भर्खरै :

देशभक्त शिक्षक – प्राध्यापकबारे

देशभक्त शिक्षक – प्राध्यापकबारे

राजनीतिशास्त्र, अर्थशास्त्र र कुटिल राजनीतिका देशभक्त गुरु चाणक्यले भनेका छन्, “गुरु या शिक्षक साधारण मानव हुनसक्दैन ।” तक्षशिला विश्वविद्यालयका एक गुरु विष्णुगुप्त चाणक्यले विभिन्न राष्ट्र र जातजातिमा विभाजित जनतालाई मातृभूमिको मुक्तिको लागि दीक्षित, शिक्षित र सचेत पारेर चन्द्रगुप्तको नेतृत्वमा आफ्नो भूमिमाथि आक्रमण गर्न आएका यवन साम्राज्यवादीहरूलाई प्रत्याक्रमण गरी धपाएका थिए । उनले देशको रक्षा र मुक्तिको लागि सङ्घर्ष गरेर यवन साम्राज्यवादमाथि विजय प्राप्त गरे । त्यसैले गुरु या शिक्षक प्राध्यापकहरू स्वाधीन र स्वतन्त्र नागरिक बन्ने हो भने देशमाथि हुने विदेशी थिचोमिचो र आक्रमणबाट बचाउने सङ्घर्षमा लाग्नु आवश्यक छ ।
देशभक्त शिक्षक र प्राध्यापकहरू विदेशीको लोभलालच तथा धम्कीमा आत्मसमर्पण गर्दैनन् । उनीहरू कठपुतली र देशघाती बन्दैनन् । उनीहरूले आफ्नो देश र विदेशको इतिहास, भूगोल, राजनीति, अर्थशास्त्र, नागरिकशास्त्र, विज्ञान, संस्कृति आदिबारे ज्ञान राख्नुपर्छ । आफूले प्राप्त गरेको ज्ञान व्यक्तिगत स्वार्थपूति, विदेशीको सेवाको लागि नभई देशको सेवाको लागि हुनुपर्छ । विदेशी आक्रमण, विस्तारवाद र साम्राज्यवादको विरोधमा शिक्षक र प्राध्यापकहरूले सङ्घर्षमा भाग लिनुपर्छ । त्यसअनुरूपको लेख, रचना, आत्मसंस्मरण, साहित्य, पुस्तक आदि लेखेर देशको सेवा गर्न सकिन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ यस्तै गुरुको रूपमा नेपाली जनतासामु हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, विश्वका शोषितपीडित जनताको पक्षमा कलम चलाउनुहुन्छ । विश्वको इतिहास, राजनीति, साहित्य, संस्कृति, अर्थशास्त्र आदिको अध्ययन गर्नुहुन्छ । उहाँ देशभक्त र अन्तर्राष्ट्रवादी गुरु हुनुहुन्छ । त्यस्तै माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङ, होचि मिन्ह, किम इल सङ, फिडेल क्यास्ट्रो, चेग्वेभारा, अब्राहम लिङ्कन, नेल्सन मण्डेला, महात्मा गान्धी विश्वका स्वतन्त्रता चाहने शोषितपीडित जनताका शिक्षक हुनुहुन्थ्यो ।
राजनीति प्रत्यक्ष या अप्रत्यक्षरूपमा सबै मानिसहरूले गरिरहेका हुन्छन् । केही शिक्षक र प्राध्यापकहरूले राजनीति गर्नुहुँदैन भन्ने गर्दछन् । वास्तवमा त्यही राजनीति हो । यसलाई सामन्तवादी, पुँजीवादी र प्रतिक्रियावादी राजनीति भनिन्छ । यसले समाजवादको होइन, सामन्तवाद, पुँजीवादको आयु लामो बनाउने काम गर्छ । समाजवादी आस्था भएका शिक्षक र प्राध्यापकहरूले समाजवाद या आमूल परिवर्तनको निम्ति राजनीति गर्दछन् । यसले देशमा बहुसङ्ख्यक गरिब, अशिक्षित, शोषितपीडित जनताको सेवा गर्नेछ ।
केही देशभक्त शिक्षक तथा प्राध्यापकहरूले विद्यालय र कलेजमा विद्यार्थीहरूलाई आफ्नो विषय पाठ पढाउनुको साथै पाठसँग सन्दर्भ जोडेर देशभक्ति शिक्षा दिएका हुन्छन् । सामन्तवाद र पुँजीवादले गरिरहेको अन्याय, अत्याचार, भ्रष्टाचार, शोषणको बारेमा सिकाइरहेका हुन्छन् । देशको स्वाधीनता र सार्वभौमिकता जोगाउने सङ्घर्षमा लाग्न प्रेरित गरिरहेका हुन्छन् । देशभक्त शिक्षक, प्राध्यापकहरूको शिक्षाबाट गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दजस्ता वीर सहिदहरू जन्मे । साम्राज्यवादको अगाडि लोभ र धम्कीमा नझुक्ने भीमसेन थापा, भक्ति थापाजस्ता वीर योद्धाहरू जन्मे । अनि, राजकुमार सुवाल, कृष्णराम दुवालजस्ता निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न सहिदहरू जन्मे । यस्ता वीर सहिद र योद्धाजस्ता युवा विद्यार्थीहरू, कारखानाबाट सामान उत्पादन भएजस्तै तयार हुँदैनन् । यसको लागि शिक्षक, प्राध्यापकहरूको समर्पण चाहिन्छ । यस्तै देशभक्त शिक्षक, प्राध्यापकहरूको योगदानको कारण विगतमा २०४६ सालको जनआन्दोलनबाट निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भयो । देशमा बहुदलीय व्यवस्था स्थापना भयो । २०६२÷०६३ को जनआन्दोलनले देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित ग¥यो । तर, विडम्बना ¤ यसरी शिक्षक, प्राध्यापकहरू सबै जनताले जीवन उत्सर्ग गरेर ल्याएको बहुदलीय प्रजातन्त्र, गणतान्त्रिक व्यवस्थालाई नेताहरूले बाँदरको हातमा नरिवल बनाए । जनताले बहुदल र गणतन्त्रको देख्ने गरी अनुभूति गर्न पाएका छैनन् । यो सबै आफ्नो सिद्धान्त, आदर्श, नैतिक चरित्रलाई खोलामा बगाएर व्यक्तिगत, गुटगत, दलगत स्वार्थलाई काखी च्याप्नुको परिणाम हो ।
विगतमा पञ्चायतकालमा गाउँ, सहरका विद्यार्थी र जनतालाई देशभक्तिको भावना सिकाउने, देशको माटो रक्षा गर्न सिकाउने, शोषण र भ्रष्टाचारको विरोध गर्ने, लड्न सिकाउने देशभक्त भनिएका शिक्षक र प्राध्यापकहरू आज शासक भएका छन् । आफूले सिकाएका देशभक्ति भावनालाई उनीहरूले माटोमा मिलाइदिए । ती नै शिक्षकहरू, प्राध्यापकहरू नेता बनेर पटक–पटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद भएका छन् । उच्च ओहदाका राष्ट्रसेवक कर्मचारी भएका छन् । ती सबैले आफूले बाँडेको ज्ञानअनुसार आ–आफ्नो क्षेत्रबाट निःस्वार्थरूपले काम गरेका भए, सेवा गरेका भए देशले आज यो दुर्गति भोग्नुपर्ने थिएन । उनीहरूले देश बन्धकमा राखे तर देश र जनता बनाएनन् ।
यहाँ थुप्रै देशभक्त शिक्षक र प्राध्यापकहरू नभएका होइनन् । विगतमा यस्तै एउटा विद्यालय या कलेजमा सित्तैमा दिएपछि जे पनि लिने गलत प्रवृत्तिले गर्दा नेपालीहरूलाई नोकर र दास बनाउन सकिन्छ भन्ने मनसाय लिएर आएका विदेशीहरूलाई मुखमा बुजो लगाएर पठाएको उदाहरण हाम्रोसामु छ । उनीहरूले विद्यालय कलेजलाई आधुनिक सुविधा सम्पन्न ‘ई’ लाइब्रेरी बनाइदिने, शिक्षकहरूलाई डबल तलब दिने, वर्षको दुई जोड सुट टाई दिने र वर्षको एकचोटि विदेश सयर गराउने लोभ बाँडेका थिए । सो सुविधा लिने भए विद्यालय भवनको मूल गेटमाथि उनीहरूको कम्पनीको साइनबोर्ड राख्नुपर्ने, एउटा कोठा अफिसको लागि दिनुपर्ने, त्यसमा उनीहरूका मानिसहरू रहने, उनीहरूको मातहतमा विद्यालय, शिक्षकहरू चल्नुपर्ने र माथि छानामा उनीहरूको देशको झन्डा फहराउनुपर्ने सर्त तेस्र्याएका थिए । जनताको रगत पसिनाबाट तिरेको करबाट तलब सुविधा खाएका, राष्ट्रसेवक भनिएका शिक्षा मन्त्रालयका सचिवले उनीहरूलाई जति खुसी पार्न सकिन्छ त्यति नै बढी सहयोग बढ्छ भनेका थिए । तर, त्यस विद्यालय–कलेजका देशभक्त शिक्षकले अभाव भोगिन्छ तर हामी देशको स्वाभिमान र सार्वभौमिकता र स्वाधीनतामा आँच आउने काम गर्दैनौँ भनी फर्काएका थिए । आज त्यही विद्यालय–कलेज आफ्नै बलबुट्टामा सबैको सहयोगमा नमुना विद्यालय–कलेजको रूपमा अगाडि बढिरहेको छ । आफ्नै बलबुट्टामा बनेको देशमात्र सार्वभौम, स्वाधीन र स्वतन्त्र भई विकास भएको तर अरूको सहयोग या भरमा बनेको देश उपनिवेश र कठपुतली भएको विश्वको इतिहासले देखाइरहेको छ ।
देशभक्त शिक्षक, प्राध्यापक, विद्यार्थी, युवा, किसान, मजदुरहरूले देशको स्वाधीनता, सार्वभौमिकताको रक्षा गर्ने सङ्घर्षमा योगदान दिएका छन् । देशको स्वाधीनता र सार्वभौमिकतामा कसैले हस्तक्षेप र आक्रमण गर्दा त्यसको विरोध गरेका छन् । भारत सरकारले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासमेत आफ्नो नक्सामा गाभेर वि.स. २०७६ कार्तिक १५ गते तद्नुसार सन् २०१९ नोभेम्बर १ मा नयाँ नक्सा जारी गरेको विरोधमा २०७६ मङ्सिर २३ गते रत्नपार्क लैनचौरस्थित भारतीय दूतावाससम्मको पैदल जुलुस भएको थियो । नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाको पालामा सन् २०१७ सेप्टेम्बर १४ तदनुसार वि.सं. २०७४ भदौ १ गते अमेरिकाको हिन्द प्रशान्त सुरक्षा रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (सहस्राब्दी चुनौती योजना) एमसीसीमा आफूले पदीय मर्यादाको ख्यालै नगरिकन तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र संयुक्त राज्य अमेरिकाको तर्फबाट एमसीसीका प्रमुख कार्यकारी अधिकारी जोनाथन जी. नासबिच वासिङ्टन डीसीमा एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको विरोधमा २०७६ फागुन १३ गते रत्नपार्कदेखि महाराजगञ्जस्थित अमेरिकी दूतावाससम्म विरोध जुलुस भएको थियो । वि.सं २०७८ फागुन १५ गते देशभक्त नेपाली जनताको व्यापक विरोध हुँदाहुँदै प्रतिनिधिसभामा पास गर्नको लागि पेश गरेको विरोधमा र त्यस्तै व्यापक जनताको व्यापक विरोध हुँदाहुँदै २०७९ फागुन १५ गते राति बहुमतको नाममा पास गरेको एमसीसी सम्झौताको विरोधमा पटक–पटक कोटेश्वरदेखि सङ्घीय संसद् भवनको परिसर बानेश्वरसम्म भएको विरोध ¥यालीमा थुप्रै देशभक्त शिक्षक, प्राध्यापकहरू सहभागी भएका थिए । त्यस्तै देशघाती नागरिकता विधेयकविरुद्धको विरोध जुलुसमा पनि तिनीहरू सहभागी भएका थिए ।
नेपालमा थुप्रै विदेशी छात्रवृत्तिमा डिग्री प्राप्त देशघाती शिक्षक, प्राध्यापक, बुद्धिजीवी विद्वान भनाउँदाहरू नभएका होइनन् । उनीहरूले विदेशीको नुन खाएको कारण विदेशीको गीता गाइरहेका छन् । उनीहरू विदेशीका कठपुतली बनेका छन् । मुखले देशभक्ति, देश प्रेमको भजन गाए पनि उनीहरूको काम, व्यवहार र परिणामले विदेशीको सेवा र हित गरेको घामजत्तिकै छर्लङ्ग देखाइरहेका छन् ।
कति शिक्षक र प्राध्यापकहरू नेपाल सरकारको शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालयले शैक्षिक, गुणस्तर वृद्धि गर्न तालिम दिँदा तालिम सिकेर देशको सेवा गर्नुभन्दा पनि पहिले कति भत्ता आउँछ त्यो हेरिन्छ । यदि धेरै भत्ता, सुविधा आउने भए सम्बन्धित योग्य शिक्षक, प्राध्यापकलाई होइन विद्यालय र क्याम्पसका विश्वविद्यालयका प्रमुखहरू कसैलाई थाहा नदिई सुटुक्क जान्छन् । उनीहरू आफ्नो मान्छे सम्पर्क गरेर प्लेनको टिकट, गाडी आदिको नक्कली बिल बनाएर कानुनी भ्रष्टाचार गर्दछन् । यसले शिक्षक, प्राध्यापक, कर्मचारीहरूलाई भ्र्रष्ट बनाएर देश बिगार्नु कुनै नौलो भएन । यो देशको शिक्षा उन्नयनमा ठूलो बेइमानी हो ।
विद्यालय–कलेज बनाउने काममा समय दिनुप¥यो भने विभिन्न बहाना बनाएर भाग्ने शिक्षक, प्राध्यापकहरू, कर्मचारीहरू पनि नभएका होइनन् । तिनीहरू आफ्नो व्यक्तिगत स्वार्थ हेर्ने गर्छन् । तिनीहरूले भ्याई नभ्याई बढीभन्दा बढी पैसा आउने कक्षा लिने, तलब सुविधा बढाउने, धेरै भत्ता आउने तालिम जाने गर्छन् । उनीहरू विद्यालय, कलेजको विकास समाज रदेशसँग केही मतलब राख्दैनन् ।
त्यसैले शिक्षक, प्राध्यापकहरू देशको जिउँदा लासजस्ता होइनन् भनेर देखाउन देशको शैक्षिक उन्नयनको साथै देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सङ्घर्ष गर्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *