भर्खरै :

‘शिक्षकको भाषा’ को भाष्य

‘शिक्षकको भाषा’ को भाष्य

पुस्तक परिचय
समाज परिवर्तनका संवाहक शिक्षकका अनुभव, अनुभूति, विचारहरू लेख्न जरुरी छ । वास्तविक अनुभूति नै मन छुने साहित्यिक रचना हो । त्यो रचना सबैका लागि काम लाग्छ । त्यो रचनाले स्वाभाविकरूपमा जो कोहीलाई पनि रचनात्मकरूपमा सहयोग गर्छ नै । यस्तै सहयोग गर्ने प्रयत्न गरेका छन्, लेखक तथा पूर्वशिक्षक छवि अनित्यले आफ्नो पुस्तक ‘शिक्षकको भाषा’ मा ।
२०७२ सालको माघमा स्थायी शिक्षक भएर २०७४ मा स्थायी शिक्षकबाट राजिनामा गरेका हेटौँडाका छवि अनित्यले पुस्तकमा भनेका छन्, ‘शिक्षण पेशामा प्रवेश गर्नु जति सहज छ, शिक्षक हुन त्यति सहज छैन ।’
२०५८ सालमा कक्षा ११ पढ्दै गरेका १६ वर्षे एक किशोरले बोर्डिङ स्कूलबाट गरेको शिक्षण यात्रा सुरु गरे । उनी सामुदायिक विद्यालयको निजी स्रोत, लियन, राहत हुँदै स्थायी शिक्षकसम्म बन्न सफल भए । शिक्षणको क्रममा उनको मनमा लागिरह्यो, शिक्षण आफैमा एउटा पेसा हुँदै हो । त्योभन्दा बढी यो कला हो । अनि शिक्षक एउटा कलाकार । रङ्गमञ्चभन्दा कम छैन कक्षा कोठा । दिनहुँ फरक–फरक विषयवस्तुमा उस्तै प्रस्तुति दिनुपर्छ शिक्षकले । उसका प्रत्येक दिनको प्रस्तुतिले विद्यार्थीलाई आकर्षित गरिरहनुपर्छ । जब त्यो कलाको एउटा प्रस्तुतिमा एउटा शिक्षक चुक्छ अनि दुर्घटना हुन्छ ।
शिक्षकका कारण कक्षाकोठा कसरी ‘शून्यता’ मा रमाइरहेछ, सिकाइ स्तर कसरी ऋणात्मक बन्दै छ ? त्यसले एउटा विद्यार्थी होइन, सिङ्गो एउटा पुस्ता कसरी पछाडि परिरहेको छ ? वास्तवमा शिक्षकले विद्यार्थीप्रति, शिक्षालयप्रति, अभिभावकप्रति र शिक्षक हुनुको गर्वप्रति न्याय गर्नसकेको छ ? सबै शिक्षकले छातीमा हात राखेर सोच्नुपर्ने स्थिति आएको बेला छवि अनित्यको ‘आत्म मूल्याङ्कन’ को साझा प्रतिबिम्ब हो — शिक्षकको भाषा ।
‘शिक्षकको भाषा’ पढ्दै गर्दा ‘ह्या ! के पढ्नु ? एक शिक्षकको निजी अनुभव र विचारै त हो नि’ भनी पन्छिन पनि छुट छ, जो कोहीलाई । तर, पढ्दै गर्दा तपाईँ पनि ‘शिक्षकको भाषा’ का सर्जकसँग आफ्नै अनुभूतिमा रम्न थाल्नुहुन्छ । तपाईँलाई आफूले पढ्दाको दुःख याद आउँछ, सहपाठीहरू सम्झनामा आउँछन्, गुरु, विद्यालयको वातावरणको सम्झना आउँछ, आफूले ‘करियर’ सुरु गर्दाको त्यो ‘अग्र्यानिक’ क्षण सिनेमाका रिलझैँ आँखा अगाडि आउँछ । ‘शिक्षकको भाषा’ को विशेषता यो पनि हो ।
हुन त छवि अनित्यको त्यो आत्ममूल्याङ्कन नितान्त निजात्मक हो तर कक्षा कोठाको वातावरण, शिक्षकको साझा मनोविज्ञान भने प्रायः उस्तै उस्तै हुन् । यसर्थ, यो पुस्तक शिक्षक बनिरहेकाहरूका लागि उपयोगी र पठनीय छ । आगामी दिनमा शिक्षक–शिक्षक बन्न खोज्नेहरूका लागि पनि उपयोगी छ ।
समग्र शिक्षा सुधारको आवश्यकता सर्वत्र महसुस गरिँदै छ । यसका लागि शिक्षाका प्रत्येक पाटोलाई सुधार नगरी सुखै छैन । यसको सुरुवात कताबाट गर्दा हुन्छ ? आफँैमा यो प्रश्न गम्भीर छ । यताबाट भनी चोर औँला देखाउँदा बाँकी औँलाले आफैतिर पनि सोझ्याइरहेकै हुन्छ । यही ‘सत्य’ बिर्सिरहेका छौँ हामी । यसैले शिक्षामा सुधारका लागि सबै पक्षको भूमिका समान र समानान्तर हुनुपर्ने जरुरी देखिएको छ । लेखक छवि अनित्यले पनि पुस्तकमार्फत यही माग गरेका छन् । आ–आफ्नो क्षेत्रमा आ–आफूले इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने हो भने पक्कै पनि शिक्षामा सुधारको लागि टाढाको यात्रा गर्न जरुरी छैन ।
ते¥हवटा शीर्षकमार्फत लेखक छवि अनित्यले शिक्षाको एउटा साङ्गोपाङ्गो चित्रण गरेका छन् । उनले ‘शिक्षक’ मा ‘गुरु’ बन्न बाँकी शिक्षकको सन्दर्भदेखि समाजमा शिक्षकको स्थानसम्मको व्याख्या गरेका छन् । व्यावसायिकभन्दा व्यापारिक बनेका शिक्षकका कारण उनले शिक्षामा देखिएको ‘विकृति’ देखाएका छन् ।
‘किसिम किसिमका विद्यार्थी’ मा कक्षाकोठाको वातावरण देखाएका छन् । उनले शिक्षक बन्नका लागि विद्यार्थी र बालबालिकाको मनोविज्ञान बुझ्ने दक्षतामा जोड दिएका छन् । यसैगरी, ‘खराब केटी’ केटी वा छात्राप्रतिको बुझाइ र त्यो बुझाइले समाजमा परिरहेको नकारात्मक असर, ‘नियत’ ले बढ्दो यौन दुव्र्यवहारसँगै छात्राहरूको मनोभाव र ‘बुलिङ’ ले पारेको असरलाई उल्लेख गरेका छन् ।
सकारात्मक सोच र धारणाले परिवर्तन गर्न सकिन्छ भन्ने ‘सत्प्रेरणा’ को मूलभाव रहेको छ भने ‘पढ्ने शिक्षक, पढ्ने विद्यार्थी’ ले पठन संस्कृतिको जरुरीलाई जोड दिएको छ । नेपालको सन्दर्भमा पेचिलो बनेको एउटा सदावहार विषय हो– शिक्षकको दलसँगको आबद्धता । यही आबद्धताले शिक्षा क्षेत्रलाई नराम्ररी गाँजेको छ । राजनीतिका लागि शिक्षक कि शिक्षकका लागि राजनीति ? भन्ने सवालमा लेखक अनित्यको यही प्रश्न छ : ‘नेता शिक्षक कि शिक्षक नेता ?’ राजनीतिबाट कोही पनि बिमुख हुन नसक्ने यथार्थलाई अङ्गीकार गर्दै उनले शिक्षकले राजनीति गर्न जरुरी रहेको सार प्रस्ट्याएका छन् ।
कवि विनोदविक्रम केसीको ‘आज सरको क्लास लिन्छ विद्यार्थी’ सँग मिल्दोजुल्दो शीर्षकको अर्को निबन्ध ‘मास्टर जाँच्ने विद्यार्थी’ मा उनले शिक्षक हुनुको मर्म, गर्वलाई सिलसिलाबद्ध वर्णन गरेका छन् । त्यसैमा उनले शिक्षक किन सबैको सम्झनामा रहिरन्छ ? भन्ने जवाफ खोजेका छन् । शिक्षकलाई हरेक बखत विद्यार्थीले परख गरिरहने यथार्थलाई प्रस्तुत गर्दैै लेखक अनित्यले शिक्षकलाई झक्झक्याएका छन्, लेखनीमार्फत पढाएका छन् । लेखक अनित्य ‘शिक्षक’ को पात्रमा देखिएका छन् ।
‘सिकाइको अभिव्यक्ति’ मा उनले आफूमा रहेको सिर्जनशीलतालाई अभिव्यक्त गर्न उक्साएका छन् । त्यो चुनौतीपूर्ण भएर पनि त्यसलाई स्वीकार्नुको विकल्प छैन । क्षमता, दक्षता र नेतृत्व विकासका लागि जरुरी छ– अभिव्यक्ति कला पनि । त्यसका लागि लेखक अनित्यले कक्षाकोठालाई पनि आफ्ना धारणा अभिव्यक्त गर्ने एउटा मञ्चको रूपमा प्रयोग गर्न सकिने अनुभवजन्य उदाहरण पस्केका छन् ।
पुस्तकमा शिक्षकको अनुभव छ । त्यो अनुभवले शिक्षक, विद्यार्थी, शिक्षाबारे जीवन्त अनभूति दिएको छ । शिक्षकको भाषालाई भावले लिपिबद्ध गरेका छन्, लेखक अनित्यले । शिक्षकको भाषाको ध्वनिलाई थप सुमधुर बनाउने एउटा प्रयास मान्न सकिन्छ । साथै निबन्धका शीर्षक र विषय सुहाउँदो सन्दर्भ, उद्धरण, उदाहरण, संवादले कतै शिक्षाको धमिलो चित्र, कतै शिक्षाको उज्यालो पाटो देखाएका छन् ।
मुख्यतः शिक्षाको नायक : ‘शिक्षक’ लाई नै केन्द्रबिन्दुमा राखी लेखिएका पठनीय, सुललित भाषा शैलीका ती निबन्धहरू सतही छैनन् । यी निबन्धहरू पढ्ने, पढाउने, सिक्ने, सिकाउने सबैका लागि उपयोगी छन् । ती निबन्धहरू कतै लेखजस्तो, कतै निबन्धजस्तो, कतै आत्मसंस्मरणजस्तो त कतै विज्ञका कुरा जस्तो भान हुने उनका विचारले शिक्षामा सुधार गर्न चाहना राख्ने जो कोहीलाई पनि यो पुस्तक उपयोगी देखिन्छ । आफ्नो निधारमा लाएको टीका कुन रङको छ ? कुन आकारको छ, कसरी लाइएको छ ? भन्ने थाहा पाउन किन ऐना अगाडि उभिनै पर्यो कि कोहीले निधारको वर्णन गर्नुपर्छ । लेखक छवि अनित्यले यही भावको नित्तषा बोलेका छन्, ‘शिक्षकको भाषा’ मा ।
शब्दभित्र पुस्तक :
कृति : शिक्षकको भाषा
कृतिकार : छवि अनित्य
प्रकाशक : आकृति क्रिएसन, हेटौँडा
मूल्य : ३००।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *