इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
इरानको अस्वीकार
इरान भ्रमण जानुअघि जापानी प्रम सिन्जो आबेले ट्रम्पलाई इरानमा आफूले बोल्ने सम्वादहरू सुनाए । आबेले ट्रम्पले भन्ने कुरा भनौँ कि नभनाँै भन्ने सोधे । ट्रम्पले कुनै जवाफ दिएनन् । यसको अर्थ अमेरिकी दृष्टिकोण आफै राख्ने ट्रम्पको सोच थियो । यसबाट बोल्टनहरू निकै खुसी भए ।
जून १३ मा ओमन खाडीमा दुई ट्याङ्करमाथि हमला भएको खबर आयो । तीमध्ये एउटा जापानी ट्याङ्कर थियो । हमलाकारीको अत्तोपत्तो थिएन । बोल्टनले भने त्यसको पछाडि इरानलाई नै देखे । इरानले यसमा आपत्ति जनायो । इरानलाई दोषी देखाएर मिडियाहरूले फुक्नु फुके ।
इरानसम्बन्धी सामरिक बैठक बस्यो । त्यसमा इरानको कुद्स सेनालाई अमेरिकाले दण्ड नदिएको हुनाले उसले जथाभावी हमला गरिरहेको निष्कर्ष निस्कियो । इरानलाई शासकहरू नफेरेसम्म केही नहुने निक्र्योल निस्कियो । बैठकको निष्कर्षबारे बोल्टनले ट्रम्पलाई बताए । ट्रम्पले सबै कुरा गोप्य राख्न भने ।
जापानी प्रम सिन्जो आबेले इरान गए । इरानी सर्वोच्च नेता आयोतल्लाह खामेनी विदेशमन्त्री रुहानीभन्दा कडा रूपमा प्रस्तुत भए । ट्रम्पसँग वार्ता सुरु गर्ने प्रस्ताव खामेनीले अस्वीकार गरे । यसलाई उनले ट्वीटमार्फत सार्वजनिक पनि गरे । उनको ट्वीट यस्तो थियो, “हामी सिन्जो आबेको व्यक्तित्व र गम्भीरतामा शङ्का गर्दैनौँ । तर तपार्इँले अमेरिकी राष्ट्रपतिबारे बताउनुभएको कुरामा म ट्रम्पलाई सन्देश आदानप्रदान गर्न योग्य व्यक्ति ठान्दिन । उनीप्रति हाम्रो कुनै टिप्पणी छैन । हामी उनलाई जवाफ दिन्नौँ । अमेरिकाले इरानसँग वास्तविक सम्झौता गर्न खोजेको हामी देख्दैनौँ । किनभने, ट्रम्पजस्तो व्यक्तिबाट कहिल्यै वास्तविक सम्झौताको प्रस्ताव आउन सक्दैन । अमेरिकी अधिकारीहरूमा वास्तविकता नामको चीज बिरलै पाइन्छ ।”
आबेको इरान भ्रमण असफल भयो । यस्तैमा इरानले आफ्नो भूभागनजिकै जापानी जहाजहरूमा हमला गरेको हल्ला चल्यो । जापानले त्यस्तो कुनै हमला नभएको भनी खण्डन ग¥यो । पोम्पेओ र बोल्टनले ट्रम्पलाई भेटे । इरानले अस्वीकार गरेको उनलाई मन परेन । ट्रम्पले जोन केरीले नै इरानलाई आफूबाट अलग पारिरहेको गुनासो उनको थियो । खामेनीको ट्वीटको जवाफमा ट्रम्पले अर्को ट्वीट लेखे, “आएतोल्लाह अली खामेनीलाई भेट्न इरान जाने प्रम आबेको म प्रशंसा गर्छु । इरानसँग सम्झौता गर्न खोज्नु मेरो विचारमा अलि छिटो हुन्छ । आज ओमन खाडीमा भएको हमलामा इरानको हात भएको संरा अमेरिकाको ठहर छ ।”
जापान फर्केपछि प्रम आबेले ट्रम्पलाई आफ्नो भ्रमणको विवरण सुनाउन फोन गरे । उनले खामेनी अलि कडा भएको, विदेशमन्त्री रुहानीले भने रुचि देखाएको बताए । तर सम्वाद थालनी गर्न अमेरिकाले नाकाबन्दी हटाउनुपर्ने उनको सर्त थियो । प्रम आबेले इरान र उत्तर कोरियासँग फरक हिसाबले प्रस्तुत हुनुपर्ने सुझाव दिए । ट्रम्पले आबेलाई वार्ता असफल भएकोमा पीर नमान्न भने । मानौँ उनलाई सो वार्ता विफल हुने पहिल्यै थाहा थियो र मजाक गर्न उनले आबेलाई इरान पठाएका थिए । अन्त्यमा, ट्रम्पले आबेसँग जापानले अलि बढी कृषि उपज खरिद गर्नुप¥यो भने । जापानको सुरक्षामा अमेरिकाले प्रशस्त पैसा बगाएको र व्यापारमा पनि धेरै घाटा खाइरहेको उनको तर्क थियो । आबेले हुन्छ भने ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो । ट्रम्पले जोन केरीको बद्ख्वाइँबाट बैठक सुरु गरे । शानाहन र डनफोर्डले मध्यपूर्वबाट चीन, दक्षिण कोरिया, जापान, भारत र इन्डोनेसियाले बढी मात्रामा तेल किनेको तथ्याङ्क देखाए । लामो तथ्याङ्क सुनेर ट्रम्पको कान पाट्टियो । उनले सिरिया र अफगानिस्तानबाट सेना फिर्ता गर्ने र यसको मूल्य अरब देशहरूले लिनुपर्ने कुरा राखे । बोल्टनले छोरा बुशको पालामा खाडी युद्ध भएको र त्यसमा अरब देशहरूले नै धेरै खर्च व्यहोरेको बताए । यति सुनेर ट्रम्प बाहिरिए । खासमा आफूसामु धेरै विकल्प नपाएर ट्रम्प आत्तिएका थिए ।
जून १७ मा अर्को बैठक बस्यो । इरानमा के गर्ने भन्ने विषयमा बैठक टुङ्गोमा पुगेन । कर्मचारीतन्त्रको कछुवा गति उस्तै थियो । उनीहरू इरानी हमलाको प्रत्युत्तर दिन हिच्किचाइरहेको बोल्टनले बुझेका थिए । उनी कर्मचारीतन्त्रलाई “बाँदरले आफ्नो घर पनि बनाउन्न, अरूलाई पनि बनाउन दिन्न” भन्थे । ‘अमेरिकाले अमेरिकालाई नै रोकेको’ उनलाई कत्ति पनि मन परेन । यस्तैमा इरानले युरोपसँगको आणविक सम्झौता उल्लङ्घन गर्न चाह्यो । इरानको सैन्य क्षमता विस्तार खासमा युरोपभन्दा पनि अमेरिका लक्षित थियो भन्ने यसबाट झल्किन्थ्यो ।
केही दिनपछि ट्रम्पले बोल्टनलगायत अधिकारीहरूलाई भने, “हामीले तत्कालै कतै हानेको भए हुने । मेरा जर्नेलहरूलाई मलाई कुनै विकल्प दिएनन् ।” पोम्पेओले खाडीका देशहरूसँग खर्च उठाउने काममा उन्नति भएको बताए । ट्रम्पले भने, “हामीलाई अब तिनीहरूको तेल चाहिएको छैन । म इरानलाई आणविक हतियार बनाउन दिन्न ।” यो सुनेर बोल्टनहरूको कान टाँठो भयो । पेन्टागनले जहिल्यै ‘अरूलाई रोक्ने नीति’ को पैरवी गथ्र्यो । यहाँ पनि ग¥यो । अर्का अधिकारीले ‘जस्तालाई तस्तै’ गर्नुपर्ने बताए । बोल्टन भने अलि ठूलो गर्ने सोचमा थिए । उनी इरानी तेल प्रशोधन केन्द्रहरू र आणविक परीक्षणस्थलहरू भएको ठाउँमा ताकीताकी प्रहार चाहन्थे । इरानले एक चोट हाने अमेरिकाले दसौँ चोट हान्नेछ भनी इरानलाई चेताउन चाहन्थे । त्यसबेलासम्म इरानले एक चोट पनि नखाएको बोल्टनको हिसाब थियो । उनी लेख्छन्, “ओबामाले कम्तीमा एकचोटि धम्की दिएका थिए । तर त्यसपछि त इरानमा प्रहार गर्ने कुनै योजना नै बनेन । इरानी हमलाको प्रतिवादमा एउटा वक्तव्यसम्म निस्केन ।”
भोलिपल्ट ट्रम्पले इरानी हमलालाई ‘सामान्य’ भनेर ‘टाइम’ पत्रिकालाई अन्तर्वार्ता दिए । केही दिनमा शिया लडाकु समूहले इराकको बासरामा तीनवटा अमेरिकी तेल कम्पनीहरू एक्जोन, शेल र इनीका स्थानीय कार्यालयमा बमबारी गरे । त्यसमा परेर केही मान्छे घाइते भए । इराक सरकारले आफ्नो भूमिबाट हमला गर्न प्रतिबन्ध लगाएको घोषणा ग¥यो । इराकले ती लडाकुहरूलाई मारेको भए बोल्टन खुसी हुने थिए । तर, त्यस्तो भएन किनभने इराकमा इरानीहरू हावी भएको बोल्टन दाबी गर्छन् । उनी कुद्स सेनाका कमान्डर कासिम सुलेमानी र अर्का कमान्डर हुसेनी सलामी खुसी भएका होलान् भनी कल्पना गर्छन् ।

ट्रम्पको ‘शान्तिप्रेम’
अमेरिकामा नयाँ विदेशमन्त्री आए । मार्क एस्पर यसअघि सेनामा थिए । उनी पोम्पेओका साथी थिए । केही दिनभित्र साउदीको एउटा पावर स्टेशनमा हुथी लडाकुहरूले मिसाइल हानेको खबर आयो । ट्रम्पले बोल्टनलाई के गर्ने भनी सोधे । बोल्टनले केही दिन सूचना सङ्कलनमा लाग्ने बताए । सोही रात इरानले अर्को अमेरिकी ड्रोन खसालेको खबर आयो । दुई हप्तामा अमेरिकाका दुइटा ड्रोन ध्वस्त भएका थिए । साउदी अरबको आग्रहमा अमेरिकी सैन्य अधिकारी फ्राङ्क म्याकिन्जी घटनाको छानबिन गर्न गए । त्योभन्दा महत्वपूर्ण अमेरिकी ड्रोन ग्लोबल हक थियो । डनफोर्डले त्यसको लागत १२ देखि १५ करोड डलरसम्म पर्ने बताए । सो ड्रोनमा कुनै व्यक्ति थिएन । डनफोर्डले सो गुप्तचर ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडिरहेको थियो भनी दाबी गरे । इरानलाई यसको जवाफ दिनुपर्ने कुरा चल्यो । किनभने, यसपालि इरानबाटै हमला भएको थियो । इरानले सो ड्रोन इरानी हवाई क्षेत्रमा घुसेकोले खसालेको स्पष्ट पा¥यो ।
डनफोर्डले इरानको समुद्र किनारमा तीन ठाउँमा हमला गर्न सकिने प्रस्ताव राखे । उनले यो ‘जस्तालाई तस्तै’ पनि हुने र इरान धेरै नचिढिने उपाय भएको बताए । बोल्टन भने अझै ठूलो हमला गर्न सके इरानले पछि अमेरिकालाई छुने ‘दुस्साहस’ गर्ने थिएन भन्ने पक्षमा थिए । बोल्टन र पोम्पेओ एकातिर भए । डनफोर्ड र शानाहन अर्कोतिर भए । एस्पर भने चुपचाप बसे । उनलाई यसको अनुभव थियो । अन्त्यमा तीन स्थानमा प्रहार गर्ने र अन्य तरिकाले पनि जवाफ दिने छिनोफानो भयो । ट्रम्प पनि सहमत भए ।
ट्रम्पले अमेरिकी संसदका केही नेताहरूलाई भेटे । उनले त्यहाँ इरानमाथि प्रहार गर्न राजनीतिक आवरण खोज्ने मुल्भानीको अनुमान थियो । अन्त्यमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो । बैठकमा अमेरिकी प्रशासनका सबै प्रमुख व्यक्तित्वहरू उपस्थित थिए । सबै सहभागी गम्भीर थिए । डनफोर्डले स्पष्ट हिसाब बताए । उनले ग्लोबल हक पड्किँदा अमेरिकाको १४ करोड ६० लाख डलर खरानी भएको स्पष्ट जानकारी गराए । उनले सो विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा थियो भनी झूटो विवरण पनि सुनाए । उनले अमेरिकी सैन्य अनुभवका आधारमा इरानबाटै मिसाइल प्रहार भएको दलिल दिए । अन्त्यमा, उनले इरानका तीन क्षेत्रमा प्रहार गर्ने र थप अन्य उपाय पनि अपनाउने बताए । सबैजना एकमतजस्तो देखिन्थे । यस्तैमा ट्रम्पले रुसीहरू घाइते हुने नहुने विषयमा प्रश्न गरे । उनले हमला गर्ने हतियारहरू कति महँगा छन् भनी सोधे । केही बेरको छलफलपछि डनफोर्डले रातमा हमला हुने हुनाले रुसीहरू मरे पनि धेरैजना मर्दैनन् भने ।
ट्रम्प अलि धेरै मानिसहरू मार्ने मनस्थितिमा थिए भनी बोल्टन लेख्छन् । ट्रम्पको मनोदशा देखेर सबै खुसी थिए । ट्रम्पले बोल्टनलाई नरम भएको बताए । बोल्टनले यो हमला ‘नाफादायी हुने’ बताए । पोम्पेओले अरब देशहरूबाट हमलाको लागि पैसा झार्नेतिर उनको सङ्केत थियो । पोम्पेओ अरब देशहरूलाई संयुक्त गस्तीमा पैसा लगाउनुपर्ने भन्दै थिए । उनी छिट्टै त्यस भेगतिर जाँदै पनि थिए । ट्रम्पले भने, “कुरा गर्नलाई कुरा नगर, पैसा माग र गस्तीमा आउन भन ।”
त्यसपछि ट्रम्पले कतिबेला हमला गर्ने भनी सोधे । रातको ९ बजे तय भयो । डनफोर्डले भने, “राष्ट्रपतिजी, इरानीहरूले प्रत्याक्रमण गरे कुनै अमेरिकी नमर्ने बन्दोबस्त पनि मिलाउँछौँ ।” ट्रम्पले भने, “तिनीहरूले त्यसो नगर्लान् । बरु मलाई सिरियामा बसिरहेका हाम्रा सैनिकहरूको चिन्ता छ । तिनीहरूलाई तुरुन्तै निकाल ।.. सिरिया हाम्रो साथी होइन ।” इरानमाथिको यो हमला साङ्केतिक थिएन, सिधै इरानमाथि हमला हुँदै थियो, केही मान्छे मर्दै थिए ।

आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै इरानी सेनाले ध्वस्त पारेको अमेरिकी गुप्तचर ड्रोन ग्लोबल हक
यसपछि संसदीय ब्रिफिङको कार्यक्रम थियो । त्यसमा अमेरिकालाई चिनियाँ कम्पनी हुवावेको प्रसङ्ग उठ्यो । ट्रम्पले व्यापार सम्झौता जे पनि सम्भव हुने बताएर हुवावेको प्रसङ्ग गम्भीर नभएको बताए । त्यसपछि उनले इरानीहरूले वार्ता गर्न चाहेको तर जोन केरीले रोकेको बताए । डेमोक्र्याट सांसदहरूले सैन्य हमला हुने हो कि भनेर सोधे । ट्रम्पले हमला त हुने, तर त्यति विध्वंशक नहुने बताए । हामीमाथि जहाँबाट हमला भएको हो, त्यही हमला हुने हो कि भनी कसैले सोध्यो । ट्रम्पले भने, “यसमा टिप्पणी गर्दिन, तर तपाइँ खुसी हुनुहुनेछ ।”
हमलाको रात आयो । जोडतोडले तयारी चल्दै थियो । ट्रम्पले अनुमति दिइसकेका थिए । यस्तैमा शानाहनले एउटा गलत सूचना दिए । इरानस्थित बेलायती दूतावासमा हमला भएको खबर थियो । हमलाको समय ९ बजेबाट रातको १० बजे सारियो । बोल्टनले ट्रम्पलाई फोन गरेर यो खबर दिए । ट्रम्प छक्क परे । उनको आदेशबेगर नै हमलाको समय पछि सारिएको थियो । तैपनि उनले हुन्छ नै भने । शानाहन र डनफोर्ड आत्तिएका थिए । उनीहरूले बेलायतलाई पनि सँगै हमला गराउन सकिन्छ कि भन्ठानेर केही दिनलाई हमला पछि सारौँ भने । यसपछि ट्रम्पले इरानमाथि हमला नगर्न भने । उनको तर्क थियो, “हाम्रो ड्रोनमा कुनै मान्छे थिएन, तर हाम्रो हमलामा परेर १५० जना मान्छे मर्नेछन् । यो बराबरीको हमला होइन ।” उनले पछि जहिले पनि इरानमाथि हमला गर्न सकिने बताए । आफ्नो कार्यकालमा यो घटनालाई बोल्टन ट्रम्पको सबैभन्दा सनकी काम माने ।
Leave a Reply