भर्खरै :

एक्काइसौँ शताब्दी समाजवादी व्यवस्थाको युग हुने

एक्काइसौँ शताब्दी समाजवादी व्यवस्थाको युग हुने

काभ्रे, २३ पुस । वागीश्वरी मा.वि./कलेजको आयोजनामा बल्थली माउन्टेन रिसोर्ट, काभ्रेमा वागीश्वरी परिवारको भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो ।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित सांसदहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) ले २१ औँ शताब्दी समाजवादी व्यवस्थाको युग हुने बताउनुभयो । विचार र सिद्धान्त नछोडी निःस्वार्थरूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पुँजीवादी व्यवस्थामा धनीहरू नाफाका लागि जे पनि गर्ने बताउनुभयो ।
अनैतिक सत्ता गठबन्धन गर्ने एमाले, माओवादी नामअनुसार काम नगर्ने पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । धनीहरू गरिबका छोराछोरी पढ्ने त्रिभुवन विश्वविद्यालय ध्वस्त भएको चाहन्छन् भन्दै उहाँले हाम्रो शिक्षा नीतिले बहुसङ्ख्यक जनताको हित हुने काम गर्नुपर्ने औँल्याउनुभयो ।
बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले विद्यालयलाई नमुना बनाउन विद्यालयको पनि होल बडी चेक अप गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षक – प्राध्यापकहरूले वार्षिकरूपमा पठन संस्कृतिको आत्ममूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । खोज तथा अनुसन्धानमूलक कार्यका लागि शिक्षकहरू अघि बढ्नुपर्ने बताउँदै उहाँले नयाँ नयाँ सोच र सृजनात्मक कार्यमा लाग्न प्रोत्साहित गर्नुपर्ने औँल्याउनुभयो । पुँजीवादले जन्माएका हरेक बेथिति, विसङ्गतिलाई वागीश्वरीले केलाउँदै जानुपर्ने बताउँदै उहाँले नेमकिपाको विचार र सिद्धान्तमा अडिग भई प्रदेश सभामा सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य गीता काफ्लेले नेमकिपाको घोषणापत्र, माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारा र पार्टीको निर्णयअनुसार काम गर्ने बताउनुभयो ।
वागीश्वरी प्लस टु र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको प्रगति देख्न नचाहनेसँग खरो रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले वागीश्वरीका परिवारले इमानदारिताका साथ काम गरेकै कारण नमुना बन्न सफल भएको स्पष्ट पार्दै शब्दले भन्दा काम र व्यवहार नै यसको उपज भएको बताउनुभयो ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै आत्मनिर्भरताले हामीलाई अघि बढ्न हौसला प्रदान गरेको बताउनुभयो । उहाँले एनजीओ र आइएनजीओले आफ्नो नियन्त्रणमा राख्न खोजेकोप्रति सतर्क बन्नुपर्ने बताउँदै वागीश्वरी परिवारले कहिल्यै अल्छी नमानेको स्पष्ट पार्नुभयो । उहाँले देशको निर्वाचन परिणामले जनता अझै सचेत नभएको सन्देश दिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालयको स्थापनाको इतिहास कसैले बिर्सन नहुने बताउँदै उहाँले वागीश्वरी देशभरकै शैक्षिक गन्तव्यको रूपमा रहेको बताउनुभयो । अग्रजले पढाइसँगै राजनीतिक चेतना दिएको स्मरण गर्दै उहाँले नयाँ पुस्तालाई पनि यसका बारेमा सन्देश दिनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि र कलेज व्यवस्थापन समितिका अध्यक्षबाट नेमकिपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *