काई शेकले कम्युनिस्टविरोधी नयाँ गृह युद्ध छेड्ने तयारी ग¥यो । तर, त्यसैबेला पार्टीभित्र ल्यू शाउ चीले ‘चीन शान्ति र प्रजातन्त्रको नयाँ खुड्किलोमा भित्रिएको छ’ भनेर उसले लालइलाका र लालसेना च्याङ काई शेकलाई सुम्पी चीनलाई संसदीय वा पुँजीवादी बाटोमा लैजाने विचार अगाडि सा¥यो । ‘जापानविरोधी युद्धमा विजयपछिको परिस्थिति र हाम्रो नीति’ बारे माओले च्याङ काई शेकसँग ‘जस्तालाई तस्तै’ को उपाय लिने कुरा बताउनुभयो ।

चुङकिङ सम्झौता र लडाइँ
चीन र संसारको लोकमतले अमेरिकी र च्याङ काई शेकलाई गृहयुद्ध भड्काउने काम बन्द गर्न दबाब दियो । यसकारण, १४, २०, २३ अगष्ट १९४५ मा च्याङ काई शेकले शान्तिको कुराकानी गर्न माओलाई तार पठायो । २७ अगष्टको दिन अमेरिकी राजदूत पेट्रिक जे हर आफै येनान गयो र २८ अगष्टको दिन माओ त्सेतुङ, चाउ एन–लाइ र वाङ रो–फेइ वार्ताको निम्ति चुङकिङ उड्नुभयो । माओ १० वर्षपछि येनानबाट बाहिर जानुभएको थियो ।
४२ दिनपछि १० अक्टोबर १९४५ मा कोमिनताङले एक राजनैतिक सल्लाहकार सभा बोलाउने, भाषण र प्रेस स्वतन्त्रता दिने, अरू पार्टीलाई मान्यता दिने र राजनैतिक बन्दीहरू छोड्ने, लालइलाकालाई ‘विशेष इलाका’ र लालसेनालाई ‘विशेष सेना’ भन्ने सम्झौतामा सही गर्यो । च्याङ काई शेक चुङकिङ सम्झौतालाई लालसेनाको हात खुट्टा बाँध्ने एक उपायमा फेर्न चाहन्थ्यो । माओले लालसेनालाई होसियार रहन आदेश दिनुभयो । नभन्दै सन् १९४६ जुलाई महिनामा कोमिनताङले युद्धविरामको सम्झौतालाई भङ्ग गरेर अचानक लालइलाकामा ठूलो हमला सुरु ग¥यो । माओले ‘च्याङ काई शेकको आक्रमणलाई आत्मरक्षाको युद्धले समाप्त गर’ भन्ने आह्वान गर्नुभयो । लालसेना ठाउँलाई कब्जा नगरी शत्रुलाई समाप्त गर्ने सिद्धान्तअनुसार लड्न सुरु गयो ।

प्रतिक्रियावादीहरू कागजी बाघ
सन् १९४६ अगष्ट महिनामा माओले अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रोङलाई भेट दिनुभयो । प्रश्नको एक उत्तरमा माओले भन्नुभयो, “परमाणु बम एक कागजको बाघ हो, मानिसहरूलाई तर्साउन अमेरिकी साम्राज्यवाद त्यसलाई प्रयोग गर्छ, हेर्नमा डरलाग्दो छ । तर, वास्तवमा डरलाग्दो छैन यसमा कुनै शङ्का छैन कि परमाणु बम एक व्यापक संहारकारी हतियार हो, तर लडाइँको हार–जीतको निर्णय जनताले गर्छ, एक वा दुई नयाँ किसिमको हतियारले होइन ।” त्यस्तै “सबै प्रतिक्रियावादी कागजी बाघ हुन् । प्रतिक्रियावादी हेर्नमा सा¥है डरलाग्दो हुन्छ, तर वास्तवमा तिनीहरू त्यतिका बलिया हुँदैनन्, बरू जनता बलिया छन् ।” माओ त्सेतुङको त्यो सिद्धान्तले चीन र संसारका सबै जनतालाई साम्राज्यवाद र प्रतिक्रियावादसँग लड्न सा¥है ठूलो मानसिक बल प्रदान गयो ।

च्याङ काई शेकलाई जवाफी प्रहार
च्याङ काई शेकले ‘पूरा हमला’ र ‘मुख्य मुख्य ठाउँमा हान’ भन्ने आदेश दियो । लालसेनाको केन्द्र येनानबाट अन्त सारियो । अध्यक्ष माओ त्सेतुङ र उपाध्यक्ष चाउ एन–लाइ उत्तरी शेन्सीमा लड्दै युद्धको निर्देशन दिँदै जानुभयो । लालसेनाले एकपछि अर्को विजय पाउँदै गयो । २१ अप्रिल १९४६ को दिन अध्यक्ष माओ र प्रमुख सेना नायक (कमान्डर इन चिफ) चु तेहले लालसेनालाई देशव्यापीरूपले अगाडि बढ्न आदेश दिनुभयो । २३ अप्रिलको दिन कोमिनताङ सरकारको राजधानी नानकिङलाई लालसेनाले कब्जा ग¥यो । कोमिनताङको केन्द्रीय सरकारको पतन भएको घोषणा गरियो ।

नयाँ चीन
५ अप्रिल १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ केन्द्रीय समितिको दोस्रो सम्मेलन भयो । होपे प्रान्तको पिङ शान अञ्चलको सिप्याउ गाउँमा भएको त्यसै बैठकमा ३४ सदस्य र १९ उम्मेदवार सदस्यहरूले भाग लिएका थिए । बैठकको रिपोर्टमा माओले पार्टीको काम गाउँबाट सहरमा केन्द्रित गर्ने र पुँजीपति वर्गको ‘गुलियो पोतेको विष’ बाट बच्न जोड दिनुभयो ।
१ जुलाई १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले २८ वर्ष पार ग¥यो । त्यस अवसरमा शत्रुहरूलाई जवाफ दिँदै माओले ‘जनताको प्रजातान्त्रिक हुकुम’ बारे प्रस्ट पार्नुभयो । २१ सेप्टेम्बर १९४९ को दिन सबै प्रजातान्त्रिक पार्टी, वर्गीय सङ्गठनहरू, जनमुक्ति सेना, विभिन्न इलाका र जातिका जनता र प्रवासी चिनियाँहरू आदिको ६ सत्न्दा बढी प्रतिनिधिहरू भएको राजनैतिक सल्लाहकार सम्मेलनको बैठक बस्यो ।
माओले ‘चिनियाँ जनता उठे’ भनेर सम्मेलनको उद्घाटन गर्नुभयो । त्यस बैठकलाई प्रतिनिधिसभाको अधिकार सुम्पेको र जनवादी गणतन्त्र चीनको स्थापना भएको घोषणा गर्नुभयो । बैठकले माओलाई जनवादी गणतन्त्र चीनको केन्द्रीय जन सरकारको अध्यक्ष (राष्ट्रपति) चुन्यो ।
१ अक्टोबर १९४९ मा अध्यक्ष माओले पेचिङको थेन आन–मेन चोकबाट चीनको प्रजातन्त्रवादी गणतन्त्रको स्थापना भएको घोषणा गर्नुभयो । रूस र अरू नयाँ जनवादी देशहरूसँग चीनले बलियो मैत्री सम्बन्ध भएको घोषणा गर्यो । बेलायत, रूस, नर्वे, नेदरल्यान्ड, स्वीडेन, फिनल्यान्ड र स्वीट्जरल्यान्डले चीनको नयाँ सरकारलाई मान्यता दियो । संयुक्त राज्य अमेरिकाले चीनसित कूटनैतिक सम्बन्ध चुँडाल्यो । अध्यक्ष माओ रूस जानुभयो र स्तालिनसँग भेटघाट र कुराकानी गर्नुभयो । यो उहाँको पहिलो विदेश यात्रा थियो ।
सन् १९५० जून महिनासम्ममा जनमुक्ति सेना पूर्वी, मध्य दक्षिणी, दक्षिण–पश्चिम र उत्तरपश्चिम चीनसम्म पुग्यो र ३० लाख शत्रु सेनालाई निर्मूल पा¥यो । १९४६ जून महिनादेखि १९५० सम्मको हिसाब गर्दा ८० लाख शत्रु सेना निर्मूल पारियो र १६ सय ठूला बडा अफिसरहरू मारिए वा समातिए । तिब्बत, ताइवान (फार्मोसा) र अरू केही टापुहरूबाहेक अरू सारा चिनियाँ इलाका मुक्त ग¥यो । रूस र चीनको मैत्री सन्धि भयो र रूसले चीनलाई ३० करोड डलरको सहायता दियो ।
सन् १९५० को जून महिनामा संरा अमेरिकाले कोरियामाथि हमला गर्यो । कोरिया जापानी उपनिवेशबाट सन् १९४५ मा स्वतन्त्र भएको थियो । साम्राज्यवादी अमेरिकाले हमला गरेर कोरियामा जापानको ठाउँ लिन, चीनलाई धम्काउन र हमला गर्न चाहन्थ्यो । कोरियाली जनता आक्रमणको विरोधमा वीरतापूर्वक लड्दै थिए । कोरियाली जनतासँग मिलेर लड्न ८ अक्टोबर १९५० मा माओले चिनियाँ स्वयंसेवकहरूलाई आदेश दिनुभयो । युद्धमा शत्रु पक्षको झन्डै १० लाख ९० हजार सेना मारिए वा घाइते भए । ३ वर्षको युद्धपछि १९५३ मा ३८ समानान्तर रेखाबाट कोरिया उत्तर र दक्षिणमा विभाजित भई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र संरा अमेरिकाबिच युद्धविराम सन्धि भयो ।

आर्थिक निर्माण
सन् १९४९ देखि ५२ सम्म चीनभरि क्रान्तिकारी भूमिसुधार लागू गरियो । ज्यावल र पुँजीको कमीले गर्दा किसानहरूले वैज्ञानिक खेती गर्न सक्दैनथे । यसकारण, सन् १९५३ फेब्रुअरी महिनादेखि ‘पारस्परिक सहयोग दल’ बनाउने आन्दोलन चलाइयो । आर्थिक असमानता हटाउन सामूहिक खेतीको आवश्यक थियो । यसकारण, सन् १९५४ को अन्तदेखि ‘प्राथमिक सहकारी’ र सन् १९५६ को अन्तदेखि पूर्ण समाजवादी खेती लागू गरियो । ल्यु शाउ चीले सहकारी आन्दोलनको विरोध ग¥यो । सन् १९५३ मा पहिलो पञ्चवर्षीय योजना सुरु ग¥यो र रूसले १५६ वटा ठूल्ठूला योजनामा सहयोग गर्न स्वीकार ग¥यो ।
सन् १९५४ मा जनवादी गणतन्त्र चीनको संविधान बनाइयो र राष्ट्रिय प्रतिनिधिसभा (जनकाङ्ग्रेस) को चुनाव भयो । माओ त्सेतुङ फेरि राज्य प्रमुख वा राष्ट्रपति चुनिनुभयो । सन् १९५५ मा इन्डोनेशियाको वाङ डुङ भन्ने सहरमा २६ वटा एसिया र अफ्रिकी राष्ट्रहरूको संरा अमेरिकी साम्राज्यवादविरोधी एक सम्मेलन भयो । त्यस सम्मेलनमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री चाऊ एन लाइले गर्नुभएको थियो । उहाँ अरू देशका राष्ट्राध्यक्षहरूसँग मिलेर पञ्चशीलको सिद्धान्तलाई अगाडि ल्याउनुभयो ।
सन् १९५६ मा रूसी कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन भयो । महाधिवेशनमा पार्टी महामन्त्री ख्रुश्चेभले व्यक्ति पूजाको विरोधको नाममा स्तालिनलाई निन्दा गर्यो । माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले त्यस विषयमा आफ्नो मत भिन्नतालाई जाहेर ग¥यो र स्तालिनको पक्ष लियो । रूसी समाजवादी क्रान्तिका अनुभवलाई ध्यानमा राखेर उद्योग र कृषि, आर्थिक निर्माण र रक्षा, केन्द्र र स्थानीय शासनहरू आदि ‘दस सम्बन्धबारे’ अध्यक्ष माओले एक महत्वपूर्ण भाषण सन् १९५६ को पार्टीको राजनैतिक ब्युरोको पूर्ण बैठकमा दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *